News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भीड प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी र स्थानीयले जोगाएका थिए।
- करोडौंको लागतमा स्तरोन्नति भइरहेको त्रिवि मैदानमा प्यारापिट र फ्लडलाइट जडान कार्य आन्दोलनका बेला जोखिममा परेको थियो।
- संयमता र सुझबुझका कारण मैदान क्षतिबाट जोगिएपछि त्यही संरचनामा नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमा सम्पन्न भयो।
२४ भदौ, काठमाडौं । काठमाडौंका सडकहरूमा आक्रोशको ज्वाला दन्किरहेको थियो । भदौ २३ गते ‘जेन-जी’ समूहले सुरु गरेको सामान्य आन्दोलन त्यही दिन भयावह बनेको थियो।
भोलिपल्ट २४ गतेसम्म आइपुग्दा नियन्त्रणबाहिर गएर उग्र र अराजक रूप लिइसकेको थियो । सरकारी कार्यालयहरू धुवाँको बादलमा हराइरहेका थिए, सार्वजनिक संरचनाहरू भत्काइँदै थिए र नेता-कार्यकर्ताका घरहरूमा आगजनी भइरहेको थियो ।
त्यही अराजकताको उन्मादमा दगुरिरहेको एउटा अनियन्त्रित भीड कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानतर्फ मोडियो- जहाँ नेपाली क्रिकेटको भविष्य र करोडौँको सपना निर्माण भइरहेको थियो ।
त्यसबेला त्रिवि मैदान नयाँ अवतारमा ढल्किँदै थियो; स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको थियो । करोडौंको लागतमा भर्खरै ठडिएका आधुनिक प्यारापिट, उज्यालो छर्ने तयारीमा रहेका फ्लडलाइट र अन्य भौतिक पूर्वाधारहरू केही क्षणका लागि क्रुद्ध भीडको निशानामा परे ।
एकातिर दन्किँदै गरेको उपद्रव थियो भने अर्कातिर नेपाली क्रिकेटको आस्थाको केन्द्र । तर, त्यो भयानक संकटको घडीमा सुरक्षाकर्मीको सतर्कता, स्थानीयबासीको सजगता र निर्माणस्थलमा खटिएका व्यक्तिहरूको सुझबुझले काम गर्यो । उनीहरूले भीडलाई संयमित बनाए र सम्भावित ठूलो विनाशबाट मैदानलाई जोगाए ।
यदि त्यो दिन विवेकको जित नभएको भए र त्यो भीडको आँधीले पूर्वाधार ध्वस्त बनाएको भए, आज नेपाली क्रिकेटको इतिहासले बेग्लै कालो पाना भोग्नुपर्ने थियो । तर, त्यो दिन मैदान जोगियो- र त्यही दूरदर्शी सुझबुझको जगमा आज त्रिवि क्रिकेट मैदान नेपाल प्रिमियर लिग (एनपीएल) को झल्झलाउँदो बत्तीमुनि उज्यालो भएर जगमगाउन पायो ।
करोडौंको लागतमा गिद्धे नजर

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको निर्णय २०८१ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो। ३०० दिनभित्र फ्लडलाइट जडान र प्यारापिट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
त्यसअनुसार २०८१ फागुन २१ गते पूजाआजा गरी प्यारापिट निर्माण सुरु भयो । प्रारम्भिक योजना वैशाख २४ भित्र काम सक्ने थियो, तर निर्माण समयमै पूरा हुन सकेन। त्यसपछि प्रधानमन्त्री ओलीले असार मसान्तभित्र जसरी पनि सम्पन्न गर्न निर्देशन दिएपछि म्याद थपिएको थियो ।
यद्यपि प्राकृतिक अवस्था र प्राविधिक कारणले निर्माण फेरि ढिलाइ भयो । फ्लडलाइटका बेस निर्माण पूरा भए पनि आवश्यक सामग्री समयमै नआउँदा जडान अघि बढ्न सकेन। असार मसान्त नाघेपछि निर्माण कम्पनीले दैनिक हर्जाना तिर्दै काम जारी राख्यो ।
पारापिटको काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा भदौ २३ गते भएको आन्दोलन र त्यसले सिर्जना गरेको परिस्थितिका कारण करोडौंको संरचनामा गिद्धे नजर परेको थियो ।
‘यो केपी सरकारले बनाएको हो, यसलाई पनि जलाउनुपर्छ’ भन्दै केही व्यक्ति मैदानभित्र प्रवेश गर्न खोजेको सुरक्षा गार्ड मनोज बम सम्झन्छन् ।
‘यहाँ अन्य सरहरू पनि हुनुहुन्थ्यो। हामी सबैले धेरै सम्झायौं, यो राष्ट्रिय सम्पत्ति हो भनेर बुझायौं । त्यसपछि उनीहरू अन्तैतिर लागेका थिए’ बमले भने ।
पारापिटको निर्माण कम्पनी BKOI-KCDC-BG जेभीका सञ्चालक प्रेम पौडेल पनि त्यसबेला गेटको आसपास नै थिए । गार्डले बोलाएपछि उनीसहित केही प्राविधिक पनि त्यहाँ बाहिर आएर भीडलाई सम्झाउन थालेका थिए ।
‘त्यसबेला उनीहरू मैदानभित्र जबरजस्ती प्रवेश गरेको भए धेरै क्षति हुने अवस्था थियो, धन्य हाम्रो आग्रहलाई माने र भित्र पसेनन्’ सञ्चालक पौडेलले भने ।
सोही स्थलमा रहेका पत्रकार ऋषि खतिवडा पनि सबैजनाको सक्रियताले क्षति हुनबाट जोगाउन सकेको बताउँछन् । ‘हामी गेटतर्फ थियौं । हामीले यो हाम्रो खेलकुदको भविष्य हो यहाँ क्षति गरेर केही फाइदा छैन यहाँबाट जानुस् भनेपछि एकजनाले चाहिँ जाऊँ जाऊँ तलतिर भन्दै बल्खुतर्फ लागेका थिए’ पत्रकार खतिवडा भन्छन् ।
उनीहरू बल्खुतर्फ लागेको केहीबेरमा त्यहाँ नजिकै रहेको प्रहरी बिटबाट धुँवाको मुस्लो पनि देखिन थालेको थियो ।
अनि झलमल्ल बल्यो त्रिवि मैदान

ढिलाइका बाबजुद प्यारापिटको काम दशैंअघि सम्पन्न भयो भने त्यसपछि फ्लडलाइट जडान गर्दै मैदानलाई नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्न तयार पारिएको थियो।
जेनजी आन्दोलनको उग्र दिनमा यो राष्ट्रिय क्रिकेट संरचना केही मिनेटका लागि अनिश्चितताको घेरामा परेको भएपनि जोगियो ।
आज एक वर्षपछि, अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रूपमा तयार हुन लागेको त्रिवि क्रिकेट मैदान हेर्दा त्यही दिनको सम्झना अझै ताजा छ ।
आन्दोलनले धेरै संरचनामा क्षति पुर्यायो, तर राष्ट्रिय खेलकुदको यो महत्वपूर्ण सम्पत्ति भने केही व्यक्तिको संयमता र स्थानीयको सक्रियताले जोगियो ।
त्यसपछि नेपालको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को बेलामा झलमल्ल बल्नेगरी त्रिवि क्रिकेट मैदान निमार्ण सम्पन्न भयो, एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा धुमधामका साथ सम्पन्न भयो ।
प्रतिक्रिया 4