
आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’
यो कविता पहिले पहिले गज्जब लाग्थ्यो । कविताका रूपमा त अझै पनि गज्जब नै लाग्छ । तर, यसको विवेचना फरक भएको छ । यसले कताकता सानो छँदा नेपाल टेलिभिजनको पर्दामा हेरेको महाभारतको श्लोकको सम्झना गराउने गर्छ ।
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।’
महाभारतको यस श्लोकमा पाप बढ्दै जाँदा धर्मको रक्षा र पापको नाशका लागि म युगौं युगसम्म अवतरित हुनेछु भन्ने ईश्वरीय वाचा गरिएको छ । यसको समस्या भनेको यसले अवतारहरूमा विश्वास गर्ने बनाउँछ । ईश्वरीय अवतारहरूले पापीको नाश गरेर धर्मको रक्षा गरिरहन्छन् भन्ने वाचामा विश्वास गराउँछ ।
आमाको सपनामा पनि एक किसिमले त्यस्तै वाचा छ । कविताले पनि एक व्यक्तिको आगमनको कुरा गरेको छ जसले सबै परिवर्तन गर्नेछ । त्यो एक व्यक्तिले आमाको सपना पूरा गर्नेछ ।
हो, यो विवेचनाका कारण गोपालप्रसाद रिमालको आमाको सपना मलाई अलि डरलाग्दो लाग्न थालेको छ । हामी कतै अवतारकै प्रतीक्षा गरेर बस्ने त होइनौं भन्ने पीर लाग्छ । बालेनप्रतिको हालको आशा पनि त्यस्तै अवतारप्रतिको आश सावित त हुँदैन भन्ने पीर लाग्छ ।
हाम्रो समाज लामो समयदेखि यस्तो अवतारका कुरामा विश्वास गर्दै आएको छ । यो एक किसिमले शासकका लागि सत्ता कायम गर्ने सजिलो उपाय नै पनि हो ।विलियम गोल्डलिङको ‘लर्ड अफ द फ्लाइज’मा शंख बोक्ने सत्तामा हुन्थ्यो । शंखलाई त्यो सत्ता साझा सहमतिमा दिइएको थियो ।
त्यस्तै हाम्रो समाजमा पनि २०६३ सम्म त महाभारतमा धर्म रक्षाको वाचा गर्ने साक्षात् भगवान विष्णुकै अवतारले शासन गर्थे । राजा भगवान विष्णुका अंश हुन् भनेरै मानिन्थ्यो । भलै त्यसै परिवारका मान्छेहरू तिनै भगवानका मूर्ति तस्करीको आरोप खेपेको अवस्था किन नहोस् ! गोल्डलिंगको उपन्यासमा जस्तै त्यो सत्तामा शंका गर्नेहरूको जमानामा पछिल्लो चरणमा माओवादीहरू थपिए ।
माओवादी सशस्त्र विद्रोहको आडमा भएको राजतन्त्रको अन्त्यले त्यो भ्रम धेरै हदसम्म तोडेको छ । तर त्यसको रिक्तता पूर्तिका लागि हामीले फरक–फरक व्यक्तिलाई त्यो ठाउँमा राख्दै आएका छौं । काठमाडौं महानगरका प्रमुख बालेन शाह हाललाई उनका समर्थकको लागि तिनै व्यक्ति हुन् । रिमालका कविताको ‘त्यो’ र गीताको श्लोकको ‘सम्भवामि युगे युगे’ वाला पात्रको प्रतीक्षामा रहेको समाजमा यसो हुनु स्वाभाविक हो ।
बालेनको चुनावी अभियानका क्रममा उनको प्रचारप्रसारले धेरैको ध्यान तानेको थियो । केहीले उनको प्रशंसा गर्थे भने केहीले स्त्रीद्वेषी गीतहरू गाएका कारणले उनको आलोचना गर्थे । मलगायत केहीलाई फेरि इतिहास दोहोरिने शंका पनि उत्पन्न गराएको थियो ।
