
२१ वैशाख, रोल्पा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा रोल्पा–रुकुममा नेकपा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा छ ।
सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेस–माओवादीबीच तालमेल भएन ।
बरु कांग्रेसले माओवादीविरुद्ध नेकपा एमालेसँग गठबन्धन गरेको छ । छिमेकी जिल्ला दाङ र प्यूठानमा कांग्रेस–माओवादीबीच तालमेल भए पनि रोल्पा र रुकुममा भने दुई पार्टीका नेताहरुको मन मिल्न सकेन ।
रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका कुल १९ स्थानीय तहमध्ये १२ स्थानीय तहमा माओवादीबाहेकका दलको चुनावी मोर्चा बनेको छ । ७ वटामा एमाले– कांग्रेस र माओवादी अलग अलग प्रतिस्पर्धामा छन् ।
सबैजसो स्थानीय तहमा माओवादी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ भने एउटा स्थानीय तहमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको छ ।
रोल्पा र रुकुम दुबैमा माओवादीपछिको शक्ति नेपाली कांग्रेस र नेकपा एमाले हो । नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको प्रभाव भने यहाँ कम छ ।

रुकुम पश्चिमका ६ मध्ये चार स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमालेबीच तालमेल छ । चारवटै स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख पद लिएर तालमेल गरेका छन् ।
बाँफीकोट र त्रिवेणी गाउँपालिकाका भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अलग अलग उम्मेदवारी दिएका छन् ।
रुकुम पश्चिममा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेलका लागि छलफल भएको थियो । कांग्रेसले ६ स्थानीय तहमध्ये तीन वटाको प्रमुख र तीन वटाको उपप्रमुख माग गरेको थियो । यद्यपि उसले आफ्नो बटम लाइन भने दुई पालिका प्रमुख, तीन उपप्रमुख र जिल्ला समन्वय समितिको संयोजक पाउने गरी सहमति गर्न सकिने कांग्रेसको योजना थियो ।
तर नेकपा माओवादी केन्द्रले तीन वटा पालिकाको उपप्रमुख/उपाध्यक्षबाहेक अरु पद दिन नसकिने भनेपछि सहमति नभएको नेपाली कांग्रेस रुकुम पश्चिमका नेता खड्कबहादुर डाँगीले जानकारी दिए ।
‘यसका लागि ६ पटकसम्म बैठक बसियो, कांग्रेसबाट नेता पूर्णवहादुर खड्का र माओवादी केन्द्रबाट जनार्दन शर्माबीच पनि छलफल भयो, तर सहमति हुन सकेन’ उनले भने ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा नेकपा मओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।
रुकुमपूर्वका तीनमध्ये सिस्ने र भूमे गाउँपालिकामा नेपाली कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरेको छ । दुबैमा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षको उम्मेदवार उठाएका छन् ।
पुथा उत्तरगंगामा भने तीनवटै पार्टी एक्लाएक्लै प्रतिस्पर्धामा छन् । रुकुम पूर्वमा नेपाली कांग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष तथा जिल्ला समन्वय समितिको संयोजकमा दाबी गरेको थियो ।
माओवादी केन्द्रले दिन नमानेका कारण सहमति हुन नसकेको कांग्रेसका पूर्व जिल्ला सभापति केशरमान रोकाले बताए । २०७४ सालको स्थानीय तह निर्वाचनमा रुकुम पूर्वका सबै स्थानीय तह नेकपा माओवादी केन्द्रले जितेको थियो ।

रोल्पाका १० मध्ये ६ स्थानीय तहमा माओवादीबाहेकका अरु दलहरुबीच तालमेल भएको छ । माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका एमालेले अध्यक्ष र कांग्रेसले उपाध्यक्षको उम्मेदवारी दिएका छन् ।
परिवर्तन गाउँपालिकामा एमाले–कांग्रेस–एकीकृत समाजवादी–स्वतन्त्र उमेदवारबीच तालमेल भएको छ । अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार छन् ।
सुनिलस्मृति गाउँपालिकामा कांग्रेसले राष्ट्रिय जनमोर्चा र राप्रपासँग तालमेल गरेको छ । राप्रपा र राष्ट्रिय जनमोर्चाले कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई समर्थन गरेका छन् ।
