
२ जेठ, काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले २५६६ औं बुद्ध जयन्तीको अवसर पारेर आज काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
समितिले सोमबार बिहान ललितपुरको बुलु, चापागाउँदेखि ठेचोसम्म शान्ति र्याली निकालेको छ । साथै दिउँसो सत्सङ्ग कार्यक्रमको आयोजना गरेको छ ।
सत्संग कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति केन्द्रिय प्रभारी महात्मा चमेले बाइजीले पञ्चशिलको पालना गरेमा चित्तबृद्धि शुद्ध हुने र यसले नै मानिसलाई महान बनाउने बताइन् ।
अहिले सबैले शान्ति खोजिरहेको तर शान्ति पाउने बाटो सही हुनुपर्नेमा पनि उनले जोड दिइन्। महापुरुषहरुको वाणीलाई आत्मासाथ गरे जन्म मरणको चक्रमा पर्नु नपर्ने कुरालाई जोड दिँदै यसका लागि सबैलाई सत्गुरुको साथमा जान आग्रह गरिन् ।
कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति नारायणी अञ्चल प्रमुख पुनित बाइजीले तत्वलाई वोध गरेको कारण नै बुद्धले बुद्धत्व प्राप्त गरेको प्रसङको चर्चा गरिन् । बुद्धमा मात्रै नभएर त्यो बुद्धत्व सबैमा भएको तर त्यसलाई सबैले बोध गर्नुपर्नेमा उनले जोड दिइन् । सत्सङ्ग कार्यक्रममा पुनित बाईजीले सम्पत्तिले कसैलाई सुख नदिने भएकाले मनको शान्ति खोज्नुपर्ने र यसका लागि मनलाई स्थिर बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा विभिन्न ठाँउबाट आएका बाईजी, भन्तेहरुको सत्संगको साथै भजन, नृत्य, नाटक पनि देखाइएको थियो । नेपाल मानव धर्म सेवा समितिले मानव कल्याणको क्षेत्रमा विगत ५ दशकदेखि सामाजिक, आध्यामिक गतिविधिहरु गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4