
२१ भदौ, काठमाडौं । पाँच वर्षअघिको चुनावमा मुख्यमन्त्री पदको भाउ अलिक बढ्तै थियो । प्रतिनिधिसभा ताक्दै आएका नेताहरू प्रदेशमा जान तयार देखिन्थे । संघीय प्रणालीको पहिलो चुनाव २०७४ सालमा हुनुको बेग्लै रौनक थियो ।
कतिपय शीर्ष तहकै नेताहरू प्रदेश सभामा उम्मेदवार बने । एमालेका पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल चुनाव जितेर मुख्यमन्त्री बने । कांग्रेसबाट केन्द्रकै दाबी गरेका प्रदीप पौडेल, गोविन्द भट्टराई, जीवनबहादुर शाही, वीरेन्द्र कनौडियालगायत नेता प्रदेशमा जान तयार भएका थिए ।
तत्कालीन समयमा केन्द्रीय नेताहरूकै हानथाप हुने मुख्यमन्त्रीको पदमा यसपटक कमैले रुचि दिएका छन् । बरु प्रतिनिधि सभा सदस्यको लागि तँछाडमछाड छ । तर, मुख्यमन्त्रीको दाबी गर्ने गरी प्रदेशमा प्रतिस्पर्धाको अठोट केन्द्रीय तहका कुनै नेताले गरिसकेका छैनन् ।
प्रदेश र जिल्ला तहका आकांक्षी नेताहरू खुलेर बोल्न हिच्किचाउँछन् । ‘केन्द्रकै लागि दाबी गर्नु त ठिकै हो नि ! प्रदेश कमजोर भएको पाँच वर्षमा देखेका छौं’ सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘केन्द्रकै शक्ति देखेर प्रदेशमा अनिच्छा देखाउनुभएको होला ।’
नेताहरूले ढुक्कसँग मुख खोल्न नसक्नुमा गठबन्धन पनि हो । तालमेलपश्चात् कहाँ के हुने र निर्वाचनलगत्तै हुने सत्ता–समीकरणले समेत प्रभाव पार्ने हुनाले निर्धक्क भन्न सक्दैनन् ।
प्रदेश-१ मा मुख खोल्ने कोही छैनन्
प्रदेश–१ को मुख्यमन्त्री हुने गरी कांग्रेस पार्टीबाट उद्धव थापाको नाम चर्चामा थियो । प्रदेश–१ का सभापति समेत रहेका उनी उक्त पदको बलियो दाबेदार हुने आकलन समेत थियो । तर, उनले प्रतिनिधि र प्रदेश दुवै तहमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।
‘प्रतिनिधिसभा र प्रदेश सभा कतै पनि मैले उम्मेदवारी दिन्नँ’ थापाले अनलाइनखबरसँग भने, ‘तालमेलका उम्मेदवारलाई जिताउने मेरो जिम्मेवारी हुन्छ । आफू चाहिं लड्दिनँ ।’ मुख्यमन्त्रीको सुनिश्चित गर्ने गरी प्रदेश सभाको उम्मेदवार हुने चर्चामा सत्यता नरहेको प्रष्ट्याए । झापाका पूर्व सभापति थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट छन् ।
मुख्यमन्त्रीको लागि प्रदेश–१ मा चर्चामा रहेका अर्का व्यक्ति हुन्, गुरुराज घिमिरे । मोरङ–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा घिमिरेको नाम सिफारिसमा परेको छ । घिमिरे पनि प्रदेश सभाको उम्मेदवारप्रति अनिच्छुक छन् । मुख्यमन्त्रीमा सुनिश्चित हुने शर्तमा मात्रै प्रदेश सभामा उठ्न सक्ने उनले बताए ।
‘मोरङ–४ मा कांग्रेसबाट सक्षम उम्मेदवार म नै हो । अरूले टिकट पाए जित्न सक्ने स्थिति पनि छैन ।’ घिमिरेले भने, ‘कांग्रेसको मुख्यमन्त्री हुने अवस्थाको आधार पार्टीले दिनुपर्छ ।’ पूर्व केन्द्रीय सदस्य घिमिरे गत महाधिवेशनमा प्रदेश–१ को सभापतिमा पराजित भएका थिए । घिमिरे पार्टीमा नेता शेखर कोइराला पक्षधर हुन् ।