पछिल्लो महानगरको चुनावमा बालेन जस्तै प्राविधिक पृष्ठभूमि भएका र अनुभवले पनि खारिएका किशोर थापा अस्वीकृत भएका थिए । युवा जोशले भरिएकी र बोलीमा बालेन जस्तै या अझै सिपालु रञ्जु दर्शनाले पनि पर्याप्त मन जित्न सकेकी थिइनन् ।
यी दुवै अस्वीकृत हुँदै गर्दा आफ्नै पार्टीले समेत बचाऊ गर्न नसकेका एकजना पात्रले पाँच वर्ष महानगरमा रैला गर्न पाएका थिए । बालेनको उम्मेदवारीले पनि कतै त्यस्तै स्वाँठले पालो पाउने त होइनन् भन्ने डर थियो । बालेनले त्यो डर हटाए र उनले वाचा गरे जस्तै ९० हजार ८३५ मत नल्याए पनि चुनाव चाहिं जिते । चुनाव जित्न बोलिएका कुरा र गरिएका काममा चाहिं केही परम्परागत लोकप्रियतावादी कदमहरू भने देखियो ।
‘भगवान मनमा विराजमान मन्दिरमा ढुङ्गा’
गीतहरूमार्फत धर्मका सन्दर्भमा प्रगतिशीलता देखाउने बालेनले चुनावअघिको जन्मदिन भने गेरु रंगको धोतीमा बेरिएर मनाए । राजधानीमा चुनिन नेवा समाजको मन तान्नुपर्छ भनेकाले धिमे बाजा बजाएर सामाजिक सञ्जालहरूमा पनि छाए । सायद नेवा नभएकै कारणले चुनिइँदैन कि भन्ने पिरलोले होला !
फोहोरमैलाको समस्याबाट ग्रस्त राजधानीलाई ७० प्रतिशत अग्र्यानिक फोहोर भएको ठाउँमा व्यवस्थापन कुनै समस्या नै हैन भनेर प्राविधिक पृष्ठभूमिको प्रयोग गरेर आशावादी बनाए । उनले सक्ने जति सबै गरे जसले उनलाई एक अब्बल विकल्पका रूपमा स्थापित गर्यो । चाहे त्यसो गर्दा उनले ‘मार्ग परिवर्तन’ नै किन गर्न नपरेको होस् ।
बालेनको जितलाई कतिले व्यवस्थाको विकल्प आदि जस्ता फुर्का पनि लगाए । बुलेटले नल्याएको परिवर्तन ब्यालेटबाट गर्ने व्यक्ति भनेर पनि चिनाए । तर वास्तवमा उनी व्यवस्थाको विकल्प नभई व्यवस्थाले दिएको विकल्प थिए ।
उनले न त सशस्त्र आन्दोलन गरेर फरक व्यवस्था ल्याएका हुन् न कुनै सत्याग्रहबाट सत्तामा पुगेका हुन् । उनले त बरु सशस्त्र आन्दोलनका जगमा स्थापित व्यवस्थाले अघि सारेको नियम पालना गरेर व्यवस्थाकै नियमहरू मानेर चुनावबाट चुनिएका हुन् ।
ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पाँच जना सँगै हिंड्दा पनि तात्कालीन शाही सेनाले केरकार गथ्र्यो । उनले त्यस्तो प्रतिकूल समयमा सत्ता प्राप्त गरेका होइनन् । बरु त्यो प्रतिकूलता कसै अरूले चिरेर स्थापित गरेको प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा उनी उदाएका हु्न् ।
त्यसो भन्दा उनी कम हुन् भनेको हैन बरु यो व्यवस्थामै पनि परिवर्तन कसरी सम्भव छ भन्ने सोच्नेहरूका लागि दम हुन् चाहिं भनेको हो । फेरि व्यवस्थाको विकल्प खोजिनुपर्छ भन्नेहरूका लागि कसरी यो व्यवस्थामै पनि धेरै गर्न सकिन्छ भन्ने उदाहरण हुन् उनी ।
बालेनले मेयर पदमा शपथ खाएको पनि तीन महिना भइसकेको छ । यो समयमा उनले सार्वजनिक शौचालयको व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने लगायत काम गरेका छन् ।
