Comments Add Comment

एमाले सांसद सापकोटा भन्छन्- पृथ्वीसुब्बा ‘फेक सूचना’का आधारमा जानुभयो

प्रदेशसभा विघटनमा मेरो असहमति छ

२९ जेठ, पोखरा । सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको बताएका छन् । साथै उनले मुख्यमन्त्रीमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले दाबी गर्नु गलत भएको समेत बताएका छन् ।

गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र राष्ट्रिय जनमोर्चाले कारबाही गर्नुका साथै प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए । यससँगै बहुमत प्रदेशसभा सदस्य भएको विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा भर्ना दिएको छ ।

एमाले प्रदेशसभा सदस्य सापकोटाले दलका नेता गुरुङ गलत बाटोमा गएको प्रतिक्रिया दिएका छन् ।

उनका अनुसार पृथ्वीसुब्बा संघीयताप्रति अडिग नेता भएकाले माथिको रोगले छुन्न भन्ने विश्वास थियो । आधा घण्टा अगाडि मात्रै गुरुङलाई फोन गरेर यदि यो विघटनको दिशातिर गयो भने गलत हुन्छ भनेको सुनाउँदै उनले अघि भने, ‘मुख्यमन्त्रीका हिसाबले तपाईं सम्झिनुस् । तपाईंको राजनीतिक भविष्यको लागि पनि सुहाउँदैन, मतभेद नगर्नुस् भनेको हो ।’

पार्टी संसदीय दलका नेता मायानाथ अधिकारीलाई ‘यदि विघटन हो भने इन्द्रलाल सापकोटा यसको पक्षमा छैन है’ भनेको उनले सुनाए । यसोभन्दा नवलपुरका सांसद रोशन गाहामगर, महेन्द्र थकाली आफूसँगै रहेको भन्दै उनले भने, ‘उहाँ (पृथ्वीसुब्बा) ले गलत बाटो अपनाउनु भयो । फेक सूचनाका आधारमा जानुभो ।’

उनले प्रदेशसभा विघटनप्रति आफू असहमत रहेको प्रष्ट पारेका छन् । ‘यो लोकतन्त्र विरोधी कदम हो, त्यसो भयो भने मेरो गम्भीर असहमति हुन्छ’ उनले अनलाइनखबरसँग भने, ‘यो नगर्नस् भनेर मुख्यमन्त्रीलाई भनेकै हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment