
केही समय अगाडिको कुरा हो, एउटा कार्यक्रममा एकजना ‘लुम्सेली’ (थर) भेट हुनुभयो। परिचय आदान/प्रदान भयो। जाहेरै छ, महिलाको परिचय उनको काम, पेशा, अस्तित्वले मात्रै पुग्दैन; यहाँ पनि प्रमाणित गर्ने क्रम सुरु भयो। कसको छोरी ? कसको बुहारी ? श्रीमान् को ? …
आफू लम्सालको छोरी भएको जानकारी दिने बित्तिकै टिप्पणी आयो, ‘ए, तपाईं त सक्कली लम्साल हुनुहुँदोरहेछ। म पनि लम्साल हुँ, ‘लुम्सु’ भन्ने ठाउँबाट आएकोले म लुम्सेली लेख्छु। लम्सालहरू सबै लुम्सुबाट आएका हुन्।’
त्यो दिनसम्म, महिलाको थर ‘सक्कली’ र ‘नक्कली’ भनेर परिभाषित हुन्छ भन्ने थाहा थिएन; तर, ‘थर’को कुराले भने जहिल्यै पनि सोचमग्न बनाइरहन्थ्यो।
एउटै ठाउँमा जन्मिएका र हुर्किएका भए पनि पुरुषहरूको थरमा आधिपत्य हुने; महिलाको नहुने किन ?
राज्य वा आफ्नै स्वेच्छाले पनि पुरुषहरूले टपक्क एउटा थर टिप्न पाउने, महिलाले नपाउने किन ?
उदाहरणको लागि, हरिबोल काफ्लेद्वारा लिखित पुस्तक ‘यशोधरा’मा, लेखिएको छ— ‘जेठा राजकुमार उल्कामुख कपिलवस्तु क्षेत्रका राजा भए। सालझोडा अर्थात् सालको जङ्गल फाँडेर राज्य स्थापना गरेकाले उनीहरूलाई शाक्य भन्न थालियो।’ (पेज १७)
त्यसैगरी, हालसालै विमोचित पुस्तक ‘शताब्दी यात्राः इन्द्रमाया पौड्याल’ अनुसार, ‘उनीहरूले भने, गिलो भात खाएकोले एकजनालाई गेलाल भनेका हुन्। यसपछि उनका सन्तानहरू गेलाल भए। तर, खास थरचाहिं पौड्याल नै हो। तपाईंहरू त्यहींको गेलाल हो। त्यसैले तपाईंहरू पहिला पौड्याल हो। यसपछि हामीले पनि आफूलाई पौड्याल लेख्न थाल्यौं।” (पेज १८)
अर्को किताब ‘हजुरआमाका कथा’ की एक पात्र नानीछोरी श्रेष्ठले सुनाएको कथा पनि कम रोचक छैन। नानीछोरीका अनुसार, उनको बुढाससुरा नारायणप्रसाद भट्टले एकजना नेवार महिलालाई मन पराएर विवाह गरेका रहेछन्; तर, त्यो समय जातपातको कारणले ती महिलालाई भान्सामा पस्न दिइएनछ। त्यसपछि, आफ्नो वंश थाम्न र पूजापाठको काम नरोक्न नारायणप्रसादले फेरि बाहुनी विवाह गरेछन्।
पछि उनले आफूले मन पराएर ल्याएको जेठी श्रीमतीलाई ‘भान्सा काढेपछि’, जेठी श्रीमतीको थर श्रेष्ठबाट नै आफ्नो थर राखेछन्। त्यतिबेलादेखि, उनको परिवारमा, आफूसमेत, जेठीपट्टिबाट जन्मिएको सन्तान ‘श्रेष्ठ’ र कान्छीबाट जन्मिएको सन्तान, ‘भट्ट’ लेख्दै आएछन्। (पेज ११०)
माथि उल्लेखित उदाहरण हेर्ने हो भने, पुरुषहरूको थर, उनीहरूको मनमाफिक होस् वा जन्मिएको ठाउँको हिसाबले होस्, जसरी राखे पनि खासै ठूलो कुरा हुनेरहेनछ; तर, महिलाको …?
त्यो त हुँदै नहुने वा वर्जित भएकै कुरा भयो। किनकि, ‘महिला’ व्यक्ति होइन, वस्तु हुन्; उनीहरूको स्वतन्त्र अस्तित्व हुने कुरै भएन।
ब्रिटिश कोलोनाइजेसन या अमेरिकीहरूले दास राख्ने समयको कुरा गर्ने हो भने, पुरुषको थर पनि अहिले महिलाको थर जस्तै गरेर राखिनेरहेछ। यसबारेमा खोज्दै जाने हो भने, दास उन्मूलनपछि अमेरिकामा कतिपय उन्मूलन भएका व्यक्तिहरूले आफ्नै मालिकको थर लिएछन् भने, कसै कसैले मात्रै आफ्नो पहिलेदेखिको थर कायम गरेछन्।
इन्साइक्लोपिडिया ब्रिटानिकाका अनुसार, एघारौं शताब्दीतिर सुरु भएको थर या ‘फ्यामिली नेम’ (पारिवारिक नाम) राख्ने चलन एरिस्ट्रोक्याटिक परिवारहरूबाट सुरु भएको थियो र सोह्रौं शताब्दी पुगेर बल्ल टुङ्गियो। त्यतिबेला कुनै धनी परिवार या ठूला शहरहरूबाट त्यो चलन सुरु भएको थियो।
यो कुरालाई ‘कन्स्टिच्यूसनल ल सोसाइटी। युनिभर्सिटी अफ उडिसा’को वेबसाइटमा, डेब्बी जैनको लेख, ‘आइडेन्टिफिकेसन अफ वुमेन भाय हस्ब्यान्ड्सः अ मकरी अफ आर्टिकल फिफ्टिन’ले नकार्छ।
उक्त लेखमा भनिएको छ, नवौं शताब्दीमा ब्रिटिश कमन ल, ‘कभेर्चर’ मार्फत विवाहित महिलाहरू कानुनी तवरमा लोग्नेको अस्तित्वमा समाहित गराइए; महिलाको छुट्टै अस्तित्व नरहने भयो। उपरोक्त कभेर्चर अनुसार महिलाहरू पुरुषको सम्पत्ति हुनेहुनाले, कानुनको नजरमा उनीहरूको कुनै अस्तित्व नरहने भयो; त्यसैले पनि उनीहरूको आफ्नो थर हुने भएन।
यो नवौं शताब्दीको कुरा भएकोले, माथि उल्लेखित एघारौं शताब्दीको कुरा फरक देखिन्छ। जे भए पनि पश्चिमा समाजले पनि महिलाको थर छान्न पाउने अधिकारलाई त्यतिबेला बन्देज लगाएकै देखिन्छ।
यो पंक्तिकारले पश्चिमा र पूर्वीयहरूको थरमा पनि एकपटक अंग्रेजी शब्दको सामञ्जस्यता भेटेको रमाइलो अनुभव छ। करिब १६/१७ वर्ष अगाडिको कुरा हो, त्यतिबेलाको बसाइ भएको शहर टेक्सस राज्यको अंबलमा एकदिन गाडी धुने ठाउँ, ‘मिस्टर कार वास’मा गएकी थिएँ। त्यहाँ पुगेर स्टाफलाई कारको साँचो बुझाएर, पत्रिका पढेर बसिरहें।
मभन्दा पहिले, त्यहाँ एकजना अफ्रिकन अमेरिकन पनि गाडी धुलाउन आएका रहेछन्; उनी पनि पत्रिका पढ्दै थिए। एकछिनमा स्टाफ, ‘मिस ब्याँन्सकोट ?’ भन्दै आए। मेरो थर ‘बाँस्कोटा’लाई उनीहरू त्यसैगरी उच्चारण गर्दथे।
मैले पनि मलाई नै बोलाएको ठान्दै, ‘यस् प्लिज !’ भनेँ। स्टाफले आएर, तिम्रो गाडीमा एयर कन्डिसनको फिल्टर फेर्नुपर्छ; वाइपरको ब्लेड फेर्नुपर्छ … के के भन्दै गए। मैले, सबै कुरालाई हुन्छ भन्दै गएँ; किनकि भोलिपल्ट मेरो इमिसन स्टिकर लिनुथियो, म झन्झट लिन चाहन्नथें।
एकछिनपछि, सोही स्टाफ आएर अफ्रिकन अमेरिकनलाई काउन्टरमा बोलाएर हिसाब देखाए; ती अमेरिकन त रिसाएर आगो हुँदै सोधे, ‘तिमीलाई कसले यो सबै फेर्न भन्यो ?’
ती स्टाफले मलाई देखाए। भएछ के भने, ती अमेरिकनको थरको स्पेलिङ र मेरो थरको स्पेलिङमा एउटा मात्रै अक्षरको फरक रहेछ। म त हाँस्दा हाँस्दा भएँ; उनी रिसले रातो। नरिसाउने पनि कुरो थिएन; कहाँ कार वास गरेको जम्मा ४० डलर तिर्नुपर्नेमा बिल आएको थियो, करीब डेढ सयको। पछि, स्टाफले आफ्नो गल्ती स्वीकारेर कुनै पनि चार्ज नलिई उनलाई जान दियो। यो पनि ‘थर पुराण’ नै थियो।
अझ हामी पूर्वीयाहरूको ‘गोत्र’ले दिने दुःखको त बयान नै नगरौं। गोत्रले पनि पुरुषलाई केही फरक पार्दैन उनीहरूको लागि ‘गोत्र’ भनेको अनवरत वंश परम्पराको निरन्तरता हो; तर, यही ‘गोत्र’ले महिलाहरूलाई अपमानको हदसम्म गिराउन सक्नेरहेछ।
यहाँ एउटा घटना उल्लेख गर्न चाहन्छु। यो घटना ठ्याक्कै एक वर्ष अगाडिको हो। बाइस वर्षदेखि छुट्टिएर बसेकी तथा १७ वर्षदेखि सम्बन्धविच्छेद गरेकी महिलाको पूर्व-पतिको निधनमा, किरियाकर्म गराउने पण्डितले, पूर्व-पत्नीले किरिया बस्नै पर्ने नभए शुद्ध शान्ति नहुने र आफूले त्यहाँ कर्मकाण्ड नगराउने धम्की दिए।
उनको भनाइ थियो, ती महिला अर्कोसँग नगएकी हुनाले पहिलेको पतिकै गोत्रमा रहन्छिन्; त्यसैले, किरिया नबसे आधा मात्रै शुद्ध्याईँ हुन्छ। दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, महिलाको अस्तित्व र पहिचान नकार्ने कार्यमा कोही चुक्दैन। भलै, ती महिलाले नटेरेको कारण किरिया बसाउन सकेनन्; नभए त अपमानित गरेरै छाड्थे।
त्यस्तै घटना २०७४ साल जेठमा झापाको अर्जुनधारा नगरपालिका निवासी ४८ वर्षीय देवीमाया पौडेलमाथि घटेको थियो। सम्बन्धविच्छेद गरेर बसेकी उनलाई स्थानीय व्यक्ति, समाजसेवी तथा उनकै ८० वर्षीया आमा समेतले, ‘समाजमा श्रीमानको किरिया नगर्ने मान्छे अछुतो मानिन्छ र त्यसले छोएको केही पनि चल्दैन भनेर बहिष्कार गर्नेसम्मका क्रियाकलाप भएपछि समाजको दबाबमा उनले काजकिरिया गरेको बताउँछिन्’ भनेर त्यतिबेला समाचारमा आएको थियो।
तर, यही कुरा पुरुषको लागि अनिवार्य हुँदैन। कतिपय पुरुषहरू, छोराहरू श्रीमतीको किरिया बसेकै बेलामा आफ्नो लागि अर्को श्रीमती खोज्न लागिसकेका यही आँखा साक्षी छन्; न त उनीहरूलाई थरले छेक्छ; न त, गोत्रले।
कानुनले जतिसुकै समानताका कानुनहरू बनाए पनि सामाजिक रूपमा हुने यस्ता विभेदहरूबारे समाजमा थुप्रै छिद्रहरू लुकेर बसेका छन्; ती छिद्रहरूले बेलामौकामा महिलालाई हदैसम्म अपमान गर्ने मात्रै होइन, मर्नु न बाँच्नुको परिस्थितिमा पुर्याइदिन्छन्।
