
४ पुस, काठमाडौं । नेपालमा सबै नागरिकलाई स्थायी लेखा नम्बर दिने अभियानलाई गति दिएसँगै सामाजिक सुरक्षा कर समेत बढ्दै गएको पाइएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा सरकारले सामाजिक सुरक्षा कर बापत ७ अर्ब ६४ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ । सरकारले सामाजिक सुरक्षा कर पारिश्रमिकमा आय आर्जन गर्ने व्यक्तिलाई लगाउने गरेको छ । जसबाट १ प्रतिशत कर सामाजिक सुरक्षाका नाममा कटौती हुन्छ ।
आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब २६ करोड रुपैयाँ सामाजिक सुरक्षा कर संकलन भएकोमा पाँच वर्षको अवधिमा वार्षिक ७ अर्ब ६४ करोड संकलन हुन पुगेको छ ।
यसरी सामाजिक सुरक्षा कर बढ्नुमा ‘प्यान फर अल’ नीतिको प्रभाव मुख्य कारण रहेको विभागले जनाएको छ । अहिले पारिश्रमिक भुक्तानीका दौरान प्यान नम्बर अनिवार्य गरिएको छ । जसबाट करको दायरा विस्तारमा समेत सहयोग पुगेको छ । अर्कोतर्फ रोजगारी सिर्जनाले समेत सामाजिक सुरक्षा कर बढाएको विभागको भनाइ छ ।
नेपालमा आर्थिक वर्ष २०६६/६७ देखि सामाजिक सुरक्षा कर लगाउन थालिएको हो । हरेक रोजगार व्यक्तिबाट करयोग्यको आयको १ प्रतिशत सामाजिक सुरक्षा कर लगाउने गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ को अन्तिमसम्म नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ३० लाख ५८ हजार १८८ र व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १ लाख ७७ हजार ७८० रहेको छ । कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर संख्या १८ हजार ९४ रहेको छ ।
कुन वर्ष कति संकलन भयो सामाजिक सुरक्षा कर ?
- आव २०७४/७५ : ५ अर्ब २३ लाख
- आव २०७५/७६ : ६ अर्ब ५ करोड्
- आव २०७६/७७ : ६ अर्ब ४४ लाख
- आव २०७७/७८ : ६ अर्ब ८२ लाख
- आव २०७८/७९ : ७ अर्ब ६४ लाख
प्रतिक्रिया 4