+
+
स्वास्थ्य :

प्रोस्टेट ग्रन्थि वृद्धिको समस्या र समाधान

प्रो.डा.अर्जुनदेव भट्ट प्रो.डा.अर्जुनदेव भट्ट
२०७८ कात्तिक २५ गते १७:४६

कुन उमेरमा पुरुष प्रोष्टेट ग्रन्थिको वृद्धिले पीडित हुन्छ त्यो किटान गरेर भन्न सकिन्न । त्यस्तै उपपाचन संलक्षण कहिले शुरू हुन्छ, त्यो कतै प्रष्ट लेखिएको छैन । तर यो धेरै सर्वसाधारणले पनि अनुभव गरेको कुरो हो कि वृद्ध पुरुष मूत्र समस्याबाट प्रायः ग्रस्त हुन्छन् । तर उपपाचन संलक्षण अर्थात् मेटाबलिक सिन्ड्रोम (मे.सि.) बाट पुरुष जुनसुकै उमेरमा पनि पीडित हुन सक्छ । वृद्ध उमेरमा ती झनै बढी यो समस्याबाट ग्रस्त हुन्छन् ।

अहिलेको विश्वमा वृद्ध व्यक्तिहरूको संख्या प्रचुर मात्रामा बढिरहेछ । नेपाल त्यसमा अपवाद हुन सक्दैन । आजको दिनमा हाम्रो देशमा ६५ वर्ष नाघेका पुरुष २१ लाखभन्दा बढी छन् । सन् २०३१ मा उनीहरूको संख्या ३४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ । एक तथ्यांक अनुसार विश्वमा कम्तीमा २५ प्रतिशत प्रौढ जनसंख्या मेटाबलिक सिन्ड्रोमबाट पीडित छन् ।

उमेरसँगै यो अवस्थाको संख्या पनि वृद्धि हुने बताइन्छ । त्यसको अर्थ वृद्ध पुरुष प्रोष्टेट ग्रन्थि वृद्धि र मे.सि. दुवै समस्याबाट पीडित हुने सम्भावना उच्च हुन्छ । यी दुवै समस्याबाट ग्रस्त पुरुषमा प्रोष्टेट वृद्धिमा के कस्तो खालको थप असर पर्न सक्छ यो लेखनमा समीक्षा गर्ने प्रयत्न गरिएको छ ।

मे.सि वा उपपाचन संलक्षण भन्नाले के बुझ्नुपर्छ ?

सर्वप्रथम यो एउटा रोगव्याधि होइन । यो रोग तथा अवस्थाहरूको समूह संलक्षण हो । त्यो भित्र हाल थुप्रै रोग तथा स्थिति वा अवस्था गाभिएका छन् । बुझ्न सजिलो र अभिप्राय प्रष्ट पार्न यहाँ पाँच अवस्था उल्लेख गर्दछु । मोटोपन खास गरेर पेट मोटाउनु, ठूलो हुनु, उच्च रक्तचाप, रगतमा चिनीको मात्रा धेरै हुनु, रगतमा इन्सुलिनको मात्रा उच्च हुनु, रगतमा हुने बोसोको अनुपात तथा मात्रामा फरक हुनु इत्यादि हो ।

हो, हालको विश्व उपपाचन संलक्षणबाट ज्यादै ग्रस्त छ । भनिन्छ, यो ठूलो महामारी हो । तर प्रकृतिबाट उब्जेको नभएर मानिसको आफ्नै रहनसहन आहारमा देखाएको त्रुटिपूर्ण अनुचित व्यवहारको उपज ।

के खाने ? कति खाने ? र, किन खाने ? त्यसको अर्थ नै नबुझेर मानिसले चाहिनेभन्दा बढी खाने र अचल भएर समय (पेशा, कार्य गर्ने) बिताउने भएकाले ऊ आफ्नै स्वास्थ्यको शत्रु आफैं हुन पुगेको छ ।

