
२२ असार, काठमाडौं । अफगानिस्तानमा चरमपन्थी संगठन तालिबानसँगको युद्धपछि करिब एक हजार सैनिक भागेर ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सरकारले सार्वजनिक गरेको एक विज्ञप्तिमा अफगानी सेना आफ्नो ज्यान बचाउन सीमा पार गरेको बताएको छ ।
अफगानिस्तानमा पछिल्लो केही दिनमा हिंसा अचानक बढेको छ र तालिबानले धेरै जिल्लामा आफ्नो कब्जा बढाइरहेको छ । तालिबानले सीमावर्ती प्रान्त बदाख्शानका धेरै जिल्लालाई कब्जामा लिएको छ । अर्कोतर्फ ताजिकिस्तानको प्रशासनले अफगानी शरणार्थी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तयारी गरिरहेको छ ।
अहिले तालिबानले जुन गतिमा अफगानिस्तानका जिल्लाहरु कब्जा गरिरहेको छ, त्यसले अमेरिकी सेना फिर्ता गएसँगै अफगानी सेनाले तालिबानसँग युद्ध गर्न नसक्ने आशंका बढेको छ । अमेरिकाले आगामी सेप्टेम्बरसम्ममा आफ्ना सबै सैनिक फिर्ता गर्ने बताएको छ । जसमध्ये अधिकांश सैनिक फर्किसकेका छन् ।
अफगानिस्तानको गाउँमा मात्र नभएर अहिले शहरहरुमा पनि तालिबानले कब्जा गर्न थालेकाले चिन्ता बढेको जानकारहरुले बताएका छन् । साथै तालिबानको कब्जा बढेसँगै अफगानी सैनिकको पनि मनोबल गिरेको छ । त्यसैले उनीहरु युद्ध विना नै आत्मसमर्पण गरिरहेका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4