शौचालय व्यवस्थापनमा जनसहभागिताले उनलाई जति सजिलो भयो फोहोर व्यवस्थापनमा राजनीतिक असहयोगले उति नै अप्ठ्यारो पार्यो । उनी व्यवस्थाको विकल्प हुन् भन्ने भाष्यले नै दलहरूलाई कसरी हुन्छ उनलाई असफल बनाउने भन्नेतिर लगायो ।
माथिल्लो नेतृत्वले हरकिसिमको सहयोग गर्छु भन्दै गर्दा स्थानीय नेतृत्वहरूले फोहोर व्यवस्थापनमा तगारो बढाइरहे । त्यसैले बरु भाष्य सच्याएर उनी व्यवस्थाले नै दिएको विकल्प हुन् भनिंदा यो अस्वस्थ प्रतिस्पर्धा हुन्थेन होला ।
यो कुरा अन्य स्वतन्त्रका लागि पनि लागू हुन्छ । राजनीतिक दलहरूलाई उनीहरूले गरेको कामको जस दिंदा केही गलत हुँदैन । अपजस र गालीका लागि मात्रै हतार गर्ने तर भएका कामका लागि जस नदिने हो भने यसै गाली पाइने उसै गाली पाइने भन्ने हुन्छ । असल गर्नका लागि कुनै उत्प्रेरणा बाँकी रहँदैन । त्यो चाहिं हुन दिनुहुँदैन ।
अनि यो दलको विकल्पको गलत भाष्यले पनि सहयोग भन्दा असहयोग बढी गर्छ । सायद त्यही बुझेर होला, स्वतन्त्र नाम राखेरै भए पनि दलको विकल्पका रूपमा फरक दल उभ्याउने प्रयाससम्म भएको छ । केही आशलाग्दा युवाहरू त्यसमा जोडिएका पनि छन् । तर विगतको वैकल्पिक दलको ‘विचार भन्दा माथि देश’को बेतुके तर्कसहित पञ्चायतीकरणले अहिले नै आशावादी हुन भने गाह्रो छ ।
डोजर चलाएर गैरकानुनी संरचना भत्काउने बालेनको कामले सामाजिक सञ्जालमा उनको समर्थन बढाएसँगै केही चिन्ता पनि बढाएको छ । बालेनको डोजर यात्राले विधि मिचेको भनेर समेत आलोचना भइरहेको छ ।
बालेन लोकप्रियतावादी हुन् । मान्छेले विचार दावी नगरेरै पनि उसको व्यवहार अध्ययन गरेर उसको विचार पत्ता लगाउन सकिन्छ । चर्चा कमाउने काममा उनी पछि पर्दैनन् । पीआर टिमसहित उनको सामाजिक सञ्जालको उपस्थितिको व्यवस्थापनका विषयमा त जानकार नभएको सायदै कोही होला । यो सबै मिहिनेत गरेर बनाएको छवि हो । तर यो छविको आडमा भएका सबै काम सही भने छैनन् । गैरकानुनी संरचना भत्काउने सवालमा पनि त्यो छ ।
टुकुचा खोला माथिको संरचनाकै हकमा पनि जथाभावी उत्खननले सडक भासिएका तस्वीर बाहिर आएका छन् । अनि अदालतको स्थगनको आदेशका कुराहरू पनि छन् । भत्काउन सजिलो छ । सूचना टाँस गर्यो, करदाताको पैसाको इन्धन हालेर डोजर चलायो । तर के यो दीर्घकालीन उपाय हो ?
यसले भविष्यमा हुने अतिक्रमण बन्द गर्छ ? अनि यसले अतिक्रमण गर्नेलाई उसको गल्तीको सजाय दिन्छ ? अनि किन बालेनले यो समस्याका लागि फोहोरमैला व्यवस्थापनका हकमा जस्तै दीर्घकालीन उपाय निकाल्न नखोजेका ?
बरु स्थगनको आदेश छल्न समय नै नदिई भत्काइहाल्ने गरेको ? यो विषयमा के ३० वर्षपछि पनि सराहना गर्ने दीर्घकालीन समाधान आवश्यक छैन ? कि त्यो समाधान दिन नसक्दाको अवस्थामा मात्रै प्रयोग गरिने भाष्य हो ?
