
आगामी २ सय २५ वर्षमा डिजिटल सामग्रीको पिण्ड पृथ्वीको पिण्डको आधा बराबर हुने एक नयाँ अध्ययनले देखाएको छ ।
बेलायतको पोर्टस्माउथ विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डाक्टर मेल्भिन भोप्सनले गरेको उक्त अनुसन्धानले ठूलो परिमाणमा डिजिटल डाटा तथा सूचनाको माग र सिर्जनाका कारण डिजिटल सामग्रीको पिण्डमा तीव्र बढोत्तरी भैरहेको जनाएको छ ।
अमेरिकन इन्स्टिच्युट अफ फिजिक्सको एआइपी एडभान्सेस जर्नलमा प्रकाशित लेखमा शोधकर्ता भोप्सनले लेखेका छन् : डिजिटल सामाग्रीको विद्यमान वृद्धिदरको प्रवित्ति कायम रहेमा विश्व अधिकतम डिजिटल डाटा सिर्जनाको विन्दुमा पुग्नेछ ।
सम्भावित डाटा सिर्जना तथा त्यसलाई धान्नका लागि आवश्यक ऊर्जाको उक्त अधिकतम विन्दुलाई सूचना प्रलय भनिन्छ ।
उक्त सूचना प्रलयले जलवायु परिवर्तन, जनसंख्या, खाद्यान्न, स्वास्थ्य, उर्जा तथा सुरक्षा जस्ता विद्यमान विश्वव्यापी चुनौतीहरु थप समस्या थप्ने शोधकर्ताको ठहर छ ।
अध्ययनमा कम्प्युटर डाटाको मापनमा प्रयोग हुने इकाइको रुपमा रहेको डिजिटल बिट्सको अविश्वसनीय वृद्धिको विश्लेषण तथा मूल्यांकन गरिएको थियो । शोधकर्ताका अनुसार कम्प्युटर डाटा सिर्जनाको उक्त उच्चतम विन्दु अर्थात् सिंगुलारिटी प्वाइन्टमा पृथ्वीमा भएका समग्र परमाणुको संख्याभन्दा पनि धेरै डिजिटल बिट्सको सिर्जना हुनेछ । र, त्यसबेला डिजिटल सूचना उत्पादन एक्लैले विश्वमा उत्पादित अधिकांस ऊर्जाको खतम गर्नेछ ।
हालको डाटा भण्डारण घनत्वका आधारमा, वार्षिक रुपमा उत्पादन हुने नयाँ डिजिटल बिट्सको संख्या र परमाणुको आकारसँग तुलना गर्दा हालको वार्षिक ५० प्रतिशतको वृद्धिदर कायम रहेमा आगामी डेढ सय वर्षमा पृथ्वीमा रहेका सबै परमाणुको संख्या र त्यतिबेला सम्म सिर्जना हुने डिजिटल बिट्सको संख्या बराबर हुनेछ ।
भोप्सनका अनुसार आगामी १३० वर्षमा हाल डिजिटल सामग्री सिर्जना र भण्डारणका लागि पृथ्वीमा हाल उत्पादित जति सबै ऊर्जा खपत हुनेछ । र, सन् २२४५ मा पृथ्वीको कूल पिण्डको आधा डिजिटल डाटाको पिण्ड हुनेछ ।
हालको डिजिटल डाटा उत्पादनको ५० प्रतिशतको वृद्धिदर कायमै रहेमा सन् २०७० सम्ममै हाम्रा कम्प्युटर, स्मार्टफोन तथा इन्टरनेट अफ थिंग्स डिभाइसहरुसँग डाटा स्टोरेज सेन्टर समेतमा गरी औसतमा एक किलो डिजिटल बिट्स हुनेछ ।
फक्सन्यूजबाट
प्रतिक्रिया 4