
१७ असार, काठमाडौं । पछिल्लो एक साता कोरोना संक्रमितको संख्या अपेक्षित रुपमा नघट्दा महामारीको जोखिम कायमै देखिएको छ ।
असार पहिलो साता संक्रमितको संख्या लगातार घटे पनि दोस्रो सातादेखि संक्रमितको संख्या सामान्य दरमा बढिरहेको देखिएको छ ।
असार ११ गते २ हजार ४७६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमणदर १७ प्रतिशतमा झरेकामा त्यसपछि लगातार बढेर बिहीबार संक्रमित संख्या २ हजार ७६० पुगेको छ र संक्रमणदर २५ प्रतिशत भन्दा माथि पुगेको छ ।
पछिल्लो सात दिनको संक्रमण संख्या र संक्रमण दर :
मिति | कुल परीक्षण | संक्रमण पुष्टि | संक्रमण दर |
११ असार | १४,३५१ | २,४७६ | १७.२५ प्रतिशत |
१२ असार | ९,५१० | २,०१६ | २१.१९ प्रतिशत |
१३ असार | ९,८३६ | १,९२० | १९.५२ प्रतिशत |
१४ असार | ११,६४० | २,४४४ | २०.९९ प्रतिशत |
१५ असार | ११,७४८ | २,६३६ | २२.४४ प्रतिशत |
१६ असार | ११,५६८ | २,८९२ | २५.०० प्रतिशत |
१७ असार | १०,९८५ | २,७६० | २५.१३ प्रतिशत |
काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा खुकुलो बनाएका बेला फेरि संक्रमण दर बढेपछि महामारी फैलिने त्रास बढेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सबैभन्दा थोरै संक्रमण असार १३ गते देखिएको छ । त्यस दिन ९,८३६ परीक्षणमा १,९२० जनामा संक्रमण देखिएको थियो र संक्रमणदर जम्मा १९ प्रतिशत थियो । असार १४ गते भने संक्रमित संख्या झण्डै ५०० जना थपिएर २,४४४ पुग्यो र संक्रमण दर पनि २२ प्रतिशत पुग्यो ।
दुई साता हेर्नुपर्छ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमण दर स्थिर नै रहेको बताउँछन् ।
केही दिनयता संक्रमितको संख्या केही बढेको देखिए पनि संक्रमण कुन अवस्थामा छ भनेर पत्ता लगाउन अझै दुई हप्ता पर्खनुपर्ने उनी बताउँछन् ।
‘संक्रमण घट्दै छ कि बढ्दै छ भन्नलाई अबको दुई हप्ताको तथ्यांक पर्खनुपर्छ होला । निषेधाज्ञा पनि खुकुलो भयो । सार्वजनिक बस पनि चलेको छ । अबको दुई हप्ताले जुन तथ्यांक देखाउँछ त्यसले हामी कता छौं भन्ने स्पष्ट दिशा दिन सक्छ’ डा पौडेलले भने ।
परीक्षण कम हुँदा पनि संक्रमण दर उस्तै देखिनुले अझै पनि जोखिम कायमै रहेको उनले बताए ।
एन्टिजेन परीक्षणको रिपोर्टले संक्रमण दरलाई तलमाथि पारेको पौडेलको भनाइ छ ।
काठमाडौं उपत्यका लगायत केही जिल्लामा निषेधाज्ञा खुकुलो बन्दै गएका कारण जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ भए संक्रमण बढ्ने जोखिम रहेको उनले बताए ।
काठमाडौंमा संक्रमण बढ्न सक्छ !
मन्त्रालयका प्रवक्ता डा. पौडेल काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न सक्ने बताउँछन् ।
‘सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा हो । त्यसमा पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढी छ,’ उनले भने, ‘निषेधाज्ञा खुकुलिएसँगै सार्वजनिक बस पनि सञ्चालनमा आएका छन् । जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ भयो भने संक्रमण बढ्ने जोखिम उच्च छ ।’
प्रतिक्रिया 4