आजको विश्वको विकासले नजानिंदो गरेर सक्दो बढी जनसंख्यालाई रोगी हुन भरमग्दुर सहयोग पुर्‍याइरहेछ । तर बाध्यतावश भए पनि थुप्रै मानिस अनिष्टकारक अहितकारी रहनसहन र खानपिनमा रमाइरहेछन् । प्रायः ती अनुभव गर्दैनन् कि कति ठूलो कुलतमा ती फसिरहेछन् ।

झट्ट हेर्दा पेट बढेको मात्र त हो तर उदरभित्रका अङ्गहरूमा जमेको, थुप्रेको बोसो पग्लेर जब कलेजोमा पुग्छ त्यहाँ त्यसले सक्दो बढी समस्याको जग बसाल्न थाल्छ । पेटभित्रका अङ्गबाट रक्तसञ्चार गर्ने सिराहरूमा ‘मुक्त बोसो अम्ल’ का साना कणहरू बग्दै बाढी आएझैं विनाश निम्त्याउन कलेजोमा प्रवेश गर्दछन् ।

मुक्त बोसो अम्ल कणहरू कलेजोमा ग्लुकोज र ट्राइग्लाइसेराइड प्रचुर मात्रामा उत्पादन बढाउँछन् तथा ज्यादै सानो घनत्व भएको बोसोको उत्सर्जन गर्दछन् । फलस्वरूप उच्च घनत्व भएको एक प्रकारको बोसो कोलेस्ट्रोरलको मात्रा घट्छ ।

मुक्त बोसो अम्ल कण इन्सुलिनलाई मांसपेशीमा कम क्रियाशीलमा परिणत गरिदिन्छ । त्यसैले इन्सुलिनले ग्लुकोज बोध गर्न सक्ने बुझ्न सक्ने क्षमता हराउँदै जान्छ र रगतमा इन्सुलिन तथा ग्लुकोजको स्तर सँगसँगै ज्यादै उच्च भएर आउँछ । जति धेरै ग्लुकोज रगतमा हुन्छ त्यति नै प्यान्क्र्याटिक ग्रन्थिको इन्सुलिन उत्सर्जन बढाउँछ ।

फलस्वरूप रक्त सञ्चारमा ग्लुकोज र अकर्मन्य इन्सुलिनको स्तर उच्च भएर आउँछ । रक्त सञ्चारमा जति ग्लुकोज पहिचान गर्न नसक्ने इन्सुलिन थुप्रिंदै जान्छ त्यत्तिकै त्यसले मिर्गौलामा सोडियम (नून) अवशोषण गरेर रक्त सञ्चारमा ल्याउँछ । फलस्वरूप उच्च रक्तचापको शुरुआत हुन्छ । उच्च रक्तचाप विभिन्न कारणले हुन्छ । त्यसमध्ये एक मे.सि. मानिन्छ ।

यसपछि मधुमेहले उग्ररूप लिन थाल्छ । विस्तारै युरिक एसिड रक्त सञ्चारमा बढ्ने र शरीरमा थुप्रिने हुन्छ । यस्तो अवस्थामा गुज्रिरहेको बिरामी धूमपान गर्ने परे अरू समस्या अझ छिटो बढ्दै जान्छन् । एकातिर मानिसको उमेर बढ्दै गएर शरीरमा केही शिथिलता थपिन्छ भने रोगको कारणले उसको स्वास्थ्य झनै कमजोर हुन्छ ।

प्रोष्टेट ग्रन्थि वृद्धि

४० वर्ष उमेर नाघेपछि प्रायः प्रोष्टेट ग्रन्थि वृद्धि हुन शुरु हुन्छ । ६० पुग्दा मूत्र प्रवाहमा धेरैले कुनै न कुनै समस्या अनुभव गर्छन् । प्रोष्टेट ग्रन्थिको वृद्धि उमेर संलग्न अवस्था हो । प्रायः पुरुषमा देखिने मूत्र समस्या केही हदसम्म प्रोष्टेट संलग्न हुन्छन् ।

झट्ट हेर्दा पेट बढेको मात्र त हो भनिन्छ तर उदरभित्रका अङ्गहरूमा जमेर थुप्रिएको बोसो पग्लेर जब कलेजोमा पुग्छ त्यहाँ त्यसले सक्दो बढी समस्याको जग बसाल्न थाल्छ ।

जस्तो कि छिटो छिटो पिसाब फेर्नुपर्ने, पिसाब फेरेपछि अन्तमा केही पिसाब थोपा भएर निख्रिने, पिसाबको धारा केही लुलो तथा मसिनो हुने हुन्छ । त्यस्तै मूत्र निष्कासन भइसकेपछि पूर्ण रूपमा निख्रेको सन्तोष नहुने केही बाँकी छ जस्तो भइराख्ने वा पिसाब फेरेको थोरै पछिदेखि नै फेरि पिसाब फेर्ने मनले मस्तिष्कको ध्यान आकर्षण गर्ने जस्ता लक्षण देखा पर्न सक्छन् ।

अर्कोथरीका पुरुष राति शौच गर्न उठिराख्नुपर्ने, जानासाथ पिसाब नआउने वा पिसाब लागेपछि रोक्नै नसकिने वा चुहिपनि हाल्ने समस्याग्रस्त हुन्छन् । अल्ट्रासाउण्डमा प्रोष्टेट ग्रन्थि वृद्धि भएको र खास गरेर त्यसको बीचको भाग बढेर मूत्र थैलीको भित्र छिरेको देखा पर्दछ । पिसाब फेरिसके पछि पनि निख्रिन नसकेको बाँकी थैलीमा सञ्चय अवस्थामा देखा पर्दछ ।

प्रोष्टेट ग्रन्थि वृद्धिले ल्याउन सक्ने खराबी भनेको विभिन्न मूत्र लक्षण देखाउने बाहेक मूत्र संक्रमण, मूत्र रक्तप्रवाह, पिसाब पूर्ण मात्रामा रोकिने, थैलीमा पत्थरी जम्ने, मिर्गौलाको कार्य क्षमता घटाउने वा पूर्ण रूपले नष्ट गर्ने हुन सक्छ । समयमै आफ्ना मूत्र लक्षणलाई पहिचान गरेर उपचार गरे शुरुमा रहनसहन, तरल पदार्थको मात्रामा फरक गरेर मूत्र लक्षणमा सुधार ल्याउन सकिन्छ ।

तर यो अवस्था पार गरेर समस्याले अर्कै रूप लिए औषधि उपचार गरेर ग्रन्थि बढ्न नदिने र बढेको घटाउने तथा मूत्र सञ्चारमा केही सजिलो थप्न सकिन्छ । जटिल अवस्थामा प्रवेश गरेका बिरामी उपचार शल्यक्रिया विधिबाट गर्नुपर्दछ ।

खास गरेर प्रोष्टेट ग्रन्थिको बीचको भाग बढेर एक सेन्टीमिटर भन्दा बढी थैलीभित्र घुसेको हुन्छ र मूत्र प्रवाह जाँचमा प्रति मिनेट १० मिलिलिटर वा कम पिसाब हुन्छ तथा पिसाब फेरेपछि १५० मिलिलिटर भन्दा बढी बाँकी रहन्छ, उनीहरूको शल्यक्रिया गर्नुपर्छ । त्यस्ता बिरामीको प्रोष्टेट ग्रन्थि बढेर मूत्र लक्षण देखिन्छ ।

उनीहरू मेटाबलिक सिन्ड्रोम पीडित पनि हुन्छन् । तिनीहरूको ग्रन्थि छिटो बढ्ने, मूत्र प्रवाहको स्तर तल्लो हुने, पिसाब फेरिसकेपछि धेरै ननिख्रने भएको अध्ययनले देखाउँछ । दुर्भाग्यवश यस्ता प्राचल–प्यारामिटर सूचक छिटो खस्कँदै जाने हुन्छन् । तर जुन सूचक खुद बिरामीले बढी ध्यान दिन्छ र दिक्क भएर उपचारको निम्ति प्रायः उपस्थित हुन्छ त्यसमा खासै ठूलो अन्तर देखिंदैन ।