शेखर पक्षबाट नै प्रदेश–१ को मुख्यमन्त्रीमा चर्चा भएका अर्का व्यक्ति हुन्– राजीव कोइराला । प्रदेश–१ को संसदीय दलका नेता समेत रहेका कोइराला सुनसरी–२ बाट प्रतिनिधिसभामा आकांक्षी छन् । ‘प्रदेश सरकार पनि हेरियो । साथीहरू केन्द्रमै जानुपर्छ भन्छन्’, कोइरालाले भने ।
मोरङ–४ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिसमा परेका भीम पराजुलीले पनि संघीय संसद नै ताकेका छन् । विराटनगरका पूर्व मेयर समेत रहेका उनले प्रदेशमा रुचि राखेका छैनन् । मोरङका एक नेताका अनुसार केन्द्रीय सदस्य अमृत अर्याललाई कांग्रेसबाट मुख्यमन्त्रीको प्रत्यासी बनाउने गरी चर्चा समेत सुरु भएको छ ।
‘उहाँको क्षेत्र मोरङ–५ मा अघिल्लो पटक माओवादीले जितेको हो । त्यो क्षेत्र माओवादीलाई छोड्नु पर्यो भने उहाँ मुख्यमन्त्रीको लागि उपयुक्त व्यक्ति हो’ ती नेता भन्छन्, ‘सभापति देउवा निकट रहेकाले प्रधानमन्त्रीले भनेपछि उहाँले मान्नु पनि हुन्छ ।’
मधेशमा प्रदेश सभापति यादव आकांक्षी
मधेश प्रदेशका लागि मुख्यमन्त्रीका आकांक्षीको पङ्तिमा सभापति कृष्णप्रसाद यादव छन् । यादवलाई रौतहट क्षेत्र १ ‘ख’ बाट सर्वसम्मत प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
‘कांग्रेसले मधेश प्रदेशमा बहुमत ल्याउँछ । बहुमत आएपछि त मेरो मुख्यमन्त्रीमा हुन्छ नि त’ यादवले भने । यादव पार्टी सभापति देउवा निकट हुन् । संस्थापन पक्षका यादवले गत महाधिवेशनमा प्रदेश सभापतिमा जितेका थिए ।
मधेश प्रदेशमा मुख्यमन्त्रीको अर्का आकांक्षीमा रामसरोज यादव पनि छन् । नेता विमलेन्द्र निधि निकट यादव गत निर्वाचनमा धनुषा–३ (क) बाट निर्वाचित भएका थिए । धनुषा–३ नेता निधिको क्षेत्र समेत हो । मधेश प्रदेशमा उनी संसदीय दलको नेता समेत छन् ।
इन्द्र बानियाँको एकल दाबी
वागमती प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्रीको दाबी गर्नेमा एक्लो व्यक्ति रहेका छन्, इन्द्र बानियाँ । सभापति शेरबहादुर देउवा निकट बानियाँ वागमती प्रदेशका संसदीय दलका नेता समेत हुन् । गत महाधिवेशनबाट उनी प्रदेश सभापतिमा निर्वाचित भएका थिए ।
‘वागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीको दाबी गरी प्रदेश दोस्रोपटक उठ्न लाग्नुभएको छ’ बानियाँ निकट नेता भन्छन्, ‘प्रदेश सभापति, प्रधानमन्त्रीको विश्वासपात्र र संसदीय दलको नेता भइसकेकाले उहाँसँग टक्कर लिन अरूले सक्दैनन् ।’ मकवानपुर–२ मा कांग्रेस उम्मेदवार पराजित हुँदा बानियाँले २ (ख) बाट अघिल्लोपटक जित निकालेका थिए ।
गण्डकीमा केन्द्रीय नेतालाई व्यवस्थापन गर्ने पद
गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्रीको दाबी गर्ने गरी हालसम्म कसैले मुख खोलेका छैनन् । संघमा दाबीकर्ता धेरै भएकाले केन्द्रीय नेताहरूलाई मुख्यमन्त्री हुने आश्वासनसहित प्रदेशमा उठाउने चर्चा समेत गण्डकीमा सुरु भएको छ । केन्द्रीय सदस्य शंकर भण्डारी र पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी समेतको नाम चर्चामा आएका छन् ।
गण्डकीमा टिकटको दाबी गर्ने आकांक्षी धेरै केन्द्रीय नेता भएकाले पार्टीलाई व्यवस्थापनको चुनौती छ । तनहुँ–१ बाट रामचन्द्र पौडेलसहित चार जनाको दाबी संघका लागि छ । पौडेलकै दाबी पहिलो नम्बरमा रहेकाले केन्द्रीय सदस्य शंकर भण्डारीलाई संसदीय दलको नेता बनाउने गरी प्रदेशमा पठाउने विषय समेत उठेको छ ।
मुख्यमन्त्रीमा रुचि देखाएका गण्डकीमा मुख्य गरी दुई नेता छन् । यसमा पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र पूर्व आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काको रुचि देखिन्छ । ‘मेरो नाम प्रतिनिधिसभाकै लागि पठाइएको छ ।
पार्टीले प्रदेशमा आवश्यकता देख्यो भने निर्णय मान्नुपर्छ’, जोशीले अनलाइनखबरसँग भने । मुख्यमन्त्रीमा गण्डकीमा आकांक्षी अन्यमा प्रदेश सभापति शुक्रराज शर्मा, प्रदेश सरकारका मन्त्री विन्दु थापा तथा बाग्लुङका नेता मणिभद्र शर्मालगायत छन् ।
लुम्बिनी प्रदेश सभापति पुन कि कनौडिया ?
लुम्बिनीमा मुख्यमन्त्रीको आकांक्षीको पहिलो सूचीमा प्रदेश सभापति अमरसिंह पुन रहेका छन् । रोल्पाबाट प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ सिफारिसमा परेका पुनलाई संघको उम्मेदवार हुन उनको जिल्लामा कठिन छ । रोल्पामा तालमेल गर्दा प्रतिनिधिसभा वा प्रदेश सभा भएमा दुइटै कांग्रेसले दाबी गरेको छ । ‘प्रदेशको सभापति हुँ । जितेर आएँ भने संसदीय दलको नेतामा मेरो दाबी त स्वाभाविक रहन्छ’, पुनले भने । पुन नेता शेखर कोइराला पक्षका हुन् ।
लुम्बिनीमै देउवा पक्षबाट मुख्यमन्त्रीको प्रत्यासी हुने गरी चर्चामा रहेका अन्यमा देवेन्द्रराज कँडेल, भरत शाह र वीरेन्द्र कनौडिया छन् । तीनै जनाको हरसम्भव केन्द्रमा आउने चाहना छ । सभापति देउवाले मुख्यमन्त्री हुने गरी प्रदेशमा प्रतिस्पर्धा गर्न निर्देशन दिए उनीहरू तयार हुने प्रदेशका नेताहरू बताउँछन् ।
गत निर्वाचनमा रूपन्देहीबाट निर्वाचित शाहले भने, ‘२०७४ मा वाम गठबन्धन हुँदा त जितेको हुँ । अहिले त झन् धेरै मतले जित्छु । प्रदेशमा म झर्दिनँ ।’ प्रदेश संसदमा हाल संसदीय दलको नेता रहेका कनौडिया मुख्यमन्त्रीको आकांक्षी छन् ।
कर्णालीमा माओवादीकै डर
