
९ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका कारण हुने जोखिम न्यूनीकरणका लागि सघाउन नर्वेसँग आग्रह गरेकी छन् ।
नर्वेका राजदूत टोरुन ड्रम्डालसँग मन्त्रालयमा बुधबार भएको भेटवार्तामा मन्त्री भुसालले जलवायु परिवर्तनका कारण नेपालले नयाँ-नयाँ चुनौती झेल्नु परेको बताएकी थिइन् । भेटमा मन्त्री भुसालले भनिन्, ‘जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने त्यसले जनधनको क्षति बढाउँदै लगेको छ । त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौं ।’
उनले मनाङ, इलाम, सिन्धुपाल्चोकलगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमुना काम हुने बताएकी थिइन् ।
मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरे ।
ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वेले गरेको सहयोगको चर्चा गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उनले बताएकी थिइन् ।
भेटमा राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउँदै नवीकरणीय ऊर्जा र जलविद्युतको विकासमा सहकार्य गर्ने बताएकी थिइन् । उनले जलविद्युत्को क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै ९ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी गराएकी थिइन् । राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो व्यक्त गरेकी थिइन् ।
प्रतिक्रिया 4