
२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीको विषयमा उछालिएको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको प्रचण्डको भनाइ छ ।
आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ । नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो ।’
प्रचण्डले अगाडि भने, ‘त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ । यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ ।’
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । संसदमा राजीनामा दिएको घोषणा गर्दै उनले बजेट प्रकरणमा छानविनका लागि बनाइएको संसदीय समितिलाई सहयोग गर्ने बताएका थिए ।
बजेट प्रकरण छानविनमा सहयोग गर्ने भन्दै राजीनामा दिएर शर्माले नैतिकता प्रदर्शन गरेको बताए । यो राम्रो राजनीतिक संस्कारको प्रक्रिया भएको पनि उनले बताए । माओवादी अध्यक्ष प्रचण्डले भने, ‘छानबिनको लागि तयार छु भन्ने घोषणा गर्नुभएको छ । एउटा राजनीतिक कल्चर विकास गर्ने प्रक्रियाको कडी हो ।’
यसलाई कतिपयले माओवादीलाई अपमानित गर्न प्रयोग गर्ने गरेको भन्दै प्रचण्डले यसलाई नयाँ तरिकाबाट लान जरुरी रहेको बताए ।
प्रतिक्रिया 4