न्यायको सामान्य नियम अनुसार के ठीक हुन्थ्यो भने बिराउनेले नै सच्याउनको लागि लाग्ने खर्च व्यहोर्नुपथ्र्यो । त्यति मात्रै हैन त्यो अनधिकृत रूपमा जग्गा उपभोग गरेबापत चलचल्तीको मोल अनुसारको भाडाको दोब्बर या अझै बढी जरिवाना लाग्नुपथ्र्यो । एकथोकका लागि अनुमति लिएर अर्को थोक गर्ने घरमालिकहरूका हकमा सो गरेबापत तिर्नुपर्ने राजस्व रकमको दोब्बर जरिवाना र नियम मिचेर आर्जन गरेको सम्पूर्ण आम्दानी फिर्ताको सजाय तोकिनुपथ्र्यो । त्यसले घरधनीहरूलाई भविष्यमा त्यसो नगर्न गतिलो पाठ सिकाउँथ्यो ।
अनि घर बहालमा लिने भन्दा दिनेलाई बढी सजाय तोकिनुपथ्र्यो । नत्र बहालवाला मात्रै क्षति व्यहोर्ने स्थितिले नियम मिचेर आम्दानी गर्ने अर्को पक्षलाई उन्मुक्ति दिन्छ । त्यो न्याय हुँदैन । यस किसिमको जरिवानाले स्थानीय तहको आम्दानीको स्रोतहरू पनि थप्दै लैजान्थ्यो । यो सबै गर्नलाई कानुन नै बनाएर अनधिकृत जग्गा अतिक्रमणको मुद्दा स्थानीय तहले नै हेर्ने बनाइनुपर्थ्यो ।
त्यसो गर्दा यो अनधिकृत उपभोगको समस्यामा धेरै हदसम्म नियन्त्रण हुनेथियो । बालेनले यसतर्फ किन ध्यान दिएनन्, त्यो उनै जानून् । यति गर्न समय लागे पनि सो समयको क्षतिपूर्ति राज्यले भरपुर पाउने थियो । त्यही हो, तात्तातो चर्चा हुने थिएन । टिकटकहरू बन्ने थिएनन् । नत्र दीर्घकालीन समाधान भने यही हुनेथियो ।
बालेनको चुनावी सफलता वैकल्पिक राजनीति गर्छु भन्ने धेरैले देखे र त्यसबाट हौसिएको प्रष्टै छ । बालेनको चुनावी सफलतासँगै पदलोलुप र सिद्धान्तहीन राजनीतिले जमानत जफत गराएकाहरू जो पहिले वैकल्पिक भनेकै मै हो भन्थे, उनले भने फेरि कमल थापाको मुसेपथ समातेका छन् ।
जता खाना पोखिन्छ र खान पाउने आश हुन्छ, त्यतै गइहाल्ने । यात्रा गरिरहेको जहाजमा आफैं प्वाल पार्ने अनि भित्र पानी पस्ने बित्तिकै सबैभन्दा पहिले आफैं बाहिर हाम्फाल्ने । तिनीबाट केही आश भएन तर वैकल्पिक शक्ति एकीकृत बनाएर लागेका रवि लामिछानेसँग जोडिएर आएका केहीप्रति भने आशा छ ।
बालेनको विजय बालेन एक्लैले भन्दा पनि बालेनलाई भोट दिने ती सचेत जनहरूले गर्दा पनि हो जसले आफ्ना परम्परागत दलका उम्मेदवारलाई भोट नहाली उनलाई भोट दिए । अब त्यही चेतनास्तरका जनता भएको ठाउँमा सायद वैकल्पिक शक्तिका उम्मेदवारहरूले मौका पाउलान् । नत्र परिणाम त्यति आशावादी हुने खालको हुँदैन होला ।
ग्रामीण ठाउँमा जहाँ दश या बीस हजार मात्रै मतदाता हुन्छन्, जहाँ पाँच दश हजार भोटमै संसद भइन्छ, त्यहाँ राजनीति गर्न किन जाँदैनन् वैकल्पिकहरू भन्ने प्रश्न मनमा बारम्बार आउँथ्यो । बालेनको सफलताले त्यो पनि बुझायो ।
