+

एन्फा लिगमा ३० गोल गरेका विकास, यू-१५ राष्ट्रिय टोलीमा किन भएनन् छनोट ?

२०८३ भदौ  २४ गते १८:५९ २०८३ भदौ २४ गते १८:५९

गत पुसमा सम्पन्न भएको एन्फा यू–१६ युथ लिगमा सर्वाधिक गोलकर्ता बनेका विकास यू-१५ को टोलीका लागि छनोट नै नभएपछि धेरैले निष्पक्ष नभएको भन्दै प्रश्न उठाइरहेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अजरबैजानमा हुने फिफा यू–१५ विश्वकप र फेस्टिभलका लागि एन्फाले ५३४ खेलाडीबाट २० जना छानेको छ।
  • छनोट प्रक्रियामा प्रश्न उठेपछि कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्दले विकास थापा नपरेकोमा अन्याय भएको बताए।
  • एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्काले मेरिटका आधारमा छनोट भएको भन्दै शुक्रबारबाट प्रशिक्षण शुरू हुने र त्यसपछि १४ सदस्यीय टोली तय हुने बताए।

२४ भदौ, काठमाडौं । अजरबैजानमा हुने फिफा यू–१५ विश्वकप तथा फेस्टिभलका लागि नेपाली टोलीको छनोट भइरहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला र प्रदेशबाट छनोट गर्दै शीर्ष २० खेलाडीको नाम सार्वजनिक गरेको छ । त्यसबाट ६ खेलाडी बाहिरिनेछन् र १४ सदस्यीय टोलीले यू–१५ विश्वकप तथा फेस्टिभल खेल्नेछ ।

एन्फाले जिल्ला र प्रदेशका छनोट भएर सहभागी भएका ५३४ खेलाडीबाट एन्फाले २० खेलाडी छानेको हो । कोशी, मधेश, बागमती प्रदेश र तीन एकेमेडीमा रहेका खेलाडीलाई काठमाडौं तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई बुटवलमा प्रारम्भिक छनोट गरिएको थियो ।

काठमाडौंबाट ३९ र बुटवलबाट १७ गरी ५६ खेलाडी अर्काे चरणका लागि छनोट भएका थिए । ती खेलाडीहरूलाई एन्फाले आइतबार काठमाडौंमा छनोट कार्यक्रम गर्‍यो । जसबाट अहिले २० खेलाडी छनोट भएका छन् । तर, उक्त छनोटको निष्पक्षतामाथि धेरैले प्रश्न उठाइरहेका छन् ।

कञ्जनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द एउटै प्रतियोगितामा ३० गोल गर्ने र १० खेलमा प्लेयर अफ द म्याच बनेका खेलाडी छनोटमा नपर्नु अन्याय भएको बताउँछन् । ‘आज लिगको सर्वाधिक गोलकर्ता भएको बालक नेपाली टिममा पर्दैन भनेपछि केका लागि जिल्लाले तयारी गर्ने ?’ उनले प्रश्न गरे, ‘जुन बालकलाई उहाँहरूले नै अवार्ड दिएको हो । त्यही बालक अहिले टिममा नपर्ने कारण त खुलाउनु पर्‍यो ।’

उनले संकेत गरेको खेलाडी हुन् विकास थापा । उनी गत पुसमा सम्पन्न भएको एन्फा यू–१६ युथ लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । मछिन्द्र फुटबल क्लबबाट खेलेका उनले क्लबलाई उपविजेता बनाउन सर्वाधिक ३० गोल गरेका थिए । नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो । कञ्जनपुर फुटबल संघका अध्यक्ष चन्दकाअनुसार विकास १० खेलमा प्लेयर अफ द म्याच बनेका थिए ।

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने विकास जिल्ला, प्रदेशमार्फत छनोट हुँदै अन्तिम ५६ टोलीमा सम्म पुगेका थिए । तर, आइतबार गरिएको छनोटबाट विकास बाहिरिन पुगे ।

एन्फाले खेलाडी छनोटमा फियर गर्न नसकेको चन्दको आरोप छ । ‘यसरी त कुनै अस्तित्व रहेन नि त जिल्लाको । दशौं वर्ष दु:ख गर्ने तर, जिल्ला खालि भोट हाल्नका लागि र एन्फाले राखेको कार्यक्रममा गएर भात खानलाई मात्रै हो भने मेरो भन्नु त केही पनि छैन’ उनी भन्छन्, ‘प्रदेश एक, दुई र तीन नम्बरबाटै सेलेक्सन गर्नु थियो भने चार, पाँच, छ र सातलाई छोडदिएको भए कम्तिमा यो बर्खामा दु:ख त पाउँदैनथे ।’

एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का चन्दको आरोपलाई खण्डन गर्छन् । ‘मेरिटका आधारमा खेलाडी छनोट गरेको खड्का बताउँछन् । ‘हामीले खेलाडीहरूको टेक्निकल हेर्ने हो, इन्टेलिजेन्स हेर्ने हो, फिजिकल हेर्ने हो, सबै हेर्ने हो । समग्र रूपमा ३०/३० मिनेट गेम खेलाइसकेपछि उनीहरूलाई झण्डै चार वटा म्याच हामीले खेलायौं’ खड्का भन्छन्, ‘टेक्निकल कुरादेखि ट्याक्टिकल, फिजिकल हेरेर त्यो हिसाबले मेरिटको आधारमा सेलेक्सन गरेको हो । अब आरोप लगाउनेले त लगाइहाल्छ । अब हामीले काम गर्दाखेरि फेयर गर्ने हो ।’

विकास प्रतिस्पर्धामा अटाउन नसकेको खड्काको दाबी छ । ‘एक–डेढ वर्ष अगाडि उसको पर्फर्मेन्स राम्रो थियो । अब यहाँ पाँच–छ वटा म्याच खेल्दाखेरि मेरिटमा त परेको थियो । तर हामीले पाँच अंकसम्म लिँदा उसको चार अंक आयो’ उनी भन्छन्, ‘ऊ नराम्रो प्लेयर होइन । राम्रो प्लेयर हो । हामीले अहिले पर्फर्मेन्सलाई हेर्ने हो’ उनी भन्छन् ।

एन्फाका हेड अफ इलिट युथ नविन महर्जन सेलेक्सन कमिटीले दिएको नम्बरका आधारमा खेलाडी छानिएको बताउँछन् । ‘सेलेक्सन टिम थियो । आ-आफ्नो नम्बर दिन्छ । कोचहरूको नम्बरलाई आधार मानेर २० जनाको सूची निकालेको हौं’ उनले भने, ‘दिग्गज कोचहरू बसेर सेलेक्सन गर्नुभएको हो ।’

महर्जनका अनुसार सेलेक्सन कमिटीमा प्रशिक्षक राजुकाजी शाक्य, नविन महर्जन, एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का र एन्फाका तीन एकेडेमीका प्रशिक्षकहरू थिए ।

छनोट भएका खेलाडीहरूको ट्रेनिङ शुक्रबारबाट सुरु हुने महर्जनले बताए । त्यसपछि अन्तिम १४ खेलाडीको टुंगो लाग्ने उनको भनाइ छ ।

एन्फा यू-१६ युथ लिग विकास थापा

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय