+
+
ब्लग :

‘नो’ भनेको ‘नो’ हो, पूरै प्रतिकार हो

सलन बस्नेत सलन बस्नेत
२०७९ भदौ २६ गते १८:१६

भनिन्छ, आदिम मानव युग मातृसत्तात्मक थियो। जतिबेला परिवार र निजी सम्पत्तिको अवधारणा विकास भइसकेको थिएन, त्यतिबेला यौन सम्बन्ध हाडनातामै पनि र सामूहिक हुन्थ्यो। जसले गर्दा बाबुको पहिचानमा समस्या थियो।

नवजात शिशुको पहिचान केवल आमासँग जोडिएको हुन्थ्यो। शिशुमाथिको हक आमासँग हुँदा केही मातृसत्तात्मक देखिए पनि सामूहिक यौन र असीमित सन्तानोत्पादनले गर्दा महिलाहरू त्यतिबेला पनि यौनजन्य हिंसाबाट टाढा थिएनन् भनेर सहजै अनुमान लगाउन सकिन्छ।

जब समाज दास युगमा प्रवेश गर्‍यो– विवाह संस्थामार्फत परिवार र निजी सम्पत्तिको अवधारणा सुरु भयो। समाजमा अनेक खाले वर्ग र वर्गीय विभेदहरूको पनि जन्म हुन थाल्यो। फलस्वरूप समाजमा तहगत उत्पीडन सुरु हुन थाल्यो। हिंसा, विभेद र शोषणको क्षेत्र पनि विस्तार हुँदै गयो। सीमित वर्गले मान्छेहरूलाई दास बनाएर आफ्नो स्वार्थ/सेवार्थ पशुसरह (पशुमाथिकै शोषण पनि अक्षम्य छ) शोषण गर्न थाले।

पुरुष दासहरू माथि श्रमशोषण र महिला दासहरू माथि श्रम तथा यौन दुवै रूपमा शोषण हुन थाल्यो। त्यसो त महिलालाई यौनदासीकै रूपमा राख्ने प्रचलन झनै व्याप्त थियो। यसरी मानव समाजको विकास नै विभेदको जगमा निर्माण भएपछि यो समाज समतामूलक, विभेदरहित र सामाजिक सद्भावयुक्त हुने कुरै भएन।

दास युगपछि समाज विस्तारै सामन्तवादी युगमा प्रवेश गर्‍यो। मान्छेहरू अब दासका रूपमा नभई हली, कमैया, बालीमा काम गर्ने श्रमिकका रूपमा काम गर्ने भए। महिलाहरू दासताबाट उन्मुक्त भए पनि शोषणबाट उन्मुक्त हुन सकेनन्।

बरु शोषणका अनेक स्वरूप, विधि र प्रक्रिया थपिन थाले। पुरुषहरूलाई सामन्तहरूले शोषण गर्ने तथा महिलालाई काम गर्दा सामन्त र घरमा पुरुष (पिता, पति र पतिका पिता सबै) बाट दोहोरो शोषण हुन थाल्यो। सामन्तवादी संस्कृतिको निर्माण भयो, फैलियो, झांगियो। यस युगले शोषणलाई झनै व्यवस्थित बनाउन भूमिका खेल्यो।

आजको समाज पूँजीवादी युगमा छ। पूँजीवादको विश्वव्यापीकरण निरन्तर चलिरहेको छ। दास युग भन्दा सामन्तवादी युग केही विकसित र तुलनात्मक रूपमा केही उन्नत पनि थियो। सामन्तवादी युगपछि पूँजीवादी युग थप विकसित र उन्नत भएर आयो। तर सारमा यी तीनवटै युगमा शोषण, उत्पीडन र हिंसा भने कायम रहिरह्यो।

अझ भनौं जसरी यी युग एकपछि अर्को विकसित र केही उन्नत हुँदै गए त्यसरी नै हिंसा, शोषण र उत्पीडन पनि विकसित हुँदै गयो। हिंसाका स्वरूप, प्रक्रिया, क्षेत्र बदलिएनन् मात्रै बरु झनै व्यापक हुन थाले। पूँजीवादले महिलालाई वस्तुकरण गरेर उल्टै घुमाउरो पाराले शोषण गरिरहेको छ।

सामन्तवादी संस्कृति, पूँजीवादी संस्कृतिहरू हर क्षेत्रमा निरन्तर निर्माण हुँदै अभ्यास गरिंदै आइएको छ। दास युगदेखि आजको पूँजीवादी युगसम्मै शासक/शोषक वर्ग भनेको पुरुष थियो/छ। समाज पनि पुरुषप्रधान हुँदै गइरह्यो। पुरुष सामन्त, पुरुष पूँजीपति (पूँजी पछाडिको पति शब्दले नै बताउँछ कि पितृसत्ता के हो भनेर) ‌जसले गर्दा पितृसत्तात्मक समाजको सृजना हुँदै जब्बर हुन पुग्यो। इतिहासदेखि जरो गाडेर बसेको पितृसत्ताबाट महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू निरन्तर प्रताडित/उत्पीडित हुन पुगे।

आजको नेपाली समाजको ग्रामीण क्षेत्र सामन्तवादी पितृसत्तात्मक छ र थोरबहुत पूँजीवादी पितृसत्तामा प्रवेश गरिसकेको छ। सहरी क्षेत्र ज्यादा पूँजीवादी र केही सामन्तवादी पितृसत्तामा उभिएको छ। पूँजीवादी पितृसत्तात्मक आधुनिकताले‌ महिलाको वस्तुकरण गर्न कहीं पनि पछिपरेको छैन।

नेपाली समाजको सामाजिक मनोविज्ञान पनि पूँजीवादी संस्कृतिले ग्रसित छ। महिलाले के लगाउने? के खाने? कहाँ जाने? कोसँग जाने? कुन समयमा बाहिर निस्कने? जस्ता हरेक कुराहरूको निर्धारण गरी महिला माथि हरसम्भव नियन्त्रण गर्न चाहन्छ पुरुष जमात।

चलचित्र, राजनीति, साहित्य, पत्रकारिता जस्ता समाज परिवर्तनका संवाहक क्षेत्रमा पनि हिंस्रकहरूको उत्तिकै बिगबिगी छ। नीति निर्माणको तहमा भएका मन्त्री तथा सांसद अझ महिला सांसद समेत पितृसत्ताको धङधङी बोकेर हिंडिरहेका छन्। जसबाट न्याय निरूपणको तथा विविध खाले हिंसा अझ यौनजन्य हिंसालाई लिएर उचित कानुन बन्ने भन्दा थोरै भएको कानुन समेत खारेज गर्ने दुस्साहस हुने गरेको छ। एकखाले सामाजिक छवि बनाएर त्यसैको आडमा जघन्य हिंसा गर्नेहरू र हिंस्रक संरक्षणमा उत्रिनेहरू बढिरहेका छन्।

क्रिकेटर सन्दीप लामिछानेद्वारा नाबालिग किशोरीमाथि भएको बलात्कारका घटनाका सन्दर्भमा उल्टै नाबालिग किशोरीमाथि लाञ्छना लगाउने काम तीव्र भएको छ। राति किन सँगै हिंडेको ? होटलमा किन गएको ? सँगै घुम्न जाने, मस्ती गर्ने अनि पछि आएर बलात्कार ? घटना हुँदा मोज अनि अहिले बलात्कार? तुरुन्तै प्रतिवाद किन नगरेको? तुरुन्तै घटना किन बाहिर नल्याएको? त्यत्रो राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि बनाएकासँग जे पनि गर्न तयार हुने अनि फसाउने?

यी प्रत्येक प्रश्न पितृसत्ताका उपज हुन्। जहाँ पुरुषको कहिल्यै गल्ती हुँदैन र उसले गल्ती नै गर्दैन भन्ने मान्यता राखिन्छ भने महिलाको पाइला–पाइलामा गल्ती देखाइन्छ। यसरी प्रश्न गर्नेले बरु पुरुषलाई नाबालिग किशोरीमाथि सामाजिक छविको आडमा किन बलात्कार गरेको? एउटी नाबालिग किशोरीलाई राति होटलमा किन लगेको?

स्वनिर्णय गर्न सक्ने क्षमताको विकास नै नभइसकेकी नाबालिगलाई म्यानिपुलेट गरेर किन यौनजन्य हिंसा गरेको? एउटा उमेर पुगेको पुरुषले त्यसरी नाबालिगलाई फसाएर हिंसा गर्न पाउँछ? तुरुन्तै प्रतिवाद गर्न कसरी सक्छन् नाबालिगहरू? समस्या छोटो लुगा लगाउनु र सँगै बसेर कफी या रक्सी पिउनुमा हो कि पुरुषको मानसिकतामा हो ?

यस्ता प्रश्न किन सोध्दैनौं हामी? हिंसा बालिग होस् या नाबालिग जब उसले आफूमाथि हिंसा भएको महसुस गर्छ त्यो हिंसा हो। नाबालिग त परको कुरा भयो उमेर पुगेकै महिलाहरूले समेत आफूमाथि भएका हिंसालाई तुरुन्तै प्रतिवाद गर्ने सामाजिक संरचना छ? हाम्रो समाज व्यवस्थामा त्यो सहज छ?

‘नो’ भनेको ‘नो’ हो, पूरै प्रतिकार हो भनेर नबुझ्ने मनोविज्ञान लिएर हिंडेकाहरू जो ‘सुरुमा नाईं–नाईं त भनिहाल्छन् नि’ भन्ने भाष्यको प्रयोग गरेर बलात्कारलाई सामान्यीकरण मात्रै होइन दुरुत्साहन समेत गरिरहेका छन्।

साराका सारा शक्ति संरचना आफूमा निहित गरेको पितृसत्तामा महिलाहरूले‌ आफ्ना भोगाइ, अनुभूति र पीडालाई साझा गर्न सक्ने वातावरण छ? एउटा उमेर पुगेको पुरुष होस् या महिला उसद्वारा नाबालिगमाथि गरिने जुनसुकै अवैध क्रियाकलाप कानुन विपरित हुन्, उनीहरूसँग गरिने यौन क्रियाकलाप यौन सम्बन्ध नभएर केवल बलात्कार हो भनेर कहिले हाम्रो चेतनामा घुस्छ? उमेर पुगेको बालिग पुरुषलाई उमेर नपुगेकी नाबालिग किशोरीले फसाइन् भन्नु कति तर्कसंगत र हास्यास्पद हो छुट्याउन कुनै गाह्रो छैन।

बलात्कारमा पुरुषत्व र मर्दपन देख्ने समाज हो यो यानि कि बलात्कारीहरूको समाज हो, यो। किन भने जब जब यौनजन्य हिंसाका घटना बाहिर आउँछन्, तब तब अत्यन्तै निकृष्ट प्रतिक्रियासहित ठूलो जत्था सामाजिक सञ्जाल, सार्वजनिक स्थान, सार्वजनिक यातायात जहाँतहीं भेटिन्छन्। र यिनीहरू हुर्किएको समाज बलात्कारीहरूको समाज होइन भनेर कसरी भन्ने‌ आधार नै भेटिन्न।

त्यसो त हाम्रो शिक्षा प्रणाली पनि यसबाट टाढा छैन। जुन अत्यन्तै कमजोर, जातिद्वेषी, वर्ग द्वेषी, स्त्रीद्वेषी र पितृसत्तात्मक छ। प्रभावकारी यौन शिक्षा त बिल्कुलै छैन भन्दा पनि हुन्छ। जसलाई शिक्षकद्वारा नै विद्यार्थीमाथि यौन हिंसा भएका खबरले नमज्जाले पुष्टि गर्छ। विद्यालयस्तरदेखि विश्वविद्यालय स्तरसम्मका प्राध्यापकहरू यौन हिंसा गर्ने हिंस्रकहरू रहेका छन्, आरोप खेपिरहेका छन्। गलत छुवाइ, गलत हेराइ, गलत बोलाइ सबै हिंसाका प्रकार हुन्।

एसिड आक्रमण, बलात्कार र हत्यालाई मात्र हिंसा मान्ने जमात यसलाई हिंसा मान्न तयार नै छैन। हत्यापछि मात्र मानवीय मूल्य नत्र अन्य हिंसालाई नगन्य ठान्ने सामाजिक मनोविज्ञान जहाँतहीं/जोकोहीमा प्रखर या सुषुप्त रूपमा रहेकै देखिन्छ। हिंसा के हो? कति हुनु हिंसा हो? भन्ने कुरा हिंस्रक र त्यसका मतियारले तय गर्ने होइन।

यो त हिंसा भोग्नेले हिंसा महसुस गरेपछि निर्धारण हुने कुरा हो। ‘नो’ भनेको ‘नो’ हो, पूरै प्रतिकार हो भनेर नबुझ्ने मनोविज्ञान लिएर हिंडेकाहरू जो ‘सुरुमा नाईं नाईं त भनिहाल्छन् नि’ भन्ने भाष्यको प्रयोग गरेर बलात्कारलाई सामान्यीकरण मात्रै होइन दुरुत्साहन समेत गरिरहेका छन्।

महिलावादी समाजशास्त्री डोर्थी स्मिथले आफ्नो ‘स्ड्याण्ड पोइन्ट अवधारणा’ मा ‘द्वैध चेतना’बारे लेखेकी छिन्, ‘आजसम्म महिलाका विषयमा आएका प्रभुत्वशाली धारणा र वास्तविक महिलाको भोगाइ र अनुभव ठिक विपरीत छन् अर्थात् दुवै एकअर्कामा पृथक्/पृथक् छन्। ‘महिलासम्बन्धी धारणाहरू व्यक्त गरेका पुरुष समाजशास्त्रीहरूको लैङ्गिक पूर्वाग्रहले वास्तविक महिलाको भोगाइ र अनुभवलाई बेवास्ता गरिदिएको छ।

