Comments Add Comment

२ अर्बमा बिक्यो २० डलरको सिक्का !

कहिलेकाहीँ निकै साधारण देखिने वस्तुहरुमा पनि ठूलो रहस्य लुकेको हुन्छ र यथार्थमा असाधारण साबित हुन्छन् ।

अमेरिकामा केवल २० डलर अर्थात् झण्डै २५ सय रुपैयाँ पर्ने एउटा सिक्का १ करोड ८९ लाख डलर अर्थात् झण्डै २ अर्ब २० करोड रुपैयाँमा विक्री भएको छ ।

सन् १९३३ मा बनेको उक्त सिक्का गत मंगलबार अमेरिकाको न्युयोर्कमा १ करोड ८९ लाख डलरमा लिलामी भएको हो । उक्त सुनको सिक्का अमेरिकाको निकै दुर्लभ डबल इगले सिक्का हो ।

यो सिक्काले सबैभन्दा महंगो सिक्काको कीर्तिमान कायम गरेको छ । कानूनी रुपमा उक्त सिक्का कुनै निजी व्यक्तिको स्वामित्वमा थियो । जुत्ता डिजाइनर तथा संकलक स्टुआर्ट विट्सम्यानले सन् २००२ मा किर्तिमानी ७६ लाख डलरमा उक्त सिक्का किनेका थिए ।

Sotheby Auction मा अहिले भएको लिलामीमा क्रममा उक्त सिक्काको मूल्य अधिकतम डेढ करोड डलर सम्मे पर्ने अनुमान गरिएको थियो । तर अनुमान भन्दा महंगोमा उक्त सिक्का बिकेको छ ।

२० डलर मूल्यको उक्त सुनको सिक्काको एउटा पाटोमा उडिरहेको अमेरिकी चिलको चित्र छ भने अर्को भागमा स्वतन्त्रताको सालिकको चित्र अंकित छ । यो सिक्का अमेरिकामा निष्कासनका लागि छापिएको सबैभन्दा पछिल्लो सिक्का हो । तर तत्कालीन राष्ट्रपति रुजवेल्टले सुनका सिक्काको प्रचलन हटाएसँगै यो सिक्का जारी हुन पाएन ।

रोयटर्सका अनुसार सुनको उक्त डबल इगल सिक्कासँगै संसारको सबैभन्दा दुर्लभ हुलाक टिकट पनि ८३ लाख डलरमा बिक्रि भएको छ ।

सन् १८५६ मा ब्रिटिस गुएनामा जारी भएको उक्त १ सेन्ट मूल्यको हुलाक टिकट ८३ लाख डलरमा बिक्रि भएको हो । यो सँगै सो टिकटले हुलाक टिकटको इतिहासमै सबैभन्दा महंगो टिकटको किर्तिमान कायम गरेको छ । उक्त टिकट पनि उनै स्टुआर्ट विट्सम्यानको स्वामित्वमा थियो । सन् २०१४ मा उनले ९५ लाख डलरमा उक्त टिकट खरीद गरेका थिए । तर यसमा उनले १२ लाख डलर घाटा खाएर बिक्रि गरे ।

तत्कालीन बेलायती उपनिवेसमा रहेको दक्षिण अमेरिकी मुलुक ब्रिटिस गुएनाले आफै छापेका टिकटहरुमध्ये एकमात्र बँचेको टिकट हो त्यो । तत्कालीन बेलायती शासकले छापेर पठाएका टिकटहरु सकिएपछि गुएनाले नै उक्त टिकट छापेको थियो ।

रोयटर्सको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment