
३ कात्तिक, काठमाडौं । भारतका रेसलर एवं पूर्व डब्लूडब्लूई स्टार दलिप सिंह रानाले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई भेटेका छन् ।
‘द ग्रेट खली’ भनेर समेत चर्चित रानाले बिहीबार केजरीवाललाई भेटेका हुन् । उनी दिल्लीका विधायक जर्नइल सिंहसँगै केजरीवाललाई भेट्न पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
अर्को वर्ष पञ्जाबमा हुन लागेको विधानसभा चुनावपूर्व खली र केजरीवालबीच भेट भएको हो ।
भेटघाटका क्रममा खलीले आम आदमी पार्टी (आप) को नेतृत्वमा राजधानी दिल्लीमा भएका क्रियाकलापको प्रशंसा गरेको सरकारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, दिल्ली सरकारले जारी गरेको विज्ञप्तिमा भविष्यमा समेत सरकारले चाल्ने कदमलाई सघाउने इच्छा व्यक्त गरेको उल्लेख छ ।
मुख्यमन्त्रीसँगको भेटघाटमा खलीले दिल्ली सरकारलाई बाँकी मुलुकसँग तुलना गर्दै त्यहाँ भएका काम देख्दा गौरवान्वित भएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।
‘उहाँ दिल्लीमा भएको विकासबाट प्रभावित हुनु भयो र समाजको प्रगतिका लागि संभव भएका सबै उपाय अपनाएर केजरीवाल सरकारलाई सघाउन इच्छुक रहेको बताउनु भयो’, विज्ञप्तिमा भनिएको छ ।
‘आज भारतलाई विश्वभर प्रख्यात बनाउने रेसलर द ग्रेट खलीसँग भेटघात भयो’, केजरीवालले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका छन्, ‘उहाँले दिल्लीमा बिजुली, खानेपानी, विद्यालय र अस्पतालमा भएका काम मन पराउनु भयो ।’
खलीले समेत ट्विटरमा ‘दिल्लीका माननीय मुख्यमन्त्रीलाई भेट्न पाउँदा खुशी लागेको’ बताएका छन् ।
प्रतिक्रिया 4