
१२ पुस, काठमाडौं । कोरोना महामारीको त्रासको अर्थतन्त्रमा निकै ठूलो असर पर्यो । तर केही यस्ता क्षेत्रहरु थिए जसलाई कोरोनाकै कारण सकारात्मक असर गरिरहेको थियो । त्यसमध्ये एक हो– विद्युतीय कारोबार । देशमा पूर्ण लकडाउन भएसँगै विद्युतीय कारोबारमा सर्वसाधारणको आकर्षण बढेको थियो । कोभिड महामारी कम भएपछि पनि सर्वसाधारणमा डिजिटल कारोबारको लत बस्ने अपेक्षा थियो । तर पछिल्लो तथ्यांकले यसलाई गलत सावित गरेको छ । विद्युतीय कारोबार केही समय यता खस्किएको छ । विद्युतीय कारोबार समग्रमा बढ्ने होइन उल्टै घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आईपीएस, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेटदेखि क्यूआर पेमेन्ट समेतको कारोबार संख्या घटेको छ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत हुने कारोबार एक महिनामा नै करिब ५ हजारले घटेको छ । गत असोज महिनामा ६० हजार ११५ वटा यस्तो कारोबार भएकोमा कात्तिक महिनामा ५५ हजार ८९७ वटामात्रै कारोबार भए ।
उता एटीएमबाट हुने कारोबारमा समेत गिरावट आएको छ । असोज महिनामा ८२ लाख ९९ हजार ५ सय ८७ वटा कारोबार भएकोमा कात्तिकमा एटीएमबाट जम्मा ७२ लाख ६२ हजार ३ सय ४ वटा मात्रै कारोबार भए । बैंकमा गएर गरिने आईपीएस साथै घरबाटै गरिने कनेक्ट आईपीएस कारोबारमा समेत गिरावट आएको छ । १२ लाख ८९ हजार ८ सय ९१ वटा आईपीएस कारोबार असोज महिनामा भएकोमा कात्तिकमा घटेर ९ लाख ६१ हजार ४ सय २२ मा झर्यो ।
कोरोनाको समयमा विद्युतीय कारोबारमा निकै राम्रो आकर्षण देखिएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट र क्यूआर बेस पेमेन्टमा समेत गिरावट आएको छ । असोज महिनामा १५ लाख १५ हजार ३२९ वटा क्यूआर पेमेन्ट भएका थिए । यो संख्या कात्तिकमा घटेर १३ लाख ८७ हजार ५ सय ८४ मा झरेको छ ।
वालेटबाट हुने कारोबार संख्या एक महिनामा नै ५ हजारले घटेको छ । असोज महिनामा १ करोड ३५ लाख ६५ हजार ५४ वटा कारोबार भएकोमा कात्तिकमा घटेर १ करोड ३९ लाख ३० हजार ८०४ मा सीमित भयो । उता मोबाइल बैंकिङ कारोबार १ करोड ३७ लाख ६४ हजार ९९२ बाट झरेर १ करोड २६ लाख १५ हजार ६३७ मा झरेको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट चाडवाडको समय भएकाले विद्युतीय कारोबारमा वृद्धि हुन नसकेको बताउँछन् । नगदमा हुने कारोबार बढेका कारण पनि यस्तो देखिएको हुन सक्ने उनले बताए । ‘चाडबाडका बेला नगदमा हुने कारोबार धेरै हुन्छ, तथ्यांकले पनि त्यो देखाउँछ’ उनले भने ।
कारोबारको अवस्थाः
सि.नं. | कारोबारको शीर्षक | असोज २०७८ (संख्या) | कात्तिक २०७८ (संख्या) |
१. | आरटीजीएस | ६०,११५ | ५५,८९७ |
२. | एटीएम | ८२,९९,५८७ | ७२,६२,३०४ |
३. | आईपीएस (बैंकमा गएर) | १२,८९,८९१ | ९,६१,४२२ |
४. | कनेक्ट आईपीएस | ३५,१०,२२६ | २७,६०,५०३ |
५. | डेबिट कार्ड | ९२,१२,५११ | ८०,७५,४७२ |
६. | क्रेडिट कार्ड | १,९६,४१५ | १,७७,६४८ |
