+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

केशव दुलालको बयान : ओलीका प्रमुख स्वकीय सचिवलाई बालुवाटारमै १ करोड दिएँ

बयान प्रतिशोधपूर्ण छ : राजेश बज्राचार्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १९:२४

९ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् ।

प्रहरीले सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा दुलालले भनेका छन्, ‘…तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।’

दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलकाे मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

दुलालले आफ्नो बयानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वाटरमा १/१ करोड रुपैयाँ दिएको पनि बयान दिएका छन् ।

प्रहरीले लिएको बयानका क्रममा सुरुमा केशवप्रसाद दुलालले इन्कारी बयान दिएका छन् । तर थप बयानका क्रममा उनले रकम दिएको बताएका छन् ।

बयान प्रतिशोधपूर्ण छ : राजेश बज्राचार्य

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बयान प्रतिशोधपूर्ण भएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले दुलाललाई आफूले चिन्दै नचिनेको भन्दै बयानको विवरणमाथि नै आशंका गरे ।

‘न म केशव दुलाललाई चिन्छु, न त नक्कली भुटानी शरणार्थी बनाउने खेलसँग हाम्रो कुनै सम्बन्ध छ’, बज्राचार्यले भने, ‘किन केशवले अनावश्यक ढंगले मलाई पोल्ने काम गरेका छन् थाहा भएन । यो उनको नियत हो या राजनीतिक प्रतिशोध मैले बुझ्न सकेको छैन । यसको वस्तुनिष्ठ छानबिन आवश्यक छ ।’

पढ्नुहोस् दुलालको थप बयानको एक अंश :

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रु १ करोड बुझी लिएको । 

त्यसैगरी तत्कालिन गृहसचिव प्रेमकुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा ३ करोड नगदै बुझी लिएको, तत्कालिन प्रधानमन्त्री केपी वलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ उर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी उर्जामन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझी लिएका हुन् ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र उर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईंहरुको काम हुने भयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही १ करोड बुझी लिएका हुन् ।

काम नभएपछि पटकपटक रकम फिर्ता माग्दा धाकधम्की दिई हामी पावरमा छौं, तिमीहरुको केही लाग्दैन हामीलाई फोन गर्ने भेट्ने काम नगर्नू भनी प्रतीक थापामार्फत खबर पठाउने गरेको र तपाईंहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं, ६० प्रतिशत लैजानु भनी प्रतीक थापामार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्रीबाट हटेको ५/६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरुसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लिखित मानिसहरुसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुटा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुटा मुद्दाबाट सफाइ पाउँ भन्ने प्रतिवादी केशवप्रसाद दुलालले गरेको थप बयान कागज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?