Comments Add Comment

‘गुनासो प्रहरीसँग होइन, खड्ग ओलीसँग छ’

अभियन्ता भन्छन् : प्रकाउ पर्दैमा नागरिक आन्दोलन रोकिने छैन

२८ जेठ, काठमाडौं । ‘वृद्ध उमेरको मान्छेलाई प्रहरी धरपकडले गाह्रो भएन ?’ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट रिहा हुँदै गर्दा लेखक खगेन्द्र संग्रौलाले जवाफ दिए, ‘निषेधाज्ञा उल्लंघनको निहुँमा प्रहरी भाइहरूले समातेकोमा गुनासो छैन । संविधान उल्लंघन गर्ने खड्गप्रसाद ओलीको राजसँग हाम्रो गुनासो छ ।’

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारीको विरोधमा बालुवाटार नजिकै प्रदर्शन गरेका ७६ वर्षीय साहित्यकार संग्रौलासहित १८ जना बृहत नागरिक आन्दोलनका अभियन्तालाई प्रहरीले शुक्रबार ११ बजेतिर प्रकाउ गरिएको थियो ।

बालुवाटारबाट मालीगाउँ प्रहरी वृत्त ल्याएर उनीहरुलाई छ घन्टा राख्यो र र साँझ ५ बजे छाड्यो ।

पक्राउ पर्नेहरूमा सबभन्दा पाको उमेरका प्रदर्शनकारी लेखक संग्रौला नै थिए । पञ्चायतकालदेखि राजनीतिक–सामाजिक आन्दोलनमा निरन्तर सक्रिय उनलाई प्रहरी हस्तक्षेपबारे पूर्वजानकारी थियो । तर युवाहरूसँगै सडकमा आए ।

‘महामारीको बेला सडकमा आउन बाध्य पार्ने काम सरकारले नै गरेको छ’ संग्रौलाले अनलाइनखबरसँग भने, ‘सरकारको वैधानिकताकै प्रश्न उठेको बेला मेडिकल कलेजलाई मनलाग्दी तवरले सम्बन्धन दिन पाइँदैन ।’

आफ्नै घरअगाडिको प्रहरी वृत्तबाट निस्किँदै गर्दा लेखक डा. सञ्जीव उप्रेती र उनकी श्रीमती डा. अर्चना थापा खेद प्रकट गर्दै थिए । डा. उप्रेतीको निवास मालीगाउँ प्रहरी वृत्त नजिकै छ पर्छ । शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन जाँदा पक्राउ गरिनुलाई उनीहरू तानाशाही सत्ताको कायरता मान्छन् ।

डा. उप्रेती भन्छन्, ‘सरकार झनझन् निरंकुशतामा गएको छ । माघ १२ को घटना होस् वा आज राज्यसत्ता कब्जा गरिसक्दा पनि उसले दमनकारी नीति लिएको छ ।’ माघ १२ गतेपनि बृहत् नागरिक आन्दोलनमा प्रहरीले पानीको फोहरा प्रहार गरी तितरविरत गर्दा एकदर्जन अभियन्ता घाइते भएका थिए ।

यो पनि पढ्नुहोस नागरिक मार्चमा पानीको फोहोरा र प्रहरीको लाठी

बृहत नागरिक आन्दोलनका अभियन्ता युग पाठकले भने नागरिक आन्दोलनको प्रवाह निरन्तर जारी रहने उद्घोष गरे ।

पाठकका अनुसार जनताको मौलिक हकमाथि राज्यले अंकुश लगाएकाले नागरिकहरू सडकमा आउन बाध्य बनेका हुन् ।

‘अवैध सरकारले शैक्षिक माफियालाई प्रोत्साहित गर्ने कामको विरोध गरेका हौं’, अनलाइनखबरसँग कुरा गर्दै पाठकले भने, ‘महामारीमा जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अनि मेडिकल शिक्षामा भने निजी क्षेत्रलाई सम्बन्धन दिनु निन्दनीय छ । जसको निरन्तर विरोध गर्छौं ।’

प्रदर्शन गर्न नपाउँदै पक्राउ !

