
१८ असोज, काठमाडौं । बैंकहरुमा निक्षेप संकलनमा सुधार भएको छ । बैंकहरुले बितेको सातामा ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
असोज ८ सम्म ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप १५ गतेसम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । एक साताको अवधिमा कर्जा लगानी र निक्षेप संकलन बराबरी देखिएको छ ।
८ असोजसम्म बैंकहरुको ऋण लगानी ३९ खर्ब ३ अर्ब रुपैयाँमात्रै निक्षेप रहेको थियो । १५ असोजसम्म यो बढेर ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले बताएको छ ।
संघका अनुसार असोज महिनाको दोस्रो साता (८ देखि १५ गतेसम्म) बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंकहरुमा तरलता समस्या नहुनका लागि जति निक्षेप संकलन हुन्छ, त्यो सबै लगानी हुनुहुँदैन । अर्थात् बैंकमा कर्जाको तुलनामा निक्षेप बढी हुन्छ । यो साता निक्षेप र कर्जा बराबरी देखिनु पनि सुखद पक्ष नै हो । अघिल्लो साता जम्मा ९ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ३१ अर्ब रुपैयाँ बैंकहरुले कर्जा लगानी गरेका थिए ।
असोज महिनाको पहिलो साता पनि २७ वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका थिए । बैंकहरुले लिएको निक्षेपको ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा लगानी गर्नुपर्ने हुन्छ । तर, अघिल्लो साताको तथ्यांक हेर्दा निक्षेपभन्दा तेब्बर धेरै ऋण लगानी भएको थियो ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज पहिलो सातामा बैंकहरुले ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए, तर यही अवधिमा भने यी बैंकहरुले जम्मा ९ अर्बमात्रै निक्षेप संकलन गरेका थिए । यसले पनि बैंकहरुमा तरलता समस्या देखाएको थियो ।
बैंकर्स संघका अनुसार भदौ मसान्तसम्म बैंकहरुले ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । असोज ८ गतेसम्म आइपुग्दा यी बैंकहरुले कर्जा बढाएर ३९ खर्ब ३ अर्ब पुर्याएका छन् । उता निक्षेप भने भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा असोज ८ सम्म जम्मा ९ अर्ब रुपैयाँलेे मात्रै बढेर ४१ खर्ब ८० अर्ब रुपैयाँमात्रै पुर्याएका छन् । १५ असोजमा भने निक्षेप बढेर ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले बताएको छ ।
६ अर्बले घट्यो तरलता
वित्तीय बजारमा तरलता समस्या भने अझै यथावत देखिएको छ । वित्तीय बजारमा अहिले १६ अर्ब रुपैयाँमात्रै लगानी योग्य रकम -तरलता) रहेको नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल बताउँछन् ।
अघिल्लो साता वित्तीय बजारमा २२ अर्ब रुपैयाँ तरलता रहेको थियो । राष्ट्र बैंकले बजारमा तरलता धेरै भए प्रशोचन गर्ने र अभाव भएको अवस्थामा बजारमा पैसा पठाउने गरेको छ । पछिल्लो समय पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजामार पठाएको थियो । त्यो भन्दा अगाडि २० अर्ब तरलता बजारमा रिपोमार्फत गएको थियो । यसले तरलता घटबढ हुने क्रम जारी रहेको कार्यकारी निर्देशक ढकालले बताए ।
‘अघिल्लो साता २२ अर्ब रुपैयाँ तरलता थियो, योबिचमा पनि एक पटक ५० नाघेको थियो, एक दिन ४० अर्बमा पनि बसेको थियो’ राष्ट्र बैंकका प्रवक्ता समेत रहेका ढकाल भन्छन्, ‘घटबढ हुने क्रम चलिरहेको, यो ठूलो समस्या भने होइन ।’
कोरोनाका कारण गरिएको लकडाउनपछि बैंकहरुमा लगानी योग्य रकम पर्याप्त रहेको थियो । उद्योग व्यवसायहरु बन्द रहेको र नयाँ व्यवसाय पनि शुरु हुन नसक्दा बैंकहरुमा तरलता थुप्रिएको थियो ।
लकडाउन खुलेपछि भने बैंकहरुले कर्जा लगानी ठूलो मात्रामा बढाएका छन् । यसले थोरै समस्या देखिएको र दशैं अघि समाधान भइहाल्ने जस्तो नरहेको समेत प्रवक्ता ढकालले बताए ।
प्रतिक्रिया 4