+
+
पुस्तक समीक्षा :

गणेश घिमिरे : बहुआयामिक व्यक्तित्व

दिनेश भुसाल दिनेश भुसाल
२०७८ माघ ८ गते ७:५९

यादव घिमिरेको सम्पादन र संयोजनमा ‘गणेश घिमिरे स्मृतिग्रन्थ’ पुस्तक हालै सार्वजनिक भएको छ । ग्रामीण क्षेत्रमा रही सामाजिक सेवामा समर्पित एक योद्धाप्रति सम्म्ाान व्यक्त गर्दै उनकोे व्यक्तित्व र कृतित्वलाई अभिलेखीकरण गरी उनको संस्मरणलाई चिरकालपर्यन्त जीवन्त राख्नु अनि भावी पिंढीलाई समाजसेवामा लाग्न उत्प्रेरणा प्रदान गर्ने अभिप्रायले प्रकाशित स्मृतिग्रन्थमा संकलित लेख तथा रचनाहरूलाई तीन खण्डमा विभक्त गरी प्रकाशन गरिएको छ ।

स्मृतिग्रन्थको पहिलो खण्डमा गणेश घिमिरेको जन्म र कर्मसँग सम्बन्धित विविध आयाम सहित उनको संक्षिप्त जीवनी प्रकाशित गरिएको छ । यस खण्डमा घिमिरे परिवारको इतिहास, वंशावली र कुल परम्परा माथि विशद् विवेचना गरिनुका साथै स्व.गणेश घिमिरेलाई घिमिरे कुलका एक जाज्वल्यमान नक्षत्रका रूपमा चित्रित गरिएको छ ।

१९९८ साल जेठ २ गते गुल्मी जिल्ला, धुर्काेट गाउँपालिका अजमिरमा पिता छन्तलाल घिमिरे र माता जयन्ता घिमिरेको तेस्रो सन्तानको रूपमा जन्म लिएका गणेश घिमिरे २०२४ सालमा वनारस विश्वविद्यालयवाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्छन् । ग्रामीण परिवेशमा जन्मी-हुर्केर तत्कालीन समयमा पनि उच्च शिक्षा हासिल गर्नु आफैंमा प्रेरणादायी कर्म थियो ।

२०२४ सालदेखि करीब एक दशकसम्म शिक्षण सेवामा संलग्न हुँदै तत्कालीन सामाजिक आवश्यकता अनुसार सामाजिक कार्यहरूमा संलग्नता बढाउनुका साथै वामपन्थी राजनीतिका माध्यमबाट पञ्चायत विरोधी आन्दोलनमा सहभागिता जनाएका गणेश घिमिरे २०४८ पछि भने वामपन्थी आन्दोलन परित्याग गरी नेपाली कांग्रेसमा समाहित हुन पुग्छन् । पुस्तकले उनको यो वैचारिक विचलनको प्रष्ट सैद्धान्तिक आधार प्रस्तुत गर्न नसक्दा उनको राजनैतिक व्यक्तित्व भने त्यति सफल र लोभलाग्दो देखिंदैन ।

२०३३ सालमा गुल्मीबाट बसाइँसराइ गरी नवलपरासी जिल्लाको प्रगतिनगर झरेका घिमिरेले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका कारण उनको अनुकरणीय सामाजिक व्यक्तित्व भने सबैका लागि प्रेरणादायी र सधैंका लागि सम्झनलायक हुन पुग्दछ ।

कतिपय सामाजिक अगुवाहरूले आफूलाई एउटा खास विषयमा समर्पित गर्छन् र सोही कामबाट आफूलाई स्थापित गर्दै अमर कथा लेखाउन सफल हुन्छन् । कतिपय सामाजिक व्यक्तित्व भने तत्कालीन सामाजिक आवश्यकता अनुसार जुनसुकै क्षेत्रमा हात हाल्छन् । गणेश घिमिरे समाजका बहुआयामसँग खेल्न र जुध्न मन पराउँछन् । उनी विकृत राजनीतिक व्यवस्था अन्त्यको अपरिहार्यता देख्छन् र भूमिगत राजनीतिमा जोडिन्छन् । सामाजिक, राजनीतिक पछौटेपन अन्त्य गर्न जनपक्षीय उम्मेदवार भई आफैंले उपप्रधानपञ्चको जिम्मेवारी लिन पुग्छन् ।