राजनीतिक दबावको भरमा झापाको बीएण्डसी कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगको बैठक बोलाएको सूचना पाएपछि ‘बृहत् नागरिक आन्दोलन’ले बिहान ११ बजे बालुवाटारनजिकै शान्तिपूर्ण प्रदर्शन गर्ने योजना बनाएको थियो ।

यसका लागि ११ बज्नु केहीअगाडि अभियन्ताहरू युग पाठक, भाष्कर गौतम, नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्रणेता, डा. सञ्जीव उप्रेती, अर्चना थापा बालुवाटार पुगे । उनीहरू प्लेकार्ड बोक्दै सामाजिक दुरीमा बस्ने तरखर गर्दागर्दै प्रहरीले गिरफ्तार गर्‍यो ।

अभियन्ता प्रणेताका अनुसार प्लेकार्ड देख्नेबित्तिकै प्रहरीले सबैलाई घेरा हाल्न थालेको थियो । उनी भन्छिन्, ‘हामीले ब्यानर फिजाउन तथा प्लेकार्ड उठाउन नपाउँदै प्रहरीले पक्रन थाल्यो । तैपनि युवाहरूले प्रदर्शन जारी राखे ।’

पहिलो टोली पक्राउ परेको केही मिनेटपछि कवि संगीत, अञ्जनबाबु, रिता परियारलाई पनि प्रहरीले पक्राउ गर्‍यो । बाँकी रहेका युवाहरूले प्रदर्शन जारी राख्दा निर्ग नवीन, भावना राउत तथा सौरभ न्यौपानेसहितलाई पनि गिरफ्तार गरियो ।

अन्तिममा कविता सुनाउन लागेका युवाकवि सौरभ कार्कीलाई चारैदिशाबाट प्रहरीले घेरा हाले । प्रहरी घेराबीच नै सौरभले आफ्नो कविता पढिरहे । सत्ता र शक्तिलाई निशाना बनाइएको उनको कविता पुरा हुन नपाउँदै बोकेर भ्यानमा राखियो । ‘महामारीको बेला जनस्वास्थ्यलाई बेवासता गरेको देख्दा नै रगत उम्लिएर आउँछ । यसैको प्रतिरोधमा सडकमा आएको हुँ’ कार्कीले भने ।

‘सरकारको आजको निर्णयले अर्को पुस्तासम्म प्रभाव पर्ने भएकाले मेडिकल शिक्षाको विषयमा सबैले आवाज उठाउनुपर्ने’ उनी बताइरहेका थिए । पक्राउ परेका सबैलाई मालीगाउँस्थित प्रहरी वृत्तमा लगेर राखिएको थियो । सबै अभियन्ताहरूसँग विस्तृत छलफल गरी आइन्दा निषेधाज्ञामा प्रदर्शन नगर्ने सहमतिमा रिहा भए ।

को–को पक्राउ परे ?

शुक्रबार बिहान बालुवाटारबाट चार चरणमा १८ जना अभियन्ताहरू पक्राउ गरिएको थियो । लेखक खगेन्द्र संग्रौला, पत्रकार एवं लेखक नारायण वाग्ले, लेखक युग पाठक, साहित्यकार सञ्जीव उप्रेती, अर्चना थापा, अभियन्ताहरू सरिता परियार, रिता परियार, प्रणेता, अनुसन्धानकर्ता एवं लेखक भाष्कर गौतम, अनुभव अजित पक्राउ परे ।

यस्तै नाट्यकर्मी घिमिरे युवराज, कवि संगीतस्रोता, गायक अन्जानबाबु, विद्यार्थी अभियन्ताहरू भावना रावत, निर्घ नवीन, शशीविक्रम कार्की, सौरभ न्यौपाने तथा युवाकवि सौरभ न्यौपानेलाई पनि पक्राउ गरियो ।

उनीहरूलाई रिहा गर्न माग गर्दै मानवअधिकारकर्मी मोहना अन्सारी पुगेकी थिइन् । यद्यपि अभियन्ताहरूका आफन्त तथा पत्रकारलाई भने माथिको आदेश भन्दै गेटबाहिरबाटै फर्काइयो ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment