
२४ मंसीर, काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका– ३ का पदमबहादुर लामा २०५४ सालको स्थानीय निर्वाचनमा संयुक्त जनमोर्चाका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । तर, उनलाई जनमोर्चाको भविष्य छ जस्तो लागेन ।
उनी विचार–सिद्धान्त बुझेर त्यो पार्टीमा लागेका पनि थिएनन् । ‘वडा अध्यक्ष नै भएपछि विचार, सिद्धान्त र स्वयं पार्टीको भविष्यबारे बुझ्न खोजियो’ उनी सम्झन्छन्, ‘बुझ्दै जाँदा लोभ–मोह नभएको, पद पाए पनि ठीक, नपाए पनि ठीक पार्टी त कांग्रेस पो रहेछ भन्ने भयो अनि २०५७ सालमा यतै लागें ।’
अहिले ६० वर्षमा हिंडिरहेका लामा कांग्रेस भएयता मुलुकमा धेरै परिवर्तन भयो । कांग्रेस पार्टीकै आन्तरिक जीवनमा पनि धेरै फेरबदल आए । राजतन्त्र स्वीकारेर हिंडेको कांग्रेस अहिले गणतन्त्रको सिपाही बनेको छ । एकात्मक शासन व्यवस्थामा अभ्यस्त यो पार्टी अहिले आफूलाई संघीय प्रणालीको रक्षक मान्छ ।
यथास्थिति केमा मात्र छ भने लामा कांग्रेस (प्रजातान्त्रिक)मा प्रवेश गर्दा पार्टी नेतृत्वमा शेरबहादुर देउवा थिए, अहिले पनि छन् र अझै अर्को पाँच वर्ष दोहोरिन खोज्दैछन् । र, लामा पनि कांग्रेसमा देउवालाई टक्कर दिएर नेतृत्व लिनसक्ने अर्को नेता देख्दैनन् ।
‘एउटै व्यक्ति पटक–पटक सभापति बन्नु राम्रो होइन, तर तपाईं हेर्नुस्– कार्यकर्ताले नै शेरबहादुर देउवालाई छोड्दैनन् त’, महाधिवेशन प्रतिनिधि बनेर नेतृत्व चयन गर्न काठमाडौं आएका लामा भन्छन्, ‘कार्यकर्ताले भोट दिएर जिताउँछन् त कसको के लाग्यो ? टक्कर दिएर नेतृत्व लिन सक्ने अर्को नेता आउनुपर्यो नि !’
डडेल्धुराको अमरगढी नगरपालिका– ४ का खडकसिंह रावत ७४ वर्षका भए । उनी आफूलाई जन्मजात कांग्रेस मान्छन् । उनी बुझेर नभई पारिवारिक महोलमा कांग्रेस भएका हुन् । यसमा कहिल्यै पछुतो नलागेको उनी बताउँछन् ।
‘कांग्रेसमा लागेर एक पटक वडा अध्यक्ष भएबाहेक अरु अवसर पाएको छैन, अवसर पाउँ भन्दै धाएको पनि छैन’ रावत भन्छन्, ‘पदका लागि पार्टीमा लाग्ने पनि होइन । मेरो एउटै चिन्ता छ– कांग्रेसको भविष्य कस्तो होला ?’
उनलाई लाग्छ, अहिलेसम्मका कांग्रेसहरु आफ्नो लागि नभई मुलुकको लागि कांग्रेस भएका हुन् । यो इतिहास कायम गर्दै पार्टी अगाडि जानुपर्छ । ‘हाम्रो पुस्ता त अस्ताउँदो हो’ रावतले भने ‘नयाँ पुस्ताले पार्टीलाई कसरी अगाडि बढाउला ? मेरो चासो त यसैमा छ बाबु ।’
उनी महाधिवेशन प्रतिनिधि होइनन् । र पनि, महाधिवेशनमा आएका छन् । पार्टीको युवा पुस्ता र नेतृत्व चयन प्रक्रिया हेर्न काठमाडौं आएको उनले बताए ।
काठमाडौंसँग जोडिएको भक्तपुर, मध्यपुर थिमी नगरपालिका– ७ का ६३ वर्षीय कंसबहादुर कोजु भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योजनाका साथ पार्टीको यो १४औं महाधिवेशनमा सक्रिय छन् ।
पेशाले किसान उनी पनि डडेल्धुराका खडकसिंह रावत जस्तै जन्मजात कांग्रेस हुन् । रावत एक पटक वडा अध्यक्ष भए, तर कोजुले २०५४ सालमा पाएको वडा सदस्यको टिकट खोसियो ।
त्यो बेला पार्टीले टिकट दिने निर्णय गरेपछि उनी तयारीमा लागे । तर, बीचमा उनको नाम काटेर अर्कोलाई उम्मेदवार बनाउने खेल भयो । ‘मैले चित्त त दुखाएँ तर, पार्टी छोडिनँ’ कोजु भन्छन्, ‘मैले टिकट पाएर पनि खोसिएको मेरै साथीहरुको कारणले हो । त्यो रिसले आस्था त्याग्ने कुरा भएन ।’
आफूले पार्टीको १३ औं र १४ औं महाधिवेशनमा त्योभन्दा ठूलो अवसर पाएको ठान्छन् उनी । दुवैमा महाधिवेशन प्रतिनिधि चुनिए उनी । ‘यसपाला रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्य उठ्ने निर्णय गरेको छु’, कोजुले भने ।
राजनीति पदका लागि नभई सेवाका लागि हुनुपर्ने उनी बताउँछन् । उनलाई लाग्छ, समान अधिकार र विभेद अन्त्यका लागि जसले जे सक्छ त्यही गरे नेपाल सुन्दर हुन्छ ।
‘मेरा छिमेकी दलितहरु गरीब थिए, धेरैले हेप्थे । मैले कसैलाई ड्राइभर बनाइदिएँ, कसैलाई कृषि उद्यम सिकाएँ । पैसा कमाउन थालेपछि उनीहरुलाई पनि कसले हेप्ने ?’ कोजु भन्छन्, ‘यस्तै यस्तै कामले मलाई दुई पटक महाधिवेशन प्रतिनिधि बनाएको हो ।’
उमेरले बुढ्यौलीतिर लागेका उनमा पार्टी नेतृत्वमा नयाँ–नयाँ अनुहार हेर्ने आकांक्षा छ । ‘कांग्रेसमा कसैले त्याग गरिरहने, कसैले छाड्दै नछाड्ने चलिरहेको छ’ कोजु भन्छन्, ‘यो क्रम तोडिएर नयाँ अनुहार नयाँ पुस्ता आउनुपर्छ ।’
उनको पनि चिन्ता कांग्रेसको भविष्यप्रति छ । ‘बुढाहरुले पार्टी बनाए, कांग्रेसी भनेर नाक खुम्च्याउनुपर्ने अवस्था छैन’ उनी भन्छन्, ‘अब कार्यकर्ताले कांग्रेसलाई थप सशक्त बनाउलान् कि भत्काउन सघाउलान्, चिन्ता यसैमा छ ।’
प्रतिक्रिया 4