
२७ वैशाख, काठमाडौं । रानीजमरा कुलरिया सिंचाइ आयोजनाको मूल नहरमा पहिलो पटक पानी छाडिएको छ । आयोजनाको ८.५ किलोमिटरको मूल नहर र करिब साढे १० किलोमिटर सहायक नहरमा मंगलबारदेखि पानी छाडिएको हो ।
ठेकेदार कम्पनीले निर्माणपछि हस्तान्तरण गर्न बाँकी भए पनि काम सकिएको नहरमा उपभोक्ता समितिलाई सिंचाइ सुविधा दिने उद्देश्यले पानी छाडिएको आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभजनल इन्जिनियर प्रेम लासिवाले जानकारी दिए । उनका अनुसार अर्कोतर्फको करिब १४ किलोकिटरको सहायक नहरमा भने निर्माणको काम चलिरहेको छ ।
१४ किलोमिटरमध्ये करिब ६ किलोमिटर नहर निर्माणको काम सकिएको छ भने बाँकी भागमा निर्माणको काम चलिरहेको छ । अहिलेसम्मको गुरुयोजनाअनुसार आयोजनाको करिब ६३ प्रतिशत काम सकिएको सूचना अधिकारी लासिवाले बताए । हालको गुरुयोजना अनुसार २० हजार ३०० हेक्टर क्षेत्रफलको निर्माण २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य छ । २७ अर्ब ४० करोड रुपैयाँ लागतको यो परियोजना निर्माणको काममा चरम ढिलाइ हुँदै आएको छ ।
रानीजमरा कुलरिया नेपालको कर्णाली नदीलाई स्रोत बनाएर एक शताब्दीअघिदेखि कैलालीका कृषकहरुले नै निर्माण गरी व्यवस्थापन समेत गरेको ठूलो सिंचाइ प्रणाली हो । यो प्रणालीले कैलाली जिल्लाको टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउंपालिकाको गरी करिब ११ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा उपलव्ध गराउँदै आएको छ ।
यो सिंचाइ प्रणालीमा कमाण्ड एरियाको दक्षिणी भागमा सिंचाइ गर्न रानी सिंचाइ प्रणाली, मध्य भागमा जमरा सिंचाइ प्रणाली र उत्तरी भागमा सिंचाइ गर्न कुलरिया सिंचाइ प्रणाली छ । यी प्रणालीहरुको व्यवस्थापन गर्न तीन वटै प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था (कुलो संस्था) छन् ।
आर्थिक वर्ष २०६६/६७ सालमा पुरानो प्रणालीलाई आधुनिकीकरण गर्न सुरु गरिएको यो आयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यान्वयमा छ । यो आयोजनाको निर्माणपछि करिब १४ हजार ३०० हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुनेछ । आयोजनाका अनुसार यो परियोजनाबाट करिब २३ हजार ६२२ घरधुरीका करिव १ लाख ४२ हजार ३६६ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । पूर्वपश्चिम राजमार्गको समानान्तर पश्चिमतर्फ जाने लम्की विस्तार सिँचाइ शाखा नहरबाट पथरैया नदीसम्मको थप करिब ६ हजार हेक्टरमा र दीर्घकालमा कान्द्रानदीसम्मको थप १८ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार गर्ने लक्ष्य छ ।
प्रतिक्रिया 4