+
+

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीका लागि चुनौतीपूर्ण : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १३:१०

२१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।

बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले तथ्यांक विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्रमा संकुचन देखिएको बताए ।

अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसके उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहेको बताए । पछिल्लो समय उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको भन्दै उनले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको बताए ।

सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने उनको भनाइ छ । अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौती समाधान गर्न सरकार, नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उनले अर्थतन्त्रमा वर्तमान समस्या र चुनौती आउनुमा निजी क्षेत्र, नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताए । बैंकहरुले सहज रुपमा कर्जा दिँदा निजी क्षेत्रले घरजग्गा, सेयेर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुको पनि दोष भएको उनले बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रिल तथा स्टिल व्यवसायीमाथि सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले ग्रिल तथा स्टिल व्यवसायी महानगरमा उद्योग दर्ता गर्न नदिने अवस्था रहेको भन्दै देशभर सबै महानगर घोषणा हुने हो भने व्यवसाय कहाँ गर्ने भन्दै प्रश्न गरे । ग्रिल तथा स्टिल व्यवसायलाई सरकारले केही न केही व्यवस्थित बनाउनुपर्नेमा उनको जोड थियो ।

उद्योग दर्ता गर्न नदिने हो भने विदेशबाट आयात गर्नुपर्ने र भएका व्यवसायीहरु पनि पलायन हुनुपर्ने अवस्था आउने मल्लको भनाइ छ । उनले ग्रिल तथा स्टिल व्यवसायलाई बलिया बनाउनका लागि दरिलो नीतिगत व्यवस्था आवश्यक रहेको बताए ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगीहरुलाई संरक्षण आवश्यक रहेको बताए । उनले अहिलेको अवस्थामा घरेलु तथा साना उद्योगहरु नवीकरण गर्न नसक्ने बताए । उनले घरेलु तथा साना उद्योगहरुले बैंकबाट दिएको कर्जामा पुनर्ताजकीकरण गर्न माग गरे । राष्ट्र बैंकले लघु, घरेलु, साना उद्योगीहरुका लागि छुट्टै एउटा बास्केटमा राखेर उनीहरुको ब्याजदरमा पनि सहुलियत हुनुपर्ने उनकाे माग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?