सुनछहरी गाउँपालिकामा स्वतन्त्र उमेदवार पुष्टमन घर्तीमगरलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन छ । पुष्टमन विप्लव नेतृत्वको नेकपाका पूर्व विशेष जिल्ला सेक्रेटरी हुन् । सो गठवन्धनबाट गाउँपालिका उपाध्यक्षमा कांग्रेसका कोमबहादुर वुढामगर उम्मेदवार छन् ।
थवाङ गाउँपालिकामा नेपाली कांग्रेस–नेकपा एमाले–स्वतन्त्र उमेदवारले तालमेल गरेका छन् । थवाङमा स्वतन्त्र उम्मेदवारहरु अध्यक्षमा दर्जित रोकामगर र उपाध्यक्षमा रायवहादुर पुनमगरलाई कांग्रेस, एमालेलगयतका दलले समर्थन गरेका छन् ।
जिल्लाका वाँकी ४ स्थानीय तहमा रोल्पा नगरपालिका, लुंग्री गाउँपालिका, गंगादेव गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले अलग अलग उम्मेदवारी दिएका छन् ।
रुन्टीगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी वीच तालमेल भएको छ । त्यस्तै नेकपा एमाले र नेपाली कांग्रेस एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।
सत्तारुढ दलबीच भागवण्डाको छलफल हुँदा रोल्पामा नेपाली कांग्रेसले ५० प्रतिशत स्थानीय तहको नेतृत्व दावी गरेको थियो ।
५ प्रमुख/अध्यक्ष र ५ उपप्रमुख/उपाध्यक्ष र ७२ मध्ये ३६ वडाको नेतृत्व दावी गरे पनि कांग्रेसलाई माओवादीले २ स्थानीय तहको प्रमुख र २ उपप्रमुखको उम्मेदवार मात्र छाड्न सकिने भनेपछि सहमति नभएको नेपाली कांग्रेस रोल्पाका सचिव शेरवहादुर थापाले बताए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पाका १० स्थानीय तह मध्ये सात स्थानीय तह नेकपा माओवादी केन्द्र, दुई स्थानीय तह नेकपा एमाले र दुई स्थानीय तह नेपाली कांग्रेसले जितेका थिए ।
रोल्पा नगरपालिका, सुनीलस्मृति गाउँपालिका, थवाङ, गाउँपालिका, सुनछहरी गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेको थियो ।
रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका नेकपा एमाले र लुंग्री गाउँपालिका नेपाली कांग्रेसले जितेको थियो ।
रोल्पा र रुकुम नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्र हो । यहाँ माओवादी केन्द्रले अरु दलमाथि अत्याचार र दमन गर्ने गरेको कांग्रेसलगायतका दलका नेताहरुको भनाइ छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खड्क डाँगी रोल्पा–रुकुममा कांग्रेसले माओवादी केन्द्रको क्रुर शासन भोगिरहेको टिप्पणी गर्छन् ।
२०७४ को स्थानीय तह निर्वाचनपछि रुकुम पश्चिममा मात्रै कांग्रेसका ४८ जनालाई माओवादीले झुट्टा मुद्धामा फसाइएको उनको दावी छ । ‘स्थानीय कांग्रेस कार्यकर्ता र जनताको दबावमा माओवादीसँग गठवन्धन हुन सकेन’ उनले भने, ‘एमालेसँग लोकतान्त्रिक आचरण र व्यवहार मिल्ने भएकाले केन्द्रको निर्णय विपरीत रुकुम पश्चिममा गठबन्धन भएको हो ।’
नेकपा माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र घर्तीमगर कांग्रेसले आफ्नो हैसियत भन्दा बढी माग गरेका कारण गठबन्धन हुन नसकेको बताउँछन् । ‘हामी सम्मानजनक सहभागिताको पक्षमा थियौं उहाँहरुले अनपेक्षित दाबी गर्नुभयो’ घर्तीमगरले भने ।
कांग्रेसले सत्ता गठवन्धन वाहिर गएर गठबन्धन गर्नु गलत भएको उनले बताए । ‘कांग्रेसले गठबन्धन गरे पनि रोल्पामा नेकपा माओवादी केन्द्रको अवस्था सुदृढ भएकाले धेरै स्थानीय तह जित्छौं’ उनले भने ।
रोल्पा–रुकुममा गठबन्धन नहुनुमा भागवण्डा मात्रै कारक नभएको नेपाली कांग्रेसका पूर्वसांसद लेखनाथ आचार्य बताउँछन् । ‘रोल्पा रुकुममा माओवादी र कांग्रेस वीच द्वन्द्वकालीन तिक्तता रहेकाले पनि दुई दलबीच सहकार्य सहज छैन’ आचार्यले भने ।
यस्तो तिक्तता अरु बेला सामान्य भएपनि चुनावका बेलामा बढी प्रकट हुने उनले बताए । सशस्त्र युद्धको समयमा माओवादीको आक्रमणमा कांग्रेसका १२३ जना कार्यकर्ता गुमाएको आचार्य बताउँछन् ।
लोकतान्त्रिक आचार र व्यवहारमा निकट भएकाले कांग्रेस–एमालेको गठवन्धन भएको नेकपा एमाले रुकुम पूर्वका नेता लीलामणि गौतमको भनाइ छ ।
प्रतिक्रिया 4