
१२ असार, काठमाडौं । नेपाली कांग्रेसमा टोल, वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समिति गरी आठ तह छन् । पार्टीको विधानमा टोलबाहेक सबै तहका समितिले वर्षमा एकपटक सम्मेलन गर्नुपर्छ ।
विधान मान्ने हो भने महाधिवेशन भएकोबाहेक हरेक वर्ष केन्द्रीय तहमा महासमिति बैठक बोलाउनुपर्छ । वडादेखि प्रदेश तहसम्मको सम्मेलन केन्द्रमा हुने महासमिति बैठकजस्तै हो ।
कांग्रेसमा तल्ला तहमा सम्मेलन गर्ने प्रचलन छैन । महाधिवेशन नजिकिएपछि मात्र हुने प्रचलन थियो । आमसभा वा प्रशिक्षणमा कार्यकर्ता भेला हुने गरेपनि ठूलो संख्यामा जम्मा हुने प्रकृतिका पार्टीका गतिविधि हुँदैनथ्यो ।
गत चैतमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ६ हजार ७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ७७ जिल्ला र ७ प्रदेशलाई पत्र लेखेर जेठभित्रै सम्मेलन गर्न निर्देशन दिएका थिए ।
सम्मेलनमार्फत कांग्रेसका समितिहरुले अघिल्लो वर्षको समीक्षा र भावी कार्ययोजना तय गर्नुपर्छ । ‘पार्टीलाई चलायमान गराउन सम्मेेेलनले मद्दत पुर्याउँछ’, महामन्त्री थापा भन्छन्, ‘कुन तहले एक वर्षभित्र आफ्नो संरचनाभित्र के के गर्ने गरी एकवर्षे कार्ययोजना बन्छ । अघिल्लो वर्षको पुरै समीक्षा होस् । अर्को वर्षको पुरै कार्ययोजनाको तयारी गरोस् भन्ने हो ।’
पहिलो पटक सम्मेलन गर्न लागेकाले अलमल हुनसक्ने अनुमान गरेर महामन्त्रीहरुले सम्मेलनको खाका नै पठाएका थिए । खुला सत्रमा जनतासँग प्रत्यक्ष जोडिने खालका कार्यक्रम राख्न निर्देशन दिइएको थियो । त्यसमा स्वास्थ्य शिविर, वृक्षरोपण, सरसफाइ, रक्तदान वा जनतासँग जोडिने अन्य काम गर्न सकिने भनिएको थियो ।
बन्द सत्रमा भने विधानले व्यवस्था गरे अनुसारका प्रतिनिधिले भाग लिने र प्रतिवेदनमा छलफल गरेर पारित गर्ने व्यवस्था गरिएको छ । नेतालाई प्रश्न उठाउने र सुझाव दिने काम यसै सत्रमा हुनेछ ।
महामन्त्रीले परिपत्र गरे पनि धेरै ठाउँमा सम्मेलन भएको छैन । कुनै पनि प्रदेश समितिले सम्मेलन गरेका छैनन् । ७७ मध्ये १५ वटा जिल्लाको मात्र सम्मेलन भएको छ ।
प्रदेश सभापतिहरुका अनुसार जिल्ला र प्रदेशको सम्मेलन हुन नसके पनि तल्लो तहका सम्मेलनहरु भइरहेका छन् । जेठ महिनाभित्र जिल्ला सम्मेलन सक्न परिपत्र भए पनि जेठको अन्त्यबाट जिल्ला तहको सम्मेलन सुरु भएको थियो ।
मधेश प्रदेशका जिल्लाको सम्मेलन भएको छैन । मधेशका आठमध्ये छ जिल्लाले केन्द्रले गरेको परिपत्र नै थाहा नपाएको जवाफ दिएका छन् ।
गर्मी मौसम, वषर्ायाम र प्रदेश सरकारको बजेट यही बेला आउने भएकाले सम्मेलन गर्न नसकिएको अधिवेशन लगायतले सम्मेलन तीव्र गतिमा हुन नसकेको प्रदेश सभापतिहरुको तर्क छ ।
एक प्रदेश सभापतिले त केन्द्रीय समितिले पनि विधान नमानेकाले तल्लो तहले मात्र किन मान्ने भन्ने प्रश्नसमेत उठाए । ‘विधानतः जेठ मसान्तसम्म सम्मेलन गर्नु भनी महामन्त्रीहरुले सर्कुलर गर्नुभएको छ । विधान अनुसार वर्षमा एक पटक हुने महासमिति बैठकको कुनै टुंगो छैन,’ ती प्रदेश सभापति भन्छन्, ‘अरुलाई निर्देशन दिनेले आफूले पनि विधान अनुसार केन्द्रको सम्मेलन गर्नसक्नु पर्यो नि ।’
कोशीमा पहिचानको आन्दोलनले बाधा
