
२२ असोज काठमाडौं । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको ८८ दिनपछि बल्ल मन्त्रिपरिषदले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरियादमा शुक्रबार १६ मन्त्री र २ राज्यमन्त्री थपिएका हुन् । यसअघि पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका थिए ।
अब सरकारमा प्रधानमन्त्री देउवाको दल कांग्रेसबाट सात मन्त्री र एक राज्यमन्त्री बनेका छन् । प्रधानमन्त्रीले आफूसँगै राखेको उद्योग, वाािणज्य तथा आपूर्ति मन्त्रालयमा कांग्रेसनिकटकै गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका छन् । हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको चर्चा छ ।
नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री बनेका छन् । जनता समाजवादी पार्टीबाट चार मन्त्रीले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कांग्रेसले पार्टीभित्र अस्तित्वमा रहेका तीन वटै समूहलाई मन्त्री पदका लागि भागवण्डा गरेको थियो । सभापति देउवाले दुई मन्त्री वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र एक मन्त्री पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई दिएर बाँकी आफ्नै समूहबाट बनाएका थिए ।
पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल रक्षा मन्त्री र दिलेन्द्रप्रसाद बडु कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । सिटौला समूहबाट सिफारिस भएका उमाकान्त चौधरी खानेपानी मन्त्री बनेका छन् ।
संस्थापन समूहबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि मन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । कांग्रेसको भागमा परेको एक राज्यमन्त्रीमा उमेश श्रेष्ठ छन् र उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ ।
सरकारको नेतृत्व गरेको कांग्रेसबाट मन्त्री बनेका एक मन्त्रीबाहेक सबै तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक पृष्ठभूमिका रहेका छन् । देउवाले २०५९ साल असारमा कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए ।
त्यतिबेला देउवालाई साथ दिएकै नेताहरुको अहिले सरकारमा बाहुल्य छ । पौडेल र सिटौला समूहले सिफारिस गरेका मन्त्रीहरु पनि तत्कालीन कांग्रेस प्रजातान्त्रिक पृष्ठभूमिकै छन् । पौडेल समूहबाट कानुनमन्त्री बनेका बडु भने कांग्रेस प्रजातान्त्रिकमा थिएनन् ।
सिटौला समूहबाट मन्त्री बनेका चौधरी कांग्रेस विभाजन गर्दा देउवासँगै कांग्रेस प्रजातान्त्रिकतर्फ लागेका थिए । रक्षामन्त्री रिजाललाई देउवाले नै केन्द्रीय सदस्य बनाएका थिए । कांग्रेस प्रजातान्त्रिक गठन हुँदा केन्द्रीय सदस्य बनेका रिजाल पार्टी प्रवक्ताको भूमिकामा थिए । उनी १२ औं महाधिवेशनअघि देउवा टीम छोडेर तत्कालीन संस्थापन समूहमा गएका थिए । अहिले पनि संस्थापनइतर समूहमै रहेका रिजाल पार्टीभित्र मध्यमार्गी नेताका रुपमा चिनिन्छन् ।
संस्थापन समूहबाट मन्त्री बनेका गृहमन्त्री खाँण, सञ्चारमन्त्री कार्की, महिला, बालबालिका मन्त्री उमा रेग्मी परराष्ट्रमन्त्री खड्का सबै तत्कालीन कांग्रेस प्रजातान्त्रिक पृष्ठभूमिकै नेता हुन् ।
प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेका हमाल पनि कांग्रेस प्रजातान्त्रिकमा आवद्ध थिए । उनी पार्टी विभाजन हुँदा कांग्रेस प्रजातान्त्रिकबाट बाँके पार्टी सभापति बनेका थिए । सरकारमा एउटा मात्रै राज्यमन्त्री रहेका उमेश श्रेष्ठ पनि देउवासँग निकट मानिन्छन् । पार्टीभित्र तीव्र असन्तुष्टिका बीच देउवाले व्यवसायी श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।
पार्टीमा आफूलाई सहयोग गर्ने नेता कार्यकर्ताको संरक्षण गर्ने नेताका रुपमा देउवालाई चिनिन्छ । ‘देउवाले अप्ठेरोमा आफूलाई साथ दिएका नेता कार्यकर्ताहरुलाई अवसर आउँदा प्राथमिकता दिन्छन् भन्ने प्रष्ट उदाहरण हो यो,’ संस्थापननिकट एक नेताले भने, ‘उनको यही स्वाभावका कारण कांग्रेसमा ४० प्रतिशत भाग लिएर आएका देउवा दोस्रो महाधिवेशनमै शक्तिशाली सभापति बन्न सफल भएका हुन् ।’
देउवाले सरकार बाहिर हुँदा पनि राज्यको लाभका पदमा आफूनिकटलाई अवसरका लागि लबिङ गर्ने गरेको चर्चा कांग्रेसभित्र छ ।
प्रतिक्रिया 4