
२९ भाद्र, डोटी । डोटी जिल्लामा थप ३३ जना डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लामा परीक्षण गर्दा २७ र जिल्ला बाहिर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
भदौ १३ गते पहिलो व्यक्तिमा संक्रमित केस फेला परेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । त्यसयता क्रमशः जिल्लामा डेंगुका संक्रमित बढिरहेका छन् ।
दिपायल सिलगढी नगरपालिकामा सवैभन्दा बढी ११ जनामा डेंगुको संक्रमण देखिएको छ । यस्तै पूर्वीचौकी गाउँपालिकामा ७ जना, शिखर नगरपालिकामा ६, सायल गाउँपालिकामा २ जना र केआई सिंह गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए । डेंगुका संक्रमितमध्ये १२ जना पुरुष र १५ जना महिला हुन् ।
संक्रमितमध्ये तीन जनालाई जिल्ला अस्पताल डोटीमा भर्ना गरि उपचार गरिएको अस्पतालका मेडिकल रेकर्डर नारद प्रसाद भट्टले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका तीनै जना निको भई घर गएका समेत उनले बताए ।
सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेंगुको संक्रमण फैलिने गरेको छ । डेंगुसंग मिल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन स्वास्थ्य कार्यालय डोटीले आग्रह गरेको छ ।
बिगतका बर्षहरुको तुलनामा यस बर्ष धेरै संक्रमितको संख्या देखिएकोले अवस्था जोखिमपूर्ण भएको कार्यालय प्रमुख जोशीले जानकारी दिए । उनले बिगतका बर्षहरुमा दुई तीन घटनाहरु देखिएका तर यस बर्ष १५ दिनमै घटना देखिएका बताए ।
जोशीले लामखुट्टेको टोकाईबाट बच्न झुलको प्रयोग गर्न र घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी जम्न नदिन आग्रह गरेका छन्
प्रतिक्रिया 4