
२६ फागुन, जनकपुरधाम । पराले झुपडीमा गुजारा गर्ने जुल्मा र श्रीमती मुनेसरी सदा जनता आवास कार्यक्रम अन्तर्गत सरकारले पक्की घर बनाइदिने खबर सुन्दा निकै खुशी भए । महोत्तरीको भंगाहा नगरपालिका–३ को यो मुसहर बस्तीमा २०७३ को अन्त्यतिर यो सुसमाचार पुगेको थियो ।
६८ वर्षीया मुनेसरीका अनुसार सरकारले इँटाको घर बनाउन भन्दै २०७४ मा पुरानो छाप्रो भत्काउन भनियो । त्यसको केही महिनापछि पक्की घरको जग पनि हालियो । ‘त्यसपछि भने कोही आएनन्’ उनले भनिन्, ‘हाम्रो बिजोग सुरु भयो । खुल्ला आकाशमुनि बसेर घामपानी र शीतलहर काट्न परेको छ ।’
मुनेसरीका अनुसार, २०७६ भदौमा वर्षाले भिजेर बिरामी परेका ७० वर्षीय जुल्मा उठ्न पाएनन् । मुनेसरी विधवा भएपछि उनीहरूको घरको भित्ता त ठडियो, तर छानो अझै लागेको छैन । ‘सरकारले झुपडी भत्काएर बेघर बनाएपछि बुढा बिते, अब मर्ने पालो मेरो छ’, मुनेसरी भन्छिन् ।
दिनरात खुल्ला आकाशमुनि बिताउने उनका पाँच नातिनातिना बिरामी भइरहन्छन् । छोरा विक्रमको ज्याला–मजदुरीले साँझ–बिहान मुश्किलले चुलो बल्छ । आफ्नै पैसाले भित्तामा प्लास्टर र छानो हाल्नु कल्पनाभन्दा परको कुरा बनेको छ ।
त्यही टोलकी ५९ वर्षीय रमसखिया सदाको भत्काएको घरको भित्ता पनि बनेको छैन । उनका श्रीमान् रामप्रित मजदुरी गर्न भारतको मद्रास गएका छन् । रमसखियाले छोरी राजकली र तीन नाति–नातिनालाई घरको जगमाथि थोत्रो त्रिपालभित्र जसोतसो राखेकी छन् ।
‘सरकारले बेघर बनाएर ठूलो दुःख दियो । अब त फेरि हावाहुरीको समय पनि आउन लाग्यो’ उनी भन्छिन्, ‘त्यसपछि आउने वर्षात्को मौसम कसरी काट्ने होला ?’
सोही बस्तीका चन्दर सदाले ऋण–धन गरेर बाँस, काठ र खरको बलियै घर बनाएको डेढ वर्ष मात्र भएको थियो । पक्की बनाइदिने भनेपछि त्यो घर भत्काउन उनी राजी भएका थिए । तर, एक वर्ष खुल्ला आकाशमुनि घामपानी र शीतलहर झेल्न परेपछि उनी चार छोराछोरी र श्रीमती लिएर धनुषाको रमनगरा ससुरालीमा शरण लिन गएको छिमेकी पलट सदाले बताए ।
भंगाहा–३ कोयो मुसहर बस्तीमा जुल्मा, रमसखिया, चन्दर लगायत २६ जनाको पुरानो घर भत्काएर अलपत्र छाडिएको छ । ६ वर्षयता उनीहरू खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका छन् ।
गएको असारमा ठूलो वर्षात्मा बालबच्चा बचाउनै हम्मे परेको मोदनदेवी सदाले सुनाइन् । उनी आउन लागेको हावाहुरी र वर्षात्को मौसम सम्झेर चिन्ताग्रस्त छिन् । छिमेकी मञ्चित सदाले भने ऋण काढेर गत माघमा अधुरो घर पूरा गरेका छन् ।
प्लास्टर, एलिबेस्टर (छाना) र झ्यालढोका लगाउँदा डेढलाख रुपैयाँ खर्च भएको उनले बताए । ३ छोरा, ३ बुहारी र ७ नाति–नातिनाका अभिभावक उनी भन्छन्, ‘सरकारले घर बनाइदिने भन्दै ६ वर्ष दुःख मात्र दियो । अहिले जसोतसो आफैं बनाइयो, तर ऋण कसरी तिर्ने हो, थाहा छैन ।’
बेघर भएका मुसहरहरूको दुःख बताएर साध्य छैन । ‘जाडो त जसोतसो कटिहाल्छ, तर हावाहुरी र वर्षात्मा धेरै बेहाल हुन्छ’ रामबाबु सदाले भने, ‘सरकारले समयमै घर बनाइदिन सक्ने थिएन भने हाम्रो झुपडी किन भत्काएको ? हामीमाथि ठूलो अन्याय भएको छ ।’
केही दिनअघि जितन सदा, जिवचन्द्र सदा र दिनेश सदाको घरमा छानो हालिएको छ । अरू घरमाथि छानो कहिले लाग्छ, थाहा छैन । ९ वटा घर निर्माण उपभोक्ता समितिका सदस्य देवलाल सदाकै घर छानोविहीन छ ।
‘सरकार र ठेकेदारले मतलब नगर्दा यस्तो अवस्था भयो’ उनी भन्छन्, ‘कोषमा पैसा छ, तर ठेकेदारले यो छैन, त्यो छैन भन्दै अहिलेसम्म काम पूरा गरेनन् ।’
संघीय सरकारले आर्थिक वर्ष २०७३-७४ मा जनता आवास कार्यक्रम ल्याएको थियो । पछि निर्माणाधीन घरहरूलाई पूर्णता दिन मधेश प्रदेश सरकारले जिम्मा पायो । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग जनकपुरले यो योजना हेरिरहेको छ ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका सचिव कृष्ण कुमार मिश्र भने जनता आवास कार्यक्रम अन्तर्गत भंगाहामा भइरहेको निर्माणबारेको विषयमा अनभिज्ञ छन् । ‘यो विषय त भवन निर्माण विभागसँग बुझ्नुपर्छ’, उनले भने ।
मोबाइल अफ गरेर बसेकाले भवन निर्माण विभागका प्रमुखसँग भने कुरा हुन सकेन । भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साह सरकारले दुईकोठे पक्की घर बनाइदिने भन्दै भएको घर भत्काएर विपन्न मुसहरहरूलाई महाबिजोग बनाएको बताउँछन् ।
प्रदेशले यो जिम्मेवारी स्थानीय सरकारलाई दिए काम राम्ररी हुनसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4