७. | इन्टरनेट बैंकिङ | ३,११,५८० | २,५०,१७७ |
८. | मोबाइल बैंकिङ | १,३७,६४,९९२ | १,२६,१५,६३७ |
९. | वालेट | १,३५,६५,०५४ | १,३०,३०,८०४ |
१०. | क्यूआर बेस पेमेन्ट | १५,१५,३२९ | १३,८७,५८४ |
चिन्ता लिइहाल्नु पर्ने अवस्था छैन : राष्ट्र बैंक
अहिले विद्युतीय कारोबारमा भएको गिरावट धेरै ठूलो नभएको र चिन्ता लिइहाल्नु पर्ने अवस्था समेत नभएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका निर्देशक निश्चत अधिकारी कारोबार घटाउने सिजन (समय) ले भूमिका खेल्ने बताउँछन् ।
कुनै समयमा धेरै कारोबार हुने र कुनै समयमा थोरै कारोबार हुने उनले बताए । असोज महिनाको तुलनामा कात्तिक महिनामा कारोबार घट्नुका पछाडि चाडबाडको कारण भएको हुन सक्ने उनको भनाइ छ ।
दशैं तिहारका बेला नेपालीहरुले धेरै खर्च गर्छन् । खर्च धेरै हुँदा कारोबार संख्या पनि बढेको देखिन्छ । खर्च गर्ने मुख्य सिजन नै दशैं तिहार भएकाले त्यसपछि स्वभाविक रुपले कारोबार घट्न सक्ने उनले बताए । ‘कात्तिक अन्तिमतिर त चाडबाडहरु पनि सकिए, चाडपर्व सकिएपछि मान्छेले खर्च पनि धेरै गर्दैनन्,’ विभागका निर्देशक अधिकारी भन्छन्, ‘अहिले कारोबार हुने ठूला गतिविधि नभएका कारण पनि कात्तिक महिनामा घटेको हो ।’
अहिले कारोबार घट्नुको खास ठूलो कारण नरहे पनि कारोबार बढ्नका लागि अब कर तिर्ने समय आउनु पर्ने उनले बताए । उनका अनुसार त्रैमासको अन्त्यतिर कारोबार धेरै बढ्ने गरेको छ । हरेक त्रैमासमा उद्योग व्यवसायहरुले राज्यलाई कर भुक्तानी गर्ने गरेका छन् । अब पुस महिनाको अन्त्यमा भने कारोबार पुनः बढ्ने अधिकारीको अनुमान छ ।
सेवा प्रदायकलाई टिक्न नै धौ–धौ
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था जीएमई पेको लाइसेन्स गत १६ कात्तिकमा खारेज गर्यो । जीएमईले २०७७ असोज २२ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति पत्र पाएको थियो । कम्पनीले कारोबार शुरु गर्न नसकेकाले भुक्तानी तथा फर्स्यौट विनियमाली अनुसार लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले बताएको छ ।
जीएमई पेको लाइसेन्स खारेज भएसँगै अब मुलुकमा भुक्तानी सेवा प्रदायक यस्ता संस्थाहरुको संख्या २७ मा झरेको छ । बाँकी रहेका २७ सेवा प्रदायकहरुमा पनि केहीको लाइसेन्स खारेज हुनसक्ने सम्भावना रहेको छ ।
विनियमावली अनुसार सञ्चालन अनुमति पाएको ६ महिनाभित्र भुक्तानी सेवा प्रदायक कम्पनीले सेवा प्रारम्भ गर्नुपर्ने नियम छ । तोकिएको समयमा जिएमईले सेवा शुरु गर्न सकेन । ६ महिनापछि पनि ३ महिना पुनः थप गर्दा समेत सेवा शुरु नगरेकाले लाइसेन्स नै खारेज गर्ने निर्णय गर्ने गरेको राष्ट्र बैंकले अरु कम्पनीहरुको पनि लाइसेन्स खारेज गर्न सक्नेछ । गत फागुन र चैतमा मात्रै ८ वटा सेवा प्रदायकले लाइसेन्स पाएका थिए । ती कम्पनीहरुले सेवा शुरु गरे/नगरेको हेरेर राष्ट्र बैंकले यो महिनाभित्र केही निर्णय गर्न सक्नेछ ।
