
२७ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट बहुमतले पारित भएको छ ।
आगामी आर्थिक वर्षका लागी प्रदेश सरकारले ल्याएको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट सोमबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।
गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।
बजेट माथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै पटक पटक संसद अवरोध गर्दै आएको थियो ।
अन्ततः सरकार र प्रमुख प्रतिपक्षी एमालेबीच भएको चार बुँदे सहमति अनुसार झण्डै ६ अर्ब बराबरको बजेट संशोधन गर्ने सहमती भएपछि बजेट माथी छलफल शुरु भएको थियो ।
अर्थमन्त्री विष्टले प्रदेश सभामा पेश गरेको कर्णाली प्रदेश आर्थिक विधेक २०७९ माथीको छलफलका क्रममा बोल्दै प्रदेश सभा सदस्य दल रावलले प्रदेशको आन्तरिक आय बढाउनु पर्नेमा जोड दिए ।
पाँच वर्षमा प्रदेशको आन्तरिक आए १ अर्व समेत नउठेको भन्दै उनले करको दायरा बढाउनु पर्ने बताए । ‘आर्थिक सुशासन कायम गरौं, करको दायरा बढाउँ’ उनले भने ।
कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नहरूमाथि जवाफ दिदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने बारेमा सांसदले दिएको सुझाव महत्वपूर्ण रहेको बताए । उनले सरकार राजश्व वृद्धि गर्न लागिपर्ने बताए ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको तर्फबाट कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ सहित समग्र बजेट पारित गरिओस् भनी मुख्यमन्त्री जीवनबहादुर शाहीले सदनमा प्रस्ताव पेश गरेका थिए ।
सभामुख राजबहादुर शाहीले बहुमतले बजेट पारित भएको घोषणा गरेका थिए ।
प्रतिक्रिया 4