
२ माघ । नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको समितिले उनको शंकास्पद कारोबार समेत भेटेको छ ।
उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिले उनको खातामा अस्वभाविक रकम जम्मा भएको फेला पारेको हो । समितिले उनका अन्य क्रियाकलापहरु समेत समेटेर उनीमाथि थप अनुसन्धान गर्न र कारवाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो ।
अर्थ मन्त्रालय उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको प्रतिवेदनमा उनका चारवटा बैंकखाता सरसर्ती अध्ययन गर्दा एउटामा अस्वभाविक कारोबार भेटिएको उल्लेख छ । माछापुछ्रे बैंकमा उनको तलबी खाता थियो । त्यो बाहेकका अरु दुई खातामा स्वाभाविक कारोबार भएपनि अर्को आईसीएफसी फाइनान्स लिमिटेडमा भएको खातामा भने अस्वभाविक कारोबार भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
१० जुलाई २०२० (तदनुसार २६ असार २०७७) मा उनको खातामा ७५ लाख रुपैयाँ रकम आएको र त्यही दिन उनले त्यो रकम मुद्दति खातामा राखेको प्रतिवेदनमा उल्लेख छ । अनि १ अप्रिल २०२१ (तदनुसार १९ चैत २०७७) मा पनि त्यसैगरी २५ लाख रुपैयाँ बचत भएको भेटिएको छ । संयोग नै मान्नुपर्छ, उनको खातामा रकम आएको समयको सेरोफेरोमा सर्वोत्तम सिमेन्टका बारेमा धितोपत्र बोर्डले निर्णय गरेको देखिन्छ ।
‘बोर्डका अध्यक्षको कारोबार शंकास्पद देखिएको छ’ जाँचबुझ आयोगको प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘नियमित तलबबाहेक ठूलो परिमाणको बैकिङ्क कारोबार देखिनुले अध्यक्ष ढुंगाना बोर्डको नियमित कामकारबाही बाहेक अन्य क्रियाकलापहरुमा संलग्न रहेको देखिन्छ ।’ यस्तो काम बोर्डको आचारसंहिता विपरीतसमेत रहेको भन्दै जाँचबुझ समितिले उनीमाथि थप छानबीन हुनुपर्ने औल्याएको छ । तर प्रतिवेदन बुझाएको चार महिनासम्म पनि उनलाई बर्खास्त गर्ने बाहेक थप छानबीन र कारवाही भएको छैन ।
जग्गा खरिदमा समेत
बोर्डको जग्गा खरिदमा समेत ढुंगानाले अनियमितता गरेको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । सातदोवाटोस्थिती आईक्यानको भवनसँगैको जग्गा सरकारले बोर्डलाई लिजमा उपलब्ध गराएको थियो । लिजको भाडा तिरिरहेको अवस्थामा त्यही जग्गामा भवन बनाउने सम्भावना रहेकोमा बोर्डले जडिबुटीमा जग्गा खरिद गर्ने निर्णय लियो । त्यो जग्गा आफ्ना नाममा पारित नहुदै बोर्डले ४२ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।
एकीकृत मनोहरा जग्गा विकास आयोजनामा ७ रोपनी जग्गा खरिद गर्न रकम भुक्तानी भइसकेपछि अहिले आएर समस्या शुरु भएको छ । आयोजनाले जग्गा प्लानिङका क्रममा मापदण्ड अनुसार ठाउँ नछाडेको भनेर प्रश्न उठेपछि छानबीन हुदा केही ठाउँ छाड्नुपर्ने भएको छ । करिव ७ रोपनी जग्गा खरिदका लागि रकम भुक्तानी पाइसकेको आयोजनाले अब ५ रोपनीभन्दा बढी जग्गा दिन नसक्ने भनी प्रतिउत्तर पठाइसकेको छ । यसबाट बोर्डलाई प्रत्यक्ष २ रोपनी जग्गा घाटा लागेको छ ।
त्यसबाहेक ढुंगानाको हठपूर्ण निर्णयका कारण जग्गा आफ्नो नाममा नआउदै भुक्तानी दिएका कारणले धितोपत्र बोर्डलाई दैनिक ८१ हजार रुपैयाँ नोक्सान भइरहेको छ । त्यो रकम मासिक २४ लाख र वार्षिक करिव ३ करोड नोक्सानी हो । प्रतिवेदनमा भनिएको छ, ‘यसरी भुक्तानी गर्नु नेतृत्वको अक्षमता देखिन आउछ ।’ बयानका क्रममा ढुंगानाले सरकारी निकायलाई विश्वास गरेर रकम भुक्तानी गरेको बताए । उनले बयानमा भनेका छन्, ‘नेपाल सरकारको निकायलाई त विश्वास गर्नुपर्यो नि, हैन र ?’
छोरीलाई टेबुलमुनिबाट शेयर
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर किनिदिएको फेला परेपछि विवादमा परेका थिए । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत शेयर बेच्ने तयारी गरेको र धितोपत्र बोर्डबाट अनुमति पाएपछि भीष्मराजकी छोरी रेविकाले शेयर किनेकी थिइन् । साधारण सभाबाट निर्णय भई ७५० रुपैंयाका दरले विक्री गर्न खोजिएको शेयर रेविकाले २५० रुपैयाँका दरले नै १० हजार कित्ता भित्री रुपमा किनेको भेटिएपछि जाँचबुझ समितिले त्यसमाथि गम्भीरतापूर्वक छानबीन गरेको थियो ।
खरिदबिक्री पनि कस्तो अवस्थामा भएको थियो भने सर्वोत्तम सिमेन्टलाई बुकबिल्डिङ विधिबाट शेयर बिक्रीको नीतिगत एवं अन्य सहयोगका लागि धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले सहजीकरण गरेका थिए । धितोपत्र बोर्डले २२ साउन २०७७ मा बुकबिल्डिङ विधिबाट शेयर बेच्न अनुमति दियो भने माघ ६ गते विशेष साधारणसभाले ७५० रुपैंया मूल्य कायम गरेको थियो । त्यसको केही दिनपछि ११ माघ देखि १४ माघ २०७७ का बीचमा यस्ता शंकास्पद कारोवार भएका थिए । मूल्य समेत तोकेको अवस्थामा त्यसको एकतिहाई भाउमा मात्रै शेयर कारोबार भयो ।
शेयरको मूल्य ७५० रुपैयाँ हुने भनी निर्धारण गरेपछि शेयरधनीमध्येकी एक शिखा अग्रवालले रेविकालाई २५० रुपैयाँका दरले शेयर बेचेकी थिइन् । यसरी भित्री कारोवारबाट नाफाबाट रेविकाले प्रतिशेयर ५ सय रुपैयाँका दरले ५० लाख रुपैयाँ तत्काल नाफा पाएकी थिइन् ।
त्यसबाहेक तत्कालै बोनस शेयर समेत वितरण भएकाले लाभ अझै बढ्ने देखिन्छ । यो तथ्य हेर्दै जाँचबुझ प्रतिवेदनले भनेको छ, ‘धितोपत्र सम्बन्धी भित्री सूचनाको दुरुपयोग गरी फाइदा लिने काम गरेको र आफ्नै सहोदर छोरीले उक्त क्रममा संलग्न हुनुले बोर्ड अध्यक्षले आफ्नो पदीय गरिमा र सूचनाको गोपनीयता कायम गर्न सकेको देखिएन ।’ जाँचबुझ समितिसँगको बयानमा शिखा अग्रवालले भने आफूले राजिखुसीमा शेयर बेचेको प्रतिक्रिया दिएकी थिइन् ।
जाँचबुझ प्रतिवेदन अनुसार, मधुजा ढुंगाना र रोशन ढुंगानाका नाममा पनि थप ५÷५ हजार कित्ता शेयर किनेको भेटिएको छ । तर यी दुईजना को हुन् भन्ने नखुलेपनि भीष्मराजका नातेदार हुनसक्ने भन्दै समितिले थप छानविन हुनुपर्ने औल्याएको छ । बयानमा ढुंगानाले भने सर्वोत्तम सिमन्ट धितोपत्र बोर्डको दायरमा नपर्ने भन्दै आफ्नो बचाउ गरेका थिए ।
जाँचबुझ प्रतिवेदन अनुसार, ऐनमा विवाहित छोरीलाई परिवारका सदस्यमा नराखिएपछि विधायिकाले शेयर कारोबारमा स्वच्छता परिकल्पना गरेको भन्दै ढुंगानाको क्रियाकलापले त्यो नदेखिएको ठह¥याएको थियो । शुरुमा ढुंगानाले छोरीले शेयर किनेको विषय आफूले थाहा नपाएको दावी गरे । ‘मेरो छोरी विवाहित हो, मलाई नसोधी किन्न पाउछे’, उनले बयानमा भनेका थिए, ‘कारोबार भएको रहेछ भने पनि छोरीले नेपाल कानून अनुसार किन्न पाउँछ ।’ तर खोज्दै जाँदा थप प्रमाण भेटियो ।
