
काठमाडौं । चैतको पहिलो साता काठमाडौंमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएका विभिन्न छलफलमा चलचित्रकर्मीले चलचित्र प्रदर्शनीबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धन भइरहेको निष्कर्ष निकालेका थिए । दर्शकलाई सजिलै पात्र र कथावस्तुसँग जोड्न सक्नु निर्देशकको खूबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ ।
अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेशभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनुका साथै इतिहासका लागि दस्ताबेजको काम समेत गर्छ, तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ पाउँदैन ।
यसै वर्ष प्रदर्शन भएको चलचित्र ‘नालापानी’ समीक्षात्मक र व्यावसायिक दुवै रूपको भएन । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण गर्न झण्डै नौ वर्ष लागेको निर्माता तथा निर्देशक रिमेश अधिकारीले बताए ।
‘हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन । हाम्रो कथा देखाउनेभन्दा कसैको साथ नपाउँदा लगानी समेत सुरक्षित हुँदैन,’ निर्देशक अधिकारीले भने, ‘चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन ।’
निर्माता तथा निर्देशक मिलन चाम्स पनि नेपाली कथावस्तुलाई विश्वभर पुर्याउने उद्देश्यले ‘गोर्खा वारियर’ निर्माण गर्दैछन् । आफैं पूर्वगोर्खा सैनिक भएकाले उनी १० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयासमा थिए । ‘चलचित्रको छायांकनमै तीन वर्षभन्दा बढी समय खर्चिसकें । यसको प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु,’ निर्देशक चाम्सले भने । उनले गोर्खालीको वीरताको कथा देखाउने विषय भने मलाया युद्धलाई रोजे । किनकि गोर्खाली जंगल युद्धमा विश्वमै उच्च मानिन्छन् । त्यही कारण निर्देशक चाम्सले चार वर्ष अगाडि कथा तयार पारेका थिए ।
भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भयो । चाहिएको प्रविधि थिएन । चलचित्र भनेपछि संग्रहालयमा भएका पुराना सामान पाउन समेत नसकेको उनले सुनाए । ‘आजभन्दा ८० वर्ष अगाडिको समय देखाउनुपर्ने भएकाले बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एक वर्ष लाग्यो,’ निर्देशक चाम्सले भने । मलाया युद्धलाई चलचित्रको विषयवस्तु बनाउनुको कारण नै जंगलयुद्ध थियो । किनकि त्यसलाई देखाउन धेरै खर्च पर्दैन । यसको छायांकन अठार दिन मलेसिया र पचास दिन सिन्धुलीमा गरिएको थियो ।
‘आफैं गोर्खा सैनिक थिएँ । नेपालीको वीरताको कथा देखाउन कुनै सम्झौता गर्न सकिँन । किनकि हामीलाई विदेशमा गोर्खाली भनी गर्ने इज्जत निकै माथि छ,’ निर्देशक चाम्सले भने । देशले गर्व गर्नसक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता उनले समेत महसुस गरे ।
निर्देशक आकाश अधिकारीले नेपालमा चलचित्रकर्मीको लगानीले त्यस्ता कथालाई पर्दासम्म ल्याउन जटिल भएको आफ्नो अनुभव सुनाए । ‘व्यासायिक चलचित्रमा लगानी गर्ने त पाइन्छ तर हामीलाई गाह्रो छ । व्यावसायिक सफलताले अन्यलाई लगानी कदापि प्रोत्साहित गर्दैन । त्यसैले यस विषयमा सम्बन्धित संघसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ,’ उनले भने ।
निर्देशक तथा समीक्षक प्रकाश सायमीले ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर तयार गरिएका चलचित्रप्रति दर्शकको विश्वास बढाउन सक्नुपर्नेमा जोड दिए । ‘त्यस्ता चलचित्र बन्नुपर्छ । हामीले प्रोत्साहन पनि गर्नुपर्छ तर दर्शक विश्वस्त भएको पाइँदैन,’ उनले भने । तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गरेको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ का वितरक करण श्रेष्ठले व्यावसायिक रूपमा नै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिए ।
‘ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार भने देखिएन । त्यसको असर व्यापारमा परेको हुन सक्छ । दर्शकलाई अपरिचित अनुहारमा बढी विश्वास नभएको पनि हुन सक्छ,’ वितरक श्रेष्ठले भने, ‘कलात्मक रूपमा अब्बल रहँदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिक रूपमा तयार गर्नु नै चुनौती रहेको छ ।’
पछिल्लो समय नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्नेक्रम विस्तारै बढे पनि सफलता भने न्यून संख्याले मात्र पाउने गरेका छन् ।
प्रतिक्रिया 4