पुराना वालेटहरुलाई राम्रो व्यवसाय गरेर टिक्न गाह्रो परिरहेका बेला राष्ट्र बैंकले गत वर्षमै एक दर्जन कम्पनीलाई लाइसेन्स दिएको थियो । र अब भने आवेदन नै नलिने राष्ट्र बैंकले बताएको छ ।
वालेटहरु धेरै हुँदा लाइसेन्स टिकाउन नसकेर लाइसेन्स बेच्ने वा मर्जरमा जाने अवस्था छ । स्प्यारो पे प्राइभेट लिमिटेडको ‘खल्ती’ को ४० प्रतिशत शेयर वर्ल्ड लिंकले किनेको छ । खल्तीका संस्थापक अमित अग्रवालका अनुसार व्यवसाय विस्तार र अझै राम्रो बनाउनका लागि वर्ल्ड लिंकलाई पार्टनर बनाइएको हो । राम्रो पार्टनर पाए अझै खोजिरहेको उनले बताए ।
संस्थाहरु धेरै हुँदा प्रतिष्पर्धा पनि हुने अग्रवाल बताउँछन् । तर सबैले प्रतिष्पर्धा गर्न भने सहज नभएको उनले बताए । ‘२७ वटा कम्पनी भए पनि अहिले काम गर्ने भनेका ५/६ वटा मात्रै देखिएको छ, सबैलाई सहज पक्कै छैन,’ उनले भने, ‘प्रतिष्पर्धा गर्नसक्नेहरु चल्छन्, सबै चल्न सक्दैनन् ।’ अहिले वालेटहरुले धेरै चुनौती खेपिरहेको पनि उनी सुनाउँछन् ।
बिल तिर्दा ग्राहकबाटै शुल्क लिनु भन्ने नीति पनि एउटा चुनौतीको रुपमा रहेको उनले बताए । ‘राष्ट्र बैंकले भुक्तानीको ग्राहकबाटै शुल्क लिनु भनेको छ, बिजुलीको पनि ग्राहकबाटै शुल्क लिनु पर्छ,’ उनले भने, ‘ग्राहकलाई त सहुलियत दिएर आकर्षण गर्नुपर्नेमा यस्तो नियम अलि चुनौतीको रुपमा छ ।’
सञ्चालनमा रहेका वालेटहरुः
सि.नं. | भुक्तानी सेवा प्रदायक | वालेट |
१. | आईएमई डिजिटल सोलुसन लिमिटेड | आईएमई पे |
२. | ई–सेवा फोन पे प्राइभेट लिमिटेड | ई सेवा |
३. | सेलकम प्राइभेट लिमिटेड | सेल पे |
४. | सीजी पे नेपाल प्राइभेट लिमिटेड | सीजी पे |
५. | स्प्यारो पे प्राइभेट लिमिटेड | खल्ती |
६. | पेनेप प्रालि | मो रू |
७. | क्यू पे प्रालि | क्यू पे |
८. | नेपाल पे टाइम प्रालि | पे टाइम |
९. | स्मार्ट कार्ड नेपाल प्रालि | माई पे |
१०. | मोहर डिजिटल प्रालि | मोहर पे कार्ड |
११. | प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेड | प्रभु पे |
१२. | इ–नेट पेमेन्ट प्रालि | इ–नेट पे |
१३. | फोकसवान पेमेन्ट सोलुसन्स् प्रालि | मोका |
१४. | कुराकानी पे प्रालि | कुराकानी पे |
१५. | पेवेल नेपाल प्रालि | पे वेल |
१६. | गोल्डमाइन बिजनेस ग्रुप प्रालि | डी पैसा |
१७. | वी पे प्रालि | सुपर याप योप |
१ | फिनटेक इन्टरनेशनल प्रालि | यात्रा कार्ड |
१९. | लेनदेन सेवा प्रालि | लेनदेन सेवा |
२०. | डिजी पे प्राइभेट लिमिटेड | डीजी पे |
२१. | नेपाल ई बिज म्यानेजमेन्ट प्रालि | मोबालेट |
२२. | आई पे प्रालि | आई पे |
२३. | आई क्यास प्राइभेट लिमिटेड | आई क्यास |
२४. | नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड | नमस्ते पे |
२५. | सुलभ पे प्राइभेट लिमिटेड | एन क्यास |
२६. | छिटो पैसा प्राइभेट लिमिटेड | छिटो पैसा |
२७. | सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि | सजिलो पे |
प्रतिक्रिया 4