तालमेलका कारण संघको निर्वाचनमा उम्मेदवार हुन पाउने नेताको संख्या कर्णालीमा कम हुने अवस्था छ । अघिल्लो पटक माओवादीले जितेका स्थान सोही दललाई छोड्नुपर्यो भने २०७४ मा उठेका उम्मेदवारले प्रदेशमा झर्नुपर्ने हुन्छ । गत निर्वाचनमा जाजरकोटमा माओवादी केन्द्रका उम्मेदवार शक्ति बस्नेतसँग पराजित कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाह केन्द्रका लागि प्रतिस्पर्धा गर्न चाहन्छन् ।
माओवादीलाई मनाउन शाहलाई चुनौती छ । माओवादीले शाहका लागि बाटो खाली नगरिदिएपछि प्रदेशमा लड्नुको विकल्प उनीसँग हुनेछ । प्रतिनिधिसभाका लागि उम्मेदवार हुन नपाए उनी संसदीय दलको नेता हुने गरी प्रदेशमा प्रतिस्पर्धा गर्न तयार हुने कर्णालीका नेताहरू बताउँछन् ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले भने यसपटक केन्द्रमै रुचि देखाएका छन् । अघिल्लोपटक हुम्लाबाट शाही प्रदेश सभामा विजयी भएका थिए । प्रतिनिधिसभामा यहाँ माओवादी केन्द्र विजयी भएको थियो ।
जुम्लाका ललितजंग शाही समेत कर्णालीको संसदीय दलको आकांक्षी हुन् । प्रदेश सभापति समेत रहेका उनलाई संघको उम्मेदवार हुन कठिनाइ छ । जुम्लामा यसअघि माओवादीले जितेकाले उनका लागि उम्मेदवार हुन सहज नभएको हो । उनी प्रदेश सभाको प्रत्यक्षतर्फ सिफारिस भएका छन् । संघमा उम्मेदवार हुन नपाउने अवस्थाले उनी प्रदेशमा ताकेका छन् ।
संस्थापनइतर कमजोर रहेकाले यस प्रदेशमा उक्त समूहबाट मुख्यमन्त्रीको दाबी गर्ने गरी अघि सर्ने व्यक्ति कोही नभएको कर्णालीका नेताहरू बताउँछन् । ‘गठबन्धनबाट कहाँ कसले उम्मेदवार हुने निश्चित भएकै छैन ।
माओवादीले २०७४ सालमा जितेको स्थान पायो भने प्रदेशमा कांग्रेसका उम्मेदवार लड्नुपर्छ’ नेता हृदयराम थानी भन्छन्, ‘अहिले नै दाबी गर्न कसरी मिल्यो र ? चुनाव पछि जिते अनुसारको दाबी हुने होला ।’
सुदूरपश्चिममा रावलको चर्चा
सुदूरपश्चिममा भावी मुख्यमन्त्रीमा कांग्रेसबाट दाबी गर्ने गरी अघि बढेका रणबहादुर रावल छन् । अघिल्लो पटक कैलाली १ (ख) बाट रावल विजयी भएका थिए । यसपटक पनि उनी प्रदेश सभातर्फ सिफारिसमा परेका छन् । प्रदेशमा संसदीय दलमा आफ्नो दाबी स्वाभाविक रहने रावलले बताए । ‘केन्द्रमा जाने मेरो इच्छा छैन । फेरि पनि प्रदेशमा दोहोरिन खोजेको छु’, रावलले अनलाइनखबरसँग भने ।
प्रदेश सभापति वीरबहादुर बलायर प्रदेशमा अनिच्छुक देखिएपछि अन्यका लागि बाटो खुलेको छ । डोटीमा गठबन्धनसँग तालमेल नगरी एक्लै लड्ने निर्णय समेत गरेको छ ।
कञ्चनपुर–१ बाट दिवानसिंह विष्टको नाम प्रतिनिधिसभाका लागि सिफारिस भएको छ ।
यस निर्वाचन क्षेत्रमा अघिल्लो पटक माओवादी केन्द्रबाट बिना मगर विजयी भएकी थिइन् । माओवादीबाट नै यस क्षेत्रमा प्रतिस्पर्धा हुने अवस्था रहे विष्ट प्रदेशमा झर्ने कञ्चनपुरका नेताहरू बताउँछन् । उनी निर्वाचित भए भने नेता शेखर पक्षबाट सुदूरपश्चिममा उनको दाबी संसदीय दलको नेतामा हुनेछ ।
प्रतिक्रिया 4