यो थर र गोत्रलाई मानवशास्त्रले कसरी हेर्नेरहेछ त ? यस बारे त्रिविवि मानवशास्त्र विभागका सह-प्राध्यापक जनक राईसँग प्रश्न राख्दा उहाँको जवाफ थियो, ‘थरलाई मानवशास्त्रमा क्लान भनिन्छ र क्लान समूह प्राय: फरक हुन्छ अथवा एउटै थर भित्र सामान्यतया विवाह हुँदैन।
अझ थर भित्र पनि समूह हुन्छन् – गोत्र (सबै समुदायले गोत्र भन्दैनन्) र सहगोत्री बीच विवाह हुन्न। अर्थात् गोत्र थरले वंश, नातागोता र परिवारबीचको दूरी (विलिफ इन ब्लड रिलेसन्स) र कति नजिक र टाढा हो भन्ने नाता सम्बन्धको दूरी मापन गर्छ भन्न सकिन्छ; तर थर गोत्र शक्ति सम्बन्धको अन्तरजालो पनि हुन्छ।
उहाँको भनाइमा, ‘वंशको पहिचान सार्ने काम महिला वा पुरुष कोबाट गर्ने ? सम्पत्तिको स्वामित्व महिलाबाट कि, पुरुषबाट हस्तान्तरण गर्ने ? समाज मातृप्रधान हुने कि, पुरुषप्रधान हुने ? जस्ता संरचना निर्माणसित थर जोडिएको हुन्छ।
संसारमा थरको अपनत्व पुरुषको मात्रै हुन्न। पितृसत्तात्मक सामाजिक संरचनामा पुरुषको थरले वंश निर्धारण गर्छन् तर त्यसभित्र पनि फरक व्यवहारहरू पाइन सक्छ; मैले केही हप्ता अगाडि सुनेको थामी समुदायमा परिवारमा छोराले बाबुको थर लिन्छ भने छोरीले आमाको; यसरी छोरीहरूमा आमाको थर र छोराहरूमा बाबुको थर सर्दै जान्छ।’
यसको मतलब, महिलाको थर हुनै नहुने त होइनरहेछ त !
फेरि, सरकारले चाह्यो भने पनि थरको मामिलामा हस्तक्षेप गर्न सक्ने रहेछ। त्यसको उदाहरण, करिब ११/१२ वर्ष अगाडिको समाचार होला नेपालको म्याग्दी जिल्लाबाट आएको एउटा समाचार पढेकी थिएँ, जसमा भनिएको थियो ‘यहाँका १४१ जना मगरहरूको नागरिकतामा एकै दिन सामूहिक रूपमा थर परिवर्तन भएका छन्।
जिल्ला प्रशासन कार्यालयले बुधबार र बिहिबार दग्नाम गाविसमा बृहत् घुम्ती सेवा लगी पाँच पुस्तादेखि ‘प्राविधिक कारणले’ नामको पछाडि थापा थर लेख्दै आएका मगरहरूको थर परिवर्तन गरी गर्वुजा बनाइदिएको हो।
… नागरिकतामा थरको समस्या छानबिन गर्दा उनीहरू वर्षौंदेखि पहिचानको समस्यामा परेको भेटियो। त्यसैले पुरानो नागरिकता खिचेर थर संशोधन गरी नयाँ नागरिकता दिएका हौं’ प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। नागरिकता ऐन २०६३ अनुसार आवश्यकता अनुसार नागरिकले माग गरेअनुरूप थर परिवर्तन गर्न पाइने व्यवस्था गरेको छ।’
यी सबै व्यवस्था हुँदाहुँदै पनि, महिलाहरूलाई चाहिं थर र गोत्रको नाममा पनि जकेडेरै राख्नुपर्छ भन्ने सोचाइ परिवर्तन गर्न निकै गाह्रो छ। कहिलेसम्म यस्तै रहने होला ?
प्रतिक्रिया 4