पिसाब सञ्चय गर्ने क्षमताबारे बुझाउने लक्षण भन्नाले छिन–छिन पिसाब फेर्नुपर्ने, पिसाब रोक्न गाह्रो हुने, रात्रिकालीन पिसाब बढी हुने हुन्छ । यस्तोमा यी दुई रोगको संयोगले खासै असर गरेको पाइँदैन । त्यस्तै मूत्र प्रवाहमा देखिने मसिनो धारा, कन्नुपर्ने जस्ता लक्षणमा बिरामी बढी ध्यान दिने र गुनासो गर्ने अवस्था सिर्जना हुन्छ । तर ती लक्षणमा उपपाचन संलक्षणले खासै असर गरेको पाइँदैन ।

पीएसए स्तरमा पनि मे.सि. अवस्थाकोे असर नगन्य देखिएको छ । त्यसैले प्रोष्टेट ग्रन्थि वृद्धि र उपपाचन संलक्षण एकैसाथ देखापरे सामान्य अवस्थामा देखिने लक्षणमा ज्यादै ठूलो वा जटिल समस्या देखा परे मात्र उपचारको निम्ति विशेषज्ञकहाँ जाउँला भनेर पर्खनु घातक हुनसक्छ । समयमै चिकित्सकको सल्लाह लिएर आवश्यक परीक्षण गर्ने र उपचार जाँचको नतिजामुखी हुनुपर्छ ।

मधुमेहका थुप्रै बिरामीमा प्रोष्टेट ग्रन्थि छिटो बढ्ने र निकै ठूलो हुने भएकोले थैलीबाट निख्रन बाँकी रहेको पिसाब पनि धेरै हुन्छ । यस्ता बिरामीको शल्य उपचार सामान्य अवस्था भन्दा छिटो गर्नुपर्ने हुन्छ । तर मानव शरीरलाई टुक्रा, अङ्ग र भाग गरेर हेर्न मिल्दैन । प्रोष्टेट उपचार औषधि वा शल्य जुन विधिबाट गर्नुपरे पनि सम्पूर्ण शरीरको तौल उँचाइ सुहाउँदो राख्न खानपिन, रहनसहनमा हेरफेर गर्नैपर्ने हुन्छ ।

जीवन भनेकै गति हो र अचलतालाई जीवनमा स्थान दिनुहुँदैन । हरेक व्यक्तिले आफ्नो स्वास्थ्य आफैं बनाउने हो र स्वस्थ हुनको निम्ति के गर्नुपर्छ त्यसको अनुभव आफंैले गरेर त्यसको अभ्यास गर्नुपर्छ ।

स्वास्थ्यकर्मीले रोगको उपचार गर्ने हो । तर दुर्भाग्यवश उमेर ढल्कँदै गएपछि शरीर चौतर्फी रोगको आक्रमणमा हुन्छ । मानव आफैंले शुरुमै त्यसको जानकारी लिन र उपचारको निम्ति जानुपर्छ । स्वस्थ शरीर राख्न हामीले बच्चा अवस्थादेखि नै सिकाउनु–सिक्नु पर्दछ ।

बिगारेको शरीर र खास गरेर पेट भित्रका अङ्गमा बोसोको मात्रा जमेर भएको खराबी र त्यसबाट हुनसक्ने अरू रोगहरूको असरबाट बच्न जीवन शैली ओजपूर्ण, प्रसन्न र सकारात्मक सोचयुक्त हुनुपर्दछ ।

(वरिष्ठ यूरोलोजिष्ट प्रो.डा.भट्ट मेडिकेयर हस्पिटल चाबहिलमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?