ढुंगानाले आफ्नो लक्ष्मी बैंकको खाताबाट ओडी (ओभर ड्राफ्ट) चेकका माध्यमबाट छोरीको खातामा १५ लाख जम्मा गरिदिएको भेटियो । पछि सञ्चारमाध्यममा सबै विवरण आएपछि बोली फेरेका ढुंगानाले छोरीलाई शेयर किन्न ऋण दिएको भनी जवाफ दिएका थिए, जुन दावीलाई जाँचबुझ समितिले विश्वसनीय मानेन ।
‘लामो समय नेपाल बाहिर रहेकी रेविकाले किन शेयर किनेको भन्नेवारेमा विवाहित÷अविवाहित जस्तो भएपनि आफ्नो बाबु नियामक निकायको कार्यकारी प्रमुख रहेको अवस्थामा निजको छोरीले विवादित रुपमा शेयर खरिद गर्नु शंकास्पद हो’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘अतः छोरीको नाममा स्वयं ढुंगानाले खरिद गरेको अनुमान गर्न सकिन्छ ।’ अमेरिकामा रहेकी छोरीको खाताबाट कसरी शिखा अग्रवालको खातामा शेयर गयो, अहिलेसम्म खुलेको छैन ।
भित्री कारोबारका उत्प्रेरक
प्रतिवेदन अनुसार, भित्री कारोबारलाई संरक्षण गरेको भन्ने ढुंगानामाथिको अर्को आरोप समेत पुष्टि भएको छ । नेप्से परिसूचक उत्कर्षमा पुग्दै गरेका बेला धितोपत्र बोर्डले १ असार २०७८ मा गते प्रेस विज्ञप्ति प्रकाशित गरेर ५१ वटा कम्पनी जोखिमयुक्त भनी घोषणा गर्यो ।
स्वाभाविक नदेखिएको र प्रक्रिया पुरा नगरी जारी भएको विज्ञप्तिवारे जाँचबुझ समितीले अध्ययन गर्दा विज्ञप्ति जारी हुनुअघि नै ठूला कारोवारीहरुले ती कम्पनीको शेयर धमाधम बेचेर बसेको भेटियो । जेठ ३०, ३१ र असार १ गते केही निश्चित लगानीकर्ताले ती कम्पनीको शेयर ठूलोमात्रामा बेचेका थिए । प्रतिवेदनमा उल्लेखित विवरण अनुसार, भित्री सूचना चुहिएपछि नियमित कारोवारको तुलनामा ८० गुणा बढीसम्म ती कम्पनीको कारोबार भएको थियो ।
‘पहिले नै सूचना चुहावट भई भित्री कारोवार भएको स्पष्ट देखिन्छ’ प्रतिवेदनमा भनिएको छ, ‘यसै कारण ठूला लगानीकर्ताहरुले सार्वधानीपूर्वक ठूलो परिमाणमा शेयर बिक्री गरेका थिए । बोर्डले समयमै नियमनको उचित कदम चाल्न ढिलासुस्ती गरेकाले नियामक निकायप्रति जनविश्वास घट्यो ।’
ती लगानीकर्ताहरुले ५१ कम्पनीमध्ये सबैजसोको शेयर बेचेका थिए । अरु कुनैको पनि नकिनेकाले भित्री सूचना चुहिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा बोर्डका अध्यक्षले पनि आफ्नो पदीय दक्षता एवं विश्वास कायम राख्न नगरेको निष्कर्ष निकालेको छ ।
