
११ पुस, काठमाडौं । पुनर्निर्माण लगभग सकिएको काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा मूर्ति छोपेर राखिएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले हालै ल्याएको गोरखनाथको यो नयाँ मूर्ति विवादमा परेको छ ।
यसअघि काण्ठमण्डपमा रहेको गोरखनाथको मूर्ति टुटेफुटेको भन्दै पुनर्निर्माण समितिले नयाँ मूर्ति ल्याएपछि यसको समर्थन र विरोध दुवै भएको छ । कतिपयले पुरानो मूर्ति टुटेफुटेको र यस्ता मूर्ति पूजा गर्न नहुने मान्यता भएकाले नयाँ ल्याउनुलाई सही भनेका छन् । कतिपय स्थानीय र संरक्षणकर्मीले भने पुरानै मूर्ति राख्नुपर्ने धारणा राखेका छन् ।
पुनर्निर्माण अन्तिम चरणमा पुगेपछि काष्ठमण्डपमा गोरखनाथका साथै गणेशका पनि चार वटा नयाँ मूर्ति राखिएका छन् । तर पुरानै मूर्ति राख्नुपर्ने र नयाँ राख्नुपर्ने धारणा व्यक्त गर्नेबीचको विवादको समाधान भने निस्किएको छैन ।
पुरातत्व विभागका अनुसार भूकम्पपछि क्षतिग्रस्त काष्ठमण्डपमा मूर्तिहरु टुटेफुटेको अवस्थामा भेटिएका थिए । कतिपयले काण्ठमण्डप पुनर्निर्माणपछि ती मूर्तिलाई नै फर्काउनुपर्ने माग गरेपछि नयाँ मूर्ति राख्नुपर्ने पक्षमा रहेको मन्दिर पुनर्निर्माण समिति अप्ठेरोमा परेको छ ।
पुराना मूर्ति हनुमानढोका दरबार क्षेत्र हेरचाह अड्डाको भण्डारमा छन् । नयाँ र पुरानो मूर्तिबारे भइरहेको विवाद समाधानका लागि सरोकारवाला निकाय काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र हनुमानढोका दरबार हेरचाह अड्ड कसैले पहल गरेको छैन ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा वागमती प्रदेशसभा सांसद राजेश शाक्य यसअघिका मूर्ति खण्डित (टुटफुट) भएकाले पूजा गर्न नहुने मान्यता रहेको बताउँछन् । ‘खण्डित भएको मूर्ति पुज्न हुन्न भन्ने धार्मिक, शास्त्रीय र सामाजिक मान्यताका कारण मूर्ति नयाँ राखेका हौं,’ उनी भन्छन्, ‘यसबारे कसैले फरक मत राखेकोबारे हामीलाई जानकारी छैन ।’
नयाँ मूर्ति राख्न नहुने मत राख्नेहरु आफूहरुसँग छलफलमा नआएको उनी बताउँछन् । समाजको आम मान्यतालाई नै अंगालेर नयाँ मूर्ति राखिएको भन्दै उनले यसमा बहस जरुरी नै नरहेको बताए । उनले गोरखनाथ मन्दिरका पुजारीसँगको सल्लाहमा नयाँ मूर्ति स्थापना भएको बताए । पुरानो मूर्ति संग्रहालयमा राख्न सकिने समितिको तर्क छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मूर्तिबारेको विवाद छलफलबाटै टुंग्याउनुपर्ने बताउँछन् । उनका अनुसार केही स्थानीयले टुटफुट भएका मूर्ति नपुज्ने हुनाले नयाँ मूर्तिमा समर्थन जनाएका छन् । ‘तर, कतिपयले भने धेरै मन्दिरहरुमा हात, पाउ र शरीरका विभिन्न भाग नभएका पुराना मूर्ति पनि पुजिएको उदाहरण दिएर पुरानो मूर्ति हटाउन नहुने तर्क गरेका छन्,’ उनी भन्छन्, ‘एउटा निष्कर्षमा पुग्नुपर्छ ।’
‘कानुन मिचिएको छ, अदालत जान्छौं’
