+
+

भानुभक्तलाई हामीले कसरी सम्झिने ?

भानुभक्त आफ्नो समयका एक राम्रो कवि तथा साहित्यकार हुन्, त्यसमा अन्यथा मान्ने कुरा भएन । तर एकताको प्रतीक आदित्यादि भनेर उनको गुणगान गाउने कुरामा चाहिं पुनर्विचार गरिनुपर्छ ।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० असार २९ गते १७:१६

आज २१०औं भानुजयन्ती । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यलाई राष्ट्रिय एकताको प्रतीक भन्दै शुभकामना सन्देश दिएका छन् । नेपाली भाषी रहेका भारतको सिक्किम र दार्जीलिङमा उनलाई ठूलो सम्मान दिइन्छ र संभवतः छुट