आजको पुस्ताले पुरानो पदचाप छाडेर नयाँ पथको निर्माण गर्नुपर्ने आवश्यकता दिनानुदिन बढिरहेको छ। हाम्रो पुस्ताले लड्नुपर्ने, जुध्नुपर्ने क्षेत्र दिनदिनै बढिरहे पनि हाम्रो चेतनाको स्तर आवरणमा पूँजीवादी आधुनिकता र वैचारिकतामा दासतामा टिकेको चिन्तन, सामन्तवादी (सतीप्रथा) चेत र पूँजीवादको महिलालाई वस्तुकरण गर्ने नियतको खुल्लमखुल्ला समर्थन गरिरहेको छ।

पूर्णबहादुर शाह, मनोज पाण्डे हुँदै अहिले सन्दीप लामिछाने प्रकरणसम्म आइपुग्दा यी सबै घटना एकाएक नतिजा लिएर प्रकट भएका होइनन्। एउटा संरचनामा टेकेर हिंसाका अनेक प्रक्रिया पूरा गरेर अन्त्यमा यस्ता खाले परिणाम लिएर हामीमाझ आइपुगेका हुन्।

पाइला–पाइलामा हिंसा हुनु भनेको यो संरचना पाइला–पाइलामा हिंस्रक हुनु हो। पाइला–पाइलामा हिंस्रक हुनु भनेको यो संरचनामा पाइला–पाइलामा हिंस्रक उत्पादन हुनु हो। हिंसाको प्रतिरक्षा गर्ने जमात संभावित हिंस्रकहरूको जमात हो।

यस्ता हर्कतहरूमा धर्म, सम्प्रदाय, संस्कृति, कानुन, राजनीति, आन्दोलन सबै समाजबाट निर्दिष्ट हुन्छन्। त्यसैले हरेक घटनाको मुख्य जिम्मेवार समाज हुन्छ। समाजव्यवस्था मुख्य हुन्छ। हाम्रै समाजको बेथितिको चित्र यी र यस्ता घटनामा छर्लङ्गै देखिने हो।

नेपालमा वि.सं. २०७५ भदौ १ गतेबाट लागू हुने गरी मुलुकी अपराध (संहिता) २०७४ जारी भएको छ। जसको परिच्छेद-१८ को दफा २१९ को उपदफा ४ मा ‘वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षको कैद हुनेछ।’ करणी सम्बन्धीको गतिलो उदाहरण हो यो।

त्यस्तै मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद-१८ को दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती गरेको मानिनेछ।’

कानुनमै यस्तो व्यवस्था भए पनि पितृसत्ताले ग्रस्त कथित बौद्धिक जमात समेत उमेर हद घटाउनुपर्छ भनेर कुर्लिरहेका देखिन्छन्। नाबालिगको उमेर हद घटाएपछि खुल्लमखुल्ला हिंसा गर्ने घुमाउरो अभिव्यक्ति हो यो। उमेर हदको विषयलाई लिएर त यति घृणित प्रतिक्रिया आइरहेका छन् भने बालिग महिलाहरूको अवस्था कति दर्दनाक होला? बालिग हुनु भनेको चाहिं खुल्लमखुल्ला हिंसा गर्नु हो जस्तो बुझाइ घुमाउरो रूपमा उत्कर्षमा आएका छन्।

केही समयअघि क्यानाडामा‌ एउटा कानुन बन्यो। जसमा ‘कण्डमको प्रयोग गरी यौन सम्बन्ध राख्ने क्रममा बीचमै विना सहमति पुरुषले कण्डम लिङ्ग बाहिर निकालेमा (फुकालेमा) त्यसलाई बलात्कार मानिने’ उल्लेख गरिएको छ।

संसारभर यौनजन्य हिंसामा थुप्रै संवेदनशील कानुनहरू बनेका छन्। हिंसाका सूक्ष्म रूपलाई समेत सम्बोधन गर्ने गरी नीतिनिर्माण गरेका/भएका छन्। तर नेपालमा भने बलात्कारपछि हत्या नभई तथा पशुवत् यौनहिंसालाई मात्र बलात्कार ठान्ने मनोविज्ञान देखिन्छ। यसले नै बताउँछ कि हाम्रो समाज यौनहिंसाको विषयलाई लिएर कुन युगमा बाँचिरहेको छ भनेर‌।

यसरी बलात्कार, यौनजन्य हिंसा जस्ता संवेदनशील विषयलाई त सामान्यीकरण गरेर हेर्ने समाजले वर्गीय, तहगत, संरचनागत, जातीय, सांस्कृतिक, धार्मिक र भाषिक उत्पीडनलाई सम्बोधन गर्छ र यसका विरुद्ध लड्छ भनेर अलिकति पनि आशा राख्ने ठाउँ छैन। तसर्थ अब यी र यस्ताखाले तमाम हिंसा र उत्पीडनका विरुद्ध आवाज उठाउनु, लड्नु र यिनका विरुद्ध सशक्त रूपमा आन्दोलित हुनु निर्विकल्प भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?