केही सम्पदा संरक्षणका अभियन्ताले भने नयाँ मूर्ति राख्दा काष्ठमण्डप पुनर्निर्माण समितिले कानुन मिचिएको तर्क गरेका छन् । सम्पदा संरक्षणका अभियन्ता तथा अधिवक्ता सञ्जय अधिकारीले स्वेच्छाचारी ढंगले मूर्ति परिवर्तन गर्दा प्राचीन वस्तु संरक्षण गर्न बनेका कानुन मिचिएको बताए । पुनर्निर्माण समितिले मूर्ति परिवर्तन गर्न पुरातत्व विभाग र हनुमानढोका दबबार हेरचाह अड्डासँग अनुमति पनि नलिएको उनको भनाइ छ ।
‘यसलाई सही भन्ने हो भने हाम्रा सम्पदा जसले जसरी मनलाग्छ उसैगरी फेर्दा भयो,’ उनी भन्छन्, ‘यस्तो कामले धार्मिक आस्थामा चोट पुग्ने मात्रै हैन, कानुन नै नमान्ने परिपाटीको विकास गराउँछ ।’

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सरकारको स्वीकृतिविना प्राचीन स्मारकका सम्पदालाई भत्काउने, हटाउने, परिवर्तन गर्ने विरुप गर्ने जस्ता काम गर्न पाइँदैन । पूरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पूरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
‘राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागलाई पत्राचार गरेका छौं, नयाँ मूर्ति राख्ने कार्य गैरकानुनी भएकाले नरोकिए सर्वोच्च अदालतमा जान्छौं,’ अधिकारीले भने ।
विश्व सम्पदा क्षेत्रमा रहेको सम्पदामा गैरकानुनी ढंगबाट काम भएकाले यसबारे सम्पदा संरक्षणसम्बन्धी राष्ट्रसंघीय निकाय युनेस्कोलाई पनि जानकारी गराइएको अधिकारीले बताए । पुरानै मूर्तिलाई आवश्यक मर्मत र सफाइ गरेर पुनर्स्थापित गनुपर्ने उनको भनाइ छ ।
गोरखनाथको नयाँ मूर्ति राख्नुलाई गोरखनाथकै कतिपय भक्तहरुले सही मानेका छैनन् । स्थानीय योगमाया शाक्य पुरानो मूर्ति हटाउने कामलाई आस्थामाथिको अतिक्रमण भन्छिन् । मूर्ति ढुंगाको आकृति मात्रै नभएको भन्दै आस्था नै मर्ने गरी नयाँ मूर्ति राखिनु सही नहुने उनको तर्क छ ।
‘हाम्रो बाबुबाजेले युगौंदेखि पुजेको गुरु गोरखनाथको मूर्ति लगेर कतै गोदाममा थन्क्याएर नयाँ मूर्ति स्थापना गर्नु उचित हुन्न, आकृति बदलिएपनि अन्तिम अवशेष रहिन्जेलसम्म त्यसको प्रतिस्थापन गर्नु गलत हुन्छ,’ उनी भन्छिन्, ‘पुरातात्विक महत्वको मूर्ति यति हल्का तर्क गरेर परिवर्तन गर्नु हुँदैन ।’
पूरातत्व विभागका महानिर्देशक दामोदर गौतम भने पर्याप्त छलफलविना नै नयाँ मूर्ति राख्न खोज्नुलाई गल्ती भन्छन् । ‘मूर्ति फेर्नेबारे विभागमा औपचारिक जानकारी थिएन, तर समितिमा विभागकै मान्छे पनि हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘टुटेफुटेका र अंगभंग भएका मूर्ति पूजा गर्दा फल प्राप्त नहुने धार्मिक विश्वास छ, त्यसलाई बदल्दा पर्याप्त रुपमा स्थानीयसँग छलफल भएको भए राम्रो हुन्थ्यो ।’
विभागले छलफलबाट समाधान निकालेर नयाँ मूर्तिमा प्राणप्रतिष्ठा गर्न सकिने बताइरहँदा स्थानीय र सम्पदा संरक्षणकर्मी भने हनुमानढोका संग्रहालयमा थन्क्याइएको पुरानै मूर्तितर्फ हेरिरहेका छन् ।
प्रतिक्रिया 4