
३ पुस, काठमाडौं । २३ वर्षपछि फेरि सांसद चुनिँदा राप्रपा नेता पशुपतिशमशेर जबरा दंग पर्ने नै भए । २०५६ सालको चुनाव जितेका उनले दुईवटा संविधानसभा र प्रतिनिधिसभाको एक कार्यकाल ‘मिस’ गरे ।
२०७४ मा सिन्धुपाल्चोकबाट पराजित भएका जबरा यसपटक भने समानुपातिक पद्धतिबाट सांसद भए । निर्वाचन आयोगले समानुपातिक पद्धतिबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रम उनले चाखपूर्वक हेरे ।
प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० गरी कुल ३३० समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा राप्रपाबाट निर्वाचित सांसदहरुको वेग्लै उत्साह देखिन्थ्यो ।
बहादुर भवनको चौरमा एकातिर प्रमाणपत्र वितरण गर्न निर्वाचन आयोगका पदाधिकारीहरु बस्ने मञ्च बनाइएको थियो भने त्यसको सामुन्ने त्रिपाल टाँगेर सांसदहरु बस्ने ठाउँ बनाइएको थियो । सांसदहरु बस्ने ठाउँको दाहिनेपट्टिको अघिल्लो पङ्तिमा जबरा बसेका थिए । केहीबेरमा समानुपातिकबाट निर्वाचित सांसद भुवन ढुंगाना उनको छेवैमा पुगिन्, दुबैले बधाई साटासाट गरे ।
त्यही त्रिपालमुनि बसेकी बिना जयसवाल ४ महिनाको शिशु सम्हालिरहेकी थिइन् । राप्रपाबाट सांसद निर्वाचित उनको प्रमाणपत्र भने श्रीमानले लिइदिएका थिए । केहीबेरमा फोटो खिच्ने माहौल बन्यो । बिना, उनका श्रीमान र देवर उभिए । उनका श्रीमानले बोकेको प्रमाणपत्रले छोरी ढाकिइन् । फोटो खिच्नेले जिस्क्याए, उनीहरुले फोटो सेसन गराए ।
केही महिनाअघि मात्रै सक्रिय राजनीतिमा लागेकी बिना स्थानीय निर्वाचनमा राप्रपाबाट वीरगञ्ज महानगरपालिकाको उपमेयरमा उम्मेदवार थिइन् । ‘म स्थानीय चुनाव लड्दा नानु सात महिनाको थिइन्, तर पेटमा’ उनले भनिन्, ‘त्यतिबेला निकै दुःख गरेर लडेको सकिएन । यसपटक आएको छु, मधेशको मुद्दा अघि बढाउछु ।’
प्रतिनिधिसभामा निर्वाचित जयसवाल अबको पाँच वर्ष काठमाडौंमा अस्थायी रुपमा भएपनि बस्नुपर्नेछ । यताउता बन्दोबस्ती गर्ने चुनौती छदैछ ।
मधेशी समुदायबाट गभर्वती भएको बेलामा संघर्ष गरेर प्रतिनिधिसभामा आउनु निकै चुनौती रहेको उनले बताइन् । ‘हाम्रो मधेशबाट महिलाहरु यसरी आउन निकै गाह्रो छ’, उनले भनिन्, ‘मैले मधेशको एजेण्डालाई विशेष रुपमा उठाउँछु, अरु कुराहरु त छदैछ ।’
आइतबार निर्वाचन आयोगको कार्यालय बहादुर भवनको चौर धुलाम्मे देखिन्थ्यो । केही सांसदहरु परिवारसहित गाडीमा आए, प्रमाणपत्र पाएपछि फोटो खिचे र फेरी गाडीमा फर्के । केही सांसदहरु भने परिवारसहित पैदलै आएका थिए । उनीहरु समूह/समूहमा फोटोसेसन गर्न र बधाई साटासाट गर्न व्यस्त देखिन्थे ।
समानुपातिकतर्फ प्रमाणपत्र वितरण गर्न आयोजित समारोहमा प्रमुख दलका नाम चलेका र प्रमुख नेताहरु समारोहमा देखिएनन् । उनीहरुमध्ये कतिपय प्रमाणपत्र वितरण कार्यक्रममा आएनन्, आएकाहरु पनि प्रमाणपत्र बुझेर तत्कालै फर्किए ।
सीमान्त समुदायबाट प्रतिनिधित्व गर्ने, मूलधारको राजनीतिमा नदेखिएका र साना दलका सांसदहरु भने बहादुर भवनको चौरमा लामो समय बिताए र खुसी साटासाट गरे । उनीहरु दल अनुसारको समूह बनाएर सामूहिक फोटोसेसन र बधाई साटासाट गरे ।
सांसदहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले प्रमाणपत्र वितरण गरे । अनि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातो ढाकाको खादा लगाइदिए र अरु आयुक्तहरुले बधाई दिए ।
प्रमाणपत्र बुझेर मञ्चबाट बाहिरिएपछि परिवारका सदस्य र नातेदारले उनीहरुलाई माला लगाइदिए । कतिपयले त दुबोकै माला लगाएका थिए । सांसदहरुले व्यक्तिगत र सामूहिक तस्वीर पनि खिचे ।
एमालेबाट सांसद निर्वाचित दीपा शर्माले निर्वाचन आयोगको रमाइलो माहोलमा पनि राजनीतिक कुरा गरिन् । ‘अहिलेको निर्वाचन नतिजा हेर्दा कताकता देश अस्थिरतातिर जाने हो कि भन्ने चिन्ता छ, हामीले त त्यसलाई रोक्ने प्रयास पो गर्नुपर्यो, हैन ?’ उनले भनिन्, ‘यो पाँच वर्ष समृद्ध नेपाल, सुखी नेपाली भन्ने पार्टीको लाइन अनुसार चल्ने हो ।’
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4