Comments Add Comment

कांग्रेस कुहिरोको काग भयो, माओवादी वैशाखीको खोजीमा छ : खिमलाल भट्टराई

२६ साउन, काठमाडौं । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले सत्तारुढ नेपाली कांग्रेस कुहिराको काग भएको टिप्पणी गरेका छन् । साथै माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको उनले टिप्पणी गरे ।

मंगलबार राष्ट्रिय सभामा विशेष समयमा बोल्दै नेता भट्टराईले सत्तारुढ गठबन्धमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रको विषयमा टिप्पणी गरेका हुन् ।

‘कांग्रेस असाध्यै दयनीय स्थितिमा छ । सरकारमा छँदा बलियो भएको हो कि भन्ने लाग्न सक्छ । विचारधाराको हिसावले कांग्रेस मृत्युप्राय: भइसकेको छ । बिपी सँगसँगै उसको नीति सकिएको छ’ भट्टराईले भने ।

लिपुलेक, कालापानी हाम्रो हो भन्न नसकेको समस्या ठानिएको उल्लेख गर्दै उनले भने, ‘यो सरकारले त्यो विषयमा केही गर्न सक्दैन । मान्छे दिनदहाडै मारिन्छ कांग्रेस बोल्न सक्दैन ।’

एमाले नेता भट्टराईले थपे, ‘कांग्रेस कुहिरोको काग भएको छ । माओवादी वैशाखीको खोजीमा छ । माओवादीका साथीहरुले समीक्षा गरे हुन्छ, कहिले एमालेको पछि लागेर कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्नुपरेको छ ।’

तर, एमाले अध्यक्ष केपी ओली राजनेता ठहरिएको उनको दाबी छ । ‘केपी ओली सिंहदरवार, बालुवाटार छोडेर बालकोट जानुभएको छ । तर, सदनमा आउँदा उहाँकै चर्चा सुनिन्छ । सरकार बनिराखेको छैन । यसको पछाडि पनि केपी ओलीकै फोबिया छ कि जस्तो लाग्छ । सडकमा पनि आश लागेको नेतालाई गुटबन्दीबाट हटाउने काम भयो भन्ने छ, राजनेता भनेको के होला ? भन्ने लाग्थ्यो । राजनेता भएपछि राजनीति उसकै वरीपरी घुम्दोरहेछ । सडक, सदन र सरकार सबै उसको गाइडेन्समा हिंड्नुपर्ने हुँदोरहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment