
११ वैशाख, काठमाडौं। २०७२ वैशाखको भूकम्पले ९ हजार बढी विद्यालय क्षतिग्रस्त बनाएको मध्ये ७ हजार बढी विद्यालयको पुनर्निर्माण सकिएको छ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को तथ्यांक अनुसार विद्यालय व्यवस्थापन समिति मार्फत ५ हजार ९५५ विद्यालयको, निर्माण व्यवसायी मार्फत ४४८ विद्यालयको र गैर सरकारी संस्था मार्फत ७८७ विद्यालयको गरी ७ हजार १९० विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।
३९१ विद्यालय निर्माणाधिन अवस्थामा रहेको छ । जसमा विद्यालय व्यवस्थापन समिति मार्फत ५५ विद्यालयको, निर्माण व्यवसायी मार्फत ३३० विद्यालयको र गैर सरकारी संस्था मार्फत ६ विद्यालयको पुनर्निर्माण भइरहेको छ ।
केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को योजना शाखाकी शाखा अधिकृत यमुना पोख्रेलको अनुसार निर्माणाधिन विद्यालयहरु मध्ये अधिकांशको काम अन्तिम चरणमा पुगेको छ । एडीबी अन्तर्गतको निर्माणका कामहरु भने २०२४ मार्चसम्म समयावधि रहेकोले करिब एक वर्ष लाग्ने बताइन् ।
भूकम्पले गर्दा ३१ जिल्लाका ९ हजार बढी विद्यालय क्षतिग्रस्त विद्यालयहरु मध्ये कतिपय विद्यार्थी नभएर नजिकैको अर्को स्कुलसँग मर्ज भएको र कतिपय विद्यालयको भवन निर्माण गर्नको लागि आफ्नो जग्गा नभएको कारण ७ हजार ५८१ विद्यालयको मात्रै पुनर्निर्माण भइरहेको छ ।
योजना शाखाकी शाखा अधिकृत यमुना पोख्रेल भन्छिन् ‘भूकम्पले नौ हजार बढी विद्यालय क्षतिग्रस्त बनायो तर कतिपय विद्यार्थी संख्या कम भएका विद्यालयहरु अर्कोमा मर्ज भएका छन् कतिपय विद्यालयको भने आफ्नो जग्गा नभएर भवन बनाउन सकिएको छैन ।’
अहिलेको नियमानुसार विद्यालय बालमैत्री बनाउनको लागि धेरै खेल मैदान सहितको विद्यालय भवन बनाउनुपर्ने हुँदा विद्यालयको आफ्नो जग्गा नहुँदा विद्यालय भवन निर्माण गर्न नसकिएको शाखाले जनाएको छ ।
अहिले निर्माण भएका विद्यालयहरु बालमैत्री, अपांगमैत्री विपत प्रतिरोधी भवनहरु बनेका छन् । शैक्षिक गुणस्तरको नौ कम्पोनेन्ट मध्ये एक भौतिक पूर्वाधार निर्माण पुरा हुन लागेको शाखा अधिकृत पोख्रेलले बताइन् ।
प्रतिक्रिया 4