
६ असोज, काठमाडौं । पटक-पटक ताकेता गर्दा पनि विद्यालयहरुले विवरण नपठाएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ । ३५ हजार ६७४ विद्यालयमध्ये हालसम्म करिब २५ हजार विद्यालयले मात्रै विवरण पठाएको केन्द्रका तथ्यांक शाखा प्रमुख रामचन्द्र शर्माले जानकारी दिए ।
केन्द्रले स्थानीय तहका शिक्षा समन्वय इकाईलाई विवरण भर्न ताकेता गर्न निर्देशन दिएको र सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई पनि इमेल, एसएमएस गरेर विवरण गर्न खबर गरेको शर्माले बताए ।
शैक्षिक सत्र असार १ गतेदेखि शुरु भएको भए पनि विभिन्न प्राविधिक कारणले गर्दा साउन मसान्तसम्म विवरण पठाउन विद्यालयलाई समयावधि दिएको थियो । तर विभिन्न प्राकृतिक प्रकोपका कारण कतिपय विद्यालयको भवन नै बगाएको, जोखिममा परेको लगायतका कारण भदौ मसान्तसम्म समयावधि थप गरेको थियो ।
तर पटक–पटक थप गरिएको समयमा पनि विवरण नपठाएपछि केन्द्रले विवरण नपठाउने विद्यालयको सूची सार्वजनिक गर्दै विवरण पठाउन निर्देशन दिने केन्द्रले तयारी गरेको छ । शर्माले भन्छन्, ‘हामीले विद्यालयलाई विवरण पठाउन ताकेता गर्ने हो त्यो गरिरहेका छौं । नपठाएपछि नामावली सूची सार्वजनिक गर्ने तयारीमा जुटेका हौं ।’
विवरण नपठाउने विद्यालयको सूची तयार गर्न शुरु गरेको तर प्राविधिक कारणले ढिलाइ भइरहेको उनले बताए । विवरण प्राप्त नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेको विद्यालयहरुले दाबी गरिरहेको भएपनि यकिन गर्न नसकिएको शर्माले बताए ।
प्रतिक्रिया 4