२४ चैत, पोखरा । खल्तीमा भएको एक रुपैयाँको सिक्का हराएका बालक बाटोमा रोइरहेका रहेछन् । एक व्यक्ति आएर भने, ‘तिम्रो एक रुपैयाँ हराएको रहेछ, म दिन्छु नरोऊ ।’
एक रुपैयाँ पाएपछि बालक झन् बेस्सरी रुन थाल्यो । उसलाई लागेछ, त्यो १ रुपैयाँ नहराएको भए अहिले दुई रुपैयाँ हुन्थ्यो । अर्को मान्छेलाई पनि उसले पैसा हराएको कुरा भन्यो र एक रुपैयाँ थाप्यो । फेरि पनि उसलाई लागिरह्यो– अघि १ रुपैयाँ नहराएको भए अहिले अझै धेरै हुन्थ्यो ।
यो किस्सा सुनेका मानबहादुर जिसीले पोखरा महानगरपालिकाको मेयर हुँदै गर्दा ‘जनआकांक्षा पूरा गर्ने गरी कायापलटै गर्न त नसके पनि विकासको जग बसाल्छु, जनताका आवश्यकतासँग जोडिएर काम गर्छु’ भन्ने सोचेका थिए रे !
जनतासँग भिजेका, सरल छवि बनाएका जिसीले चुनाव जितेपछि धेरै पोखरेलीको एउटै भनाइ थियो, ‘बुढाले विकास गर्न नसके पनि बद्नाम हुने काम चाहिं गर्दैनन् ।’
मस्तिष्कघातको उपचारपछि घरमा आराम गरिरहेका मेयर जिसीले जनताको अभिमत लिएर महानगर पस्दै गर्दाको योजना र पोखराको वर्तमान अवस्थाबारे अनलाइनखबरसँग छोटकरीमा कुरा गरे ।
‘काठमाडौंमा उपचारपछि असोज १९ गते पोखरा फर्किएर २४ गतेबाट महानगर जान थालेको थिएँ, कोरोना संक्रमण देखिइगयो’ उनले भने, ‘मस्तिष्कघातले मर्यो भनेको मान्छे बाँचेर आएँ । केपी ओलीको कार्यकर्ता हुँ, कोरोनालाई पनि आत्मविश्वासले जितें । दुई पटक किड्नी फेरेर ओली बाँचे, म दुई पटक मृत्युको मुखमा पुगेर फर्किएँ ।’
पोखरा–१२ मा पर्ने ढिकालेथरमा मेयर जिसीको घर छ । त्यहीं छोरीज्वाइँले हेरचाह गरिरहेका छन् । आफूलाई फेरि काममा फर्किएर देखाउने हुटहुटीले सताएको मेयर जिसीले बताए ।
उनको स्वास्थ्यमा पनि धेरै सुधार भएको छ । बैसाखी र एक जनाको सहारामा घर वरिपरि घुम्न सक्छन् । हराएको धेरै स्मृति फर्किएको छ । थेरापी जारी छ ।
पोखरा बनाउने हुटहुटी लिएर महानगरको नेतृत्व गरे पनि सोचेजस्तो काम गर्न नसकेको जिसीलाई लागिरहन्छ । बहुमत भएर पनि काम गर्न सकिएन भन्ने उनलाई लाग्छ ।
‘ल आँट्नुस् भनेर काँध थाप्ने जनप्रतिनिधि पनि पाइनँ, एक्लैले केही नहुने रहेछ’ मेयर जिसीले भने, ‘त्यसमाथि, दक्ष कर्मचारी भएनन्, भएकालाई पनि परिचालन गर्न सकस भयो । लामो समय उनीहरूले चलाइरहेको महानगर जनप्रतिनिधिका निम्ति फलामको चिउरा बन्यो ।’
घोषणापत्र कार्यान्वयन गराउन र सफल बनाउनेमा पार्टी नेताहरूले पनि सहयोग नगरेको उनको दुःखेसो छ ।
‘क्रूर भएर लाग्ने, कसैको मन दुखाएर काम गर्ने मेरो स्वभाव भएन’ मेयर जिसी भन्छन्, ‘त्यसो हुँदा उल्टै अप्ठेरो पार्ने काम भयो ।’
र पनि, पोखरामा विकासको जग बसाएको उनी बताउँछन् । फेवाताल सम्बन्धी निर्णय गर्दा चाहिं ‘सर्प पनि मर्ने, लौरो पनि नभाँचिने’ नीति लिएको उनले बताए । फेवातालको नयाँ मापदण्डले कसैलाई मर्का नपार्ने र सबैका लागि न्यायोचित हुने उनको भनाइ छ ।
वर्षौंदेखि राजनीतिक कालकूट विष बनाइएको फेवाताललाई आफूले पिएको उनले बताए । ‘म नलागेको भए फेवाताल सम्बन्धी न प्रतिवेदन आउँथ्यो, न मापदण्ड तोकिन्थ्यो’ मेयर जिसीले भने, ‘अब संघीय सरकारले मुआब्जाको व्यवस्था गर्नुपर्छ ।’
सुरुको वर्ष बुझ्नमै लागेको, त्यसपछि योजना बनाउँदै गर्दा दुई वर्ष कोरोनाले खाइदिएको र अन्तिम वर्षमा आफैं बिरामी परेर धेरै काम अधुरो रहेको मेयर जिसीले बताए ।
‘सफा मनले पोखराको भलो गर्छु भनेर लाग्दा आलोचित गराउने, काम भाँड्ने जस्ता क्रियाकलाप आसपासकै मान्छेहरूबाटै भए’ उनले भने, ‘प्राथमिकीकरण गरेर लागौं भनेकै हो, छलफल गरेकै हो, विज्ञहरू बोलाएकै हो । तर, एउटाले आँटेर मात्र नहुँदोरहेछ ।’
बाहिरबाट नदेखिए पनि आफ्नो कार्यकालमा ल्याण्डफिल साइट र बसपार्कको काम अगाडि बढेको, कानुनहरू बनाउन र वडाबाट स्मार्ट सेवा सुरु गर्न सफल भएको उनको दाबी छ ।
‘अब जो आउँछ, उसका लागि पोखरामा काम गर्न गाह्रो हुँदैन’, मेयर जिसीले भने ।
प्रतिक्रिया 4