शिक्षा समाज रूपान्तरणको सर्वोपरि तत्व रहेको तथ्यलाई आत्मसात् गर्दै विद्यालय स्थापना र सञ्चालनको जिम्मेवारी उठाउन तम्सिन्छन् । आर्थिक समृद्धिका लागि सहकारिताको अहं भूमिका रहेको तथ्यलाई अरूले भन्दा छिटो बुझ्छन् र सहकारी संस्थाको स्थापना गर्दछन् । दिगो विकास र पर्यावरणीय सन्तुलनलाई आत्मसात् गर्दै सामुदायिक वन विकासमा आफैं नेतृत्वदायी भूमिका निर्वाह गर्दछन् ।

सामुदायिक व्यवस्थापनमा स्वच्छ खानेपानी वितरण गर्न सकिन्छ भनेर देखाउने संभवतः नेपालकै अत्यन्तै थोरै रोल मोडलहरूका पनि उनी रोलमोडल नै हुन् । सडक, सिंचाइ, शिक्षा, स्वास्थ्य, पुस्तकालय, देवालय, सहकारी, वन, विपद् व्यवस्थापन र टोल विकास जुनसुकै क्षेत्रमा पनि उत्तिकै प्रभावकारी र परिणाममुखी नेतृत्व दिनसक्ने उनको क्षमतालाई पुस्तकको जीवनी खण्डले राम्रैसँग उठान गरेको देखिन्छ ।

कुल ४३६ पृष्ठ रहेको पुस्तकको दोस्रो खण्डमा ७४ वटा संस्मरणात्मक लेख समेटिएका छन् । लेखहरूमा उनका सहकर्मी र निकटस्थ व्यक्तिहरूका मनोभावनाहरू प्रतिविम्बित छन् । प्रायः सबै लेखकहरूद्वारा गणेश घिमिरेको सामाजिक योगदानको खुलेर प्रशंसा गर्नुका साथै उनको सरल र स्वाभिमानी जीवन, कठोर अनुशासन, सहयोगात्मक व्यवहार, शान्त स्वभाव र नैतिक चरित्रवान आदर्श व्यक्तित्व र त्यसले आफूमा पारेको प्रभावका बारेमा आफ्नै शैलीमा अनुभूतिजन्य संस्मरणात्मक कथा कोरिएका छन् ।

अन्तिम तेस्रो खण्डमा, शोक पुस्तिका, श्रद्धाञ्जली फोटोप|mेम, विभिन्न समयमा उहाँले प्राप्त गर्नुभएको सम्मान वा प्रशंसा पत्रहरू, स्वहस्ताक्षरित निर्णय पुस्तिका तथा डायरीका पानाहरूका छायाँ प्रतिहरूलाई समेट्दै वंशावली तथा पारिवारिक वृक्षका अतिरिक्त फोटो ग्यालरीलाई पनि स्थान दिइएको छ ।

एउटै पात्र माथि दर्जनौं व्यक्तिको दृष्टिकोण अभिव्यक्त हुँदा कतिपय सन्दर्भहरू दोहोरिने र पुस्तक अध्ययनको मिठासमा ह्रास आउनु स्वाभाविकै देखिन्छ । संस्मरणात्मक लेखहरूमा पात्रको सकारात्मक पक्षको प्रबलता अपेक्षित नै रहन्छ र प्रस्तुत स्मृतिग्रन्थ पनि यो दोषबाट मुक्त भने छैन ।

किशोरावस्थादेखि जीवनको उत्तरार्द्धसम्म नै सामाजिक राजनीतिक क्षेत्रमा निरन्तर क्रियाशील आदरणीय व्यक्तित्व गणेश घिमिरेका सामाजिक योगदानहरूलाई केन्दि्रत

गरी प्रकाशित यस पुस्तकले ऐतिहासिक व्यक्तित्वका ओजस्वी योगदानहरूलाई चिरकालपर्यन्त अविस्मरणीय बनाउनुका साथै पाठकहरूलाई सामाजिक क्षेत्रमा आकषिर्त हुन उत्प्रेरित गर्ने नै छ ।

घिमिरे वंशावली र कुल परम्पराका शोधकर्ता, गुल्मी र नवलपुरका भूगोल र सामाजिक, सांस्कृतिक अध्येता अनि समाजसेवामा लाग्न चाहने जोसुकैका लागि यो पुस्तक एउटा पठनीय सामग्री बनेको देखिन्छ ।

(समीक्षकः देवचुली नगरपालिका वडा नं. १२ का वडाध्यक्ष हुनुहुन्छ ।)

लेखकको बारेमा
दिनेश भुसाल

लेखक नेकपा एमालेका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?