कोशीका १४ जिल्लामा धनकुटा, तेह्रथुमको जिल्ला सम्मेलन भएको छ । मोरङका ६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १, २, ४ र ५ को मात्र सम्मेलन भएको छ ।
‘पहिचानको आन्दोलनले गर्दा सम्मेलनहरु गर्न सकिएको छैन’, कोशी प्रदेशका कांग्रेस सभापति उद्धव थापाले भने, ‘केही जिल्लामा गर्ने निर्णय गरेका छन् ।’
मधेशमा ६ जिल्लाले परिपत्र नपाएको जवाफ
मधेशका आठ जिल्लामा कुनै पनि तहका पार्टी संरचनाले सम्मेलन गर्न सकेका छैनन् । ६ जिल्लाले केन्द्रले गरेको परिपत्र नै जानकारी नभएको बताएका छन् । सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बाराले ‘परिपत्र प्राप्त भएको छैन’ भनी केन्द्रलाई जवाफ फर्काएका छन् ।
सम्मेलनका विषयमा छलफल गर्न बैठक बोलाउने मधेश प्रदेशका प्रचार संयोजक नितिशकुमार गुप्ताले बताए । ‘वर्षाको समयले गर्दा अलि ढिलो भएको हो,’ उनले भने ।
बागमती : ललितपुरमा सबै तहको सकियो, अन्त बाँकी
बागमतीका १३ जिल्लामध्ये ललितपुर, भक्तपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेले जिल्ला सम्मेलन सकेका छन् । वडादेखि जिल्लासम्मको सम्मेलन सक्नेमा ललितपुर पहिलो बनेको छ । बाँकी जिल्लामा केहीमा सुरु भएको छ, केहीमा सुरसार छैन ।
चितवनले केन्द्रलाई कुनै पनि जानकारी दिएको छैन भने नुवाकोटले नियमित बैठकसमेत बस्न नसकेको जनाएको छ ।
गण्डकीमा बल्ल छलफल
गण्डकीका ११ मध्ये कुनै पनि जिल्लाले सम्मेलन गरेका छैनन् । थोरै जिल्लामा वडा तहको सम्मेलन भएको छ । जिल्ला कार्यसमितिले केन्द्रलाई गरेको रिपोर्टिङमा तथ्यांक दिइएको छैन । ‘वडा सम्मेलन भइरहको’ मात्र भनिएको छ ।
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले वर्षातका कारण सम्मेलन हुन नसकेको बताए । असार १७ गते जिल्ला सचिवहरुको बैठक बोलाइएको र त्यसमा सम्मेलनबारे छलफल गरेर निर्णय लिइने महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।
लुम्बिनीमा ४ जिल्ला सम्मेलन सकियो
लुम्बिनीका १२ जिल्लामध्ये बाँके, प्युठान, दाङ र रोल्पाको जिल्ला सम्मेलन सकिएको छ । पाल्पामा सबै वडाको सम्मेलन सकिएको छ । प्रदेश सभापति अमरसिंह पुनले जिल्ला सम्मेलन सकिएपछि प्रदेश सम्मेलन गरिने बताए । १३ असारमा बोलाइएको बैठकमा प्रदेश सम्मेलनबारे छलफल गर्ने उनको भनाइ छ ।
कर्णालीमा जिल्लाका कारण प्रदेश सम्मेलन नरोकिने
कर्णालीमा दैलेख र हुम्लाको सम्मेलन सकिएको छ । असार मसान्तभित्र जिल्ला सम्मेलन गर्न जिल्लाहरुलाई परिपत्र गरेको प्रदेश सभापति ललितजंग शाहीले बताए ।
‘सात पदाधिकारीले सम्मेलन गर्नका लागि जिल्लासँग समन्वय गर्नुहुन्छ । सहजीकरण पनि गर्नुहुन्छ,’ सभापति शाहीले भने ।
जिल्ला सम्मेलन भइसकेपछि प्रदेशको सम्मेलन गर्ने सभापति शाहीले बताए । यद्यपि जिल्लाहरुले समयमा सम्मेलन नगरेका कारण प्रदेश सम्मेलन नरोकिने उनको भनाइ छ ।
सुदूरपश्चिमको साउनभित्र सक्ने लक्ष्य
सुदूरपश्चिमका ९ जिल्लामध्ये डोटी, कैलाली र बैतडीको सम्मेलन सकिएको छ । बाजुराको १६ असारमा हुँदैछ ।
अछाम र दार्चुलाबाहेक अन्य जिल्लाले सम्मेलनको मिति तोकिसकेका प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए ।
असारमा जिल्ला सम्मेलन नसकिए साउनभित्र सबै जिल्ला सम्मेलन सक्ने उनले बताए ।
प्रतिक्रिया 4