
काठमाडौं । कास्कीको धम्पुसबाट छायांकन थालेको फिल्म ‘गुलाबी’को ‘इण्ड क्ल्याप’ काठमाडौंमा भएको छ । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै फिल्मको ३२ दिने छायांकन तालिका पनि सकिएको छ । निर्देशक समुन्द्र भट्टले एउटा गीतलाई भने चुनावपछि खिचिने बताइन् ।
पारालैंगिक कथावस्तुको फिल्ममा नाजिर हुसेनको प्रमुख भूमिका छ । सञ्चिता लुइँटेल, सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ र शिशिर राणा पनि मुख्य भूमिकामा छन् ।
पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र अभिनेता हुसेनले सहकार्य गरेका छन् । दी स्काई ओसन इन्टरटेनमेन्ट ब्यानरमा निर्माण भएको ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ । फिल्म फागुनमा रिलिज गर्ने निर्देशक भट्टले बताइन् ।
‘छक्कापञ्जा ४’ चुनावपछि
प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को बाँकी छायांकन निर्वाचनपछि हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले मंसिर ४ गतेको चुनावपछि बाँकी छायांकन हुने जानकारी दिए ।
हेमराज बीसी निर्देशित फिल्मको २५ प्रतिशत छायांकन बाँकी छ । आगामी फागुन १९ गते रिलिज मिति तोकिएको फिल्म दर्शकमाझ प्रतीक्षित पनि छ । यो फिल्मलगत्तै अभिनेता गिरी अर्को एक फिल्ममा जुटेका छन् ।
नयाँ फिल्मको निर्देशक तय नभइसके पनि दीपक र केदार घिमिरे ‘माग्ने बुढा’बीच सहकार्य हुने निश्चित भएको छ ।
प्रतिक्रिया 4