१ असार २०७८ मा बोर्डले विज्ञप्ति जारी गर्नुअघि जेठ ३१ गते बोर्डको बैठक बसेको थियो । बैठकमा केही सीमित कम्पनीको कारोवारवारे अध्ययन गर्ने निष्कर्ष भएपछि अरु कम्पनीकबारेमा कुनै निर्णय भएको थिएन । निर्णय नै नभएको अवस्थामा अध्यक्ष ढुंगानाले ५१ वटा कम्पनीहरु जोखिमयुक्त भनी विज्ञप्ति निकाल्न लगाएका थिए । त्यसपछि ती कम्पनीको बजारभाउ घट्यो र पहिले नै जानकारी पाएर विक्री गर्नेहरु जोखिममा परेनन् । प्रतिवेदनमा भनिएको छ, ‘धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पदीय दुरुपयोग गरी धितोपत्रको भित्री कारोबार गरेको र धितोपत्र व्यवसाय गरेको हुनसक्ने पर्याप्त आधार रहेको हुँदा थप अनुसन्धान गर्नुपर्ने ।’
बोर्डले हचुवाको भरमा निकालेको विज्ञप्तिका कारण अधिकांश आम लगानीकर्ताहरुलाई ठूलो क्षति परेको थियो भने केही ठुला लगानीकर्ताहरुले अस्वाभाविक लाभ लिएको भेटियो । त्यसले धितोपत्र बजारमा सुशासन कायम गर्न नसकेको भन्दै जाँचुबझ समितीले सम्बन्धित निकायले उचित कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो । बोर्डका अध्यक्ष ढुंगानाले आफ्नो कामको बचाउ गरेका थिए ।
‘लगानीकर्ता सचेत भएकाले यस्तो भएको हो । सबैमा भित्री सूचना लिक भयो भनेर शंका गर्नु हुदैन’ जाँचबुझ समितिसमक्ष बयानका क्रममा उनले भनेका थिए, ‘मन्त्रालयसँग सल्लाह र सहमतिमा ५१ को सूची निस्किएको हो ।’
प्रतिवेदनमा अजोड इन्स्योरेन्सको शेयर खरिदबिक्रीमा भएको भित्री कारोबारमाथि समेत बोर्ड अध्यक्ष ढुंगानाले ढाकछोप गरेको उल्लेख छ । १६ चैत २०७७ मा असोज इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गर्यो । तर त्यसअघि नै त्यसको भित्री सूचना चुहावट भएर चैत लागेपछि नै शेयरको भाउ बढिसकेको थियो ।
धितोपत्र बोर्डले यसवारे अध्ययन गर्न उपसमिति बनायो र उपसमितिल थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)सँग सहकार्य गर्ने प्रस्ताव अघि सार्यो । तर अध्यक्ष ढुंगानाले त्यसबारे कुनै कारवाही नगरी भित्री कारोवारमा संरक्षण गरेको प्रतिवेदनमा उल्लेख छ ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कार्यकारी निर्देशक चन्द्रसिंह साउदले आफ्नो परिवारको नाममा शेयर किनेको विवरण सार्वजनिक भएपछि चौतर्फी प्रश्न उठेको थियो । त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा अर्थशास्त्री प्रा.डा. नारायण प्रसाद पौडेल र कानूनका सहसचिव अर्जुन खड्का सदस्य रहेको जाँचबुझ समिती गठन गरेको थियो ।
ढुंगानामाथि धितोपत्र बोर्ड ऐन अनुसार तत्काल पदमुक्त गर्नु भनी समितिको सिफारिस अनुसार सरकारले उनलाई पदमुक्त ग¥यो भने साउद आफैले राजीनामा दिए । ढुंगानामाथि थप कारवाहीको सिफारिस भएपनि अहिलेसम्म सरकारले अरु कारबाही प्रक्रिया अघि बढाएको छैन । अख्तियारले भने यो विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4