
७ चैत, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ शहरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताएकी छन् । उनले उपत्यकाका नयाँ शहरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताएकी हुन् ।
मन्त्री झाँक्रीले भनिन्, ‘नयाँ शहरको भौतिक विकास योजना स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विषयमा गृहकार्य भइरहेको छ ।’
आइतबार साँझ भक्तपुरमा बसेको भौतिक विकास समितिको १६औं बैठकलाई सम्बोधन गदै उनले नयाँ शहरलाई आधुनिक र सुविधा सम्पन्न रुपमा विकास गरिने बताइन् ।
मन्त्री झाँक्रीले भनिन्, ‘हामीले नयाँ शहर बनाउने भनेको छौं, यसलाई अझ जनतासँग जोडेर कसरी लैजान सकिन्छ भन्नेबारे पनि हामी सचेत छौं । यसका लागि भौतिक योजना स्वीकृत गरेर कार्यान्वयनमा लैजान्छौं ।’
मन्त्री झाँक्रीले सरकारले रोकेर राखेको एक लाख रोपनी जग्गा समेत छिटो खुलाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् ।
सरकारले २४ वैशाख २०७४ मा काठमाडौं उपत्यकामा चार नयाँ शहर निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले एक लाख रोपनी जग्गाको कित्ताकाट रोक्का राख्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4