खासमा व्यक्तिले भन्दा पनि जनताले हो परिवर्तन ल्याउने । हामी नेता भएन नेता भएन भन्छौं । खासमा नभएको जनता हो । ग्रामीण भेगका जनतामा परम्परागत भोट फेर्ने चेतना कमै हुन्छ । त्यसमाथि पनि त्यहाँ गएर राजनीति गर्नु सम्पूर्ण सञ्चारमाध्यमको आँखामा पर्ने गरेर गरिएको राजनीति जस्तो सहज हुँदैन ।
त्यति हुँदाहुँदै पनि केही प्रयास यसपटक देखिएका छन् । त्यो सराहनीय छ । त्यसले निरन्तरता पाउनुपर्छ । चुनावी अभियान भन्दा पनि आफ्नो लागि आधार तयार पारेर चुनावमा जान सकियो भने सफलता पाइन्छ भन्ने कुरा त बालेनले गरेको मिहिनेत र त्यसको नतिजाबाट प्रष्टै हुन्छ । समस्या नेता कस्तो हुनुपर्छ भन्ने मानकको मात्र हो ।
बालेनलगायत वैकल्पिक उम्मेदवार जो धनले सम्पन्न थिए र आर्थिक लाभको लागि राजनीति गरेको होइन भनेर भन्न सक्थे, त्यस्ता व्यक्तिले मात्रै भुईंमान्छेको प्रतिनिधित्व गर्न सक्लान् त भन्ने पनि हो । राजनीति गर्न पुस्तैनी सम्पत्ति हुनैपर्ने र सो कर्म बापत तलब नलिंदा पनि फरक नपर्ने हुनुपर्ने हो त भन्ने प्रश्न पनि छ । त्यसो हुँदा एक गरिब पृष्ठभूमिको उम्मेदवारले त चुनाव कहिल्यै जित्ने भएन ।
हामीले चाहेको बेतलबी काम गर्ने जोगी हो या तलब लिएर गर्नुपर्ने काम गरिदिनुपर्ने व्यक्ति मात्रै हो ? यो कुरामा हामी प्रष्ट हुनुपर्छ । नत्र एक आर्थिक र सामाजिक हैसियत भएका मान्छेहरूले मात्रै राजनीतिक रूपमा प्रतिनिधित्व गर्न पाउँछन् । त्यो हाम्रो जस्तो गरिब मुलुकको लागि सुखद हुँदैन ।
एक व्यक्तिको देवत्वकरण नगरौं, बरु त्यो व्यक्तिलाई त्यहाँसम्म पुर्याउने जनताको विवेकको सम्मान गरौं भन्ने आशयका साथ लेखौं भन्ने थियो । तिनै व्यक्ति विस्तारै दानवीकरण हुन गइरहेका छन् । यही दुःखद लाग्छ । हाम्रो समाजमा कि त व्यक्ति देउता हुन्छ कि दानव ।
हाम्रो समाजको प्रतिनिधित्व गर्ने मान्छेहरू हामी जस्तै कमी र कमजोरी भएका मानव मात्रै कहिल्यै रहन दिंदैनौं । कि त व्यक्तिमाथि उसको काँधै भाँचिने गरी अपेक्षाको भारी बोकाइदिन्छौं कि ऊ उठ्नै नसक्ने गरी कलंकको भारी बोकाइदिन्छौं । यो हुनुहुँदैन ।
एक व्यक्तिले समाज फेर्ने आशा र एक व्यक्तिले समाज सक्ने आशंका दुवै उत्तिकै घातक हुन् । प्रयास भनेको जुनसुकै व्यक्तिले पनि गलत गर्न सक्ने सम्भावना राखेर त्यसो हुन नदिने या भएमा पनि सजाय हुने व्यवस्थाको निर्माण गर्नेतर्फ हुनुपर्छ ।
प्रयास भनेको सम्पूर्ण जनताको सहभागिता र राजनीतिक चासो बढाउनेतर्फ हुनुपर्छ । अनि मात्रै देशमा परिवर्तन सम्भव छ । देश परिवर्तन भनेकै आखिरमा जनता परिवर्तन हुनु न हो ।
विकसित देशमा हुने भनेकै आर्थिक र सामाजिक रूपमा अघि भएका जनताको संख्या बढी हुने न हो । र, त्यो सम्भव पार्ने कुनै तिलस्मी व्यक्तिले भन्दा पनि क्रमिक रूपमा विकास भएको व्यवस्थाले हो जहाँ अधिकतमले परिष्कारको अवसर पाउँछन् ।
प्रतिक्रिया 4