
१४ पुस, पाल्पा । बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घर-घरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन् । महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ । तर, अध्यारो हटाउन टुकी वा मैनबत्तीको सहारा लिनुपर्ने बाध्यता हटेको छैन ।
विसं २०५८ मा विद्युतीकरण भए पनि हालसम्म थ्रिफेज लाइन बिस्तार नहुँदा साँझ बिहान बत्तीसमेत बल्दैन । नेपाल सरकारले २० युनिटसम्म विद्युत् उपभोग गर्ने परिवारलाई निःशुल्क सेवा गर्दै आएको छ ।
सन्ढापवासीको घरमा साँझ परेपछि बत्ती मधुरो हुन थाल्छ । दिनभर बालिएका बत्ती मधुरो, रेडियो, टिभी तथा मोबाइल चार्जमा समस्या हुँदै आएको स्थानीय बासिन्दा लक्ष्मीप्रसाद न्यौपानले भने, ‘बत्ती बले पनि जुनकिरी बलेझैं बल्ने र मोबाइलसमेत चार्ज नहुने समस्या छ ।’
स्थानीय बासिन्दाले पटक पटक वडा, गाउँपालिका, तथा नेतालाई विद्युत्को समस्यासम्बन्धी जानकारी गराए पनि सुनुवाइ नहुँदा अध्यारोमा बास बस्नुपर्ने बाध्यता छ । त्यसमाथि बालबालिकालाई साँझमा विद्युत्को सहायतामा अध्ययन गर्न समस्या हुँदै आएको उनीहरूको गुनासो छ ।
३० घरभन्दा बढी बासिन्दा रहेको सन्ढापमा विद्युत् विस्तार भए पनि बिहान साँझ विद्युत्बाट हुने सबै काम रोकिन्छ । जसले गर्दा स्थानीयवासीले बत्ती बाल्ने, मोबाइल चार्ज गर्ने, सञ्चारमाध्यमको प्रयोग गर्नेलगायत कामबाट वञ्चित हुनु परेको छ ।
स्थानीयवासी गोविन्द भट्टराई नेतृत्वको सन्ढापका बासिन्दाले लामो समयले विद्युत्को पूर्ण सेवा प्रयोग गर्नबाट वञ्चित भएको बताए । उनले रातको समयमा बढी विद्युत्को माग हुँदै रातमा बत्तीसमेत बल्दैन, टिभी हेर्न पाइँदैन, बत्तीमुनिका अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताए ।
स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण पाल्पामा थ्रिफेज लाइन विस्तार गर्न ज्ञापनपत्र बुझाएको छ । प्राधिकरण प्रमुख इञ्जिनियर विवेक आचार्यले सन्ढापको स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने बताए । वास्तविक समस्याको पहिचान गरी विद्युत् सेवाको पहुँच विस्तार गर्न प्राधिकरण कार्यालय तयार रहेको उनले बताए ।
सरकारले घर-घरमा विद्युत् खपत बढाउन अनुरोध गरिरहेको बेला ग्रामीण क्षेत्रमा जडान गरिएका सेवाको उचित रुपमा प्रयोग नपाउँदा नागरिक निराश छन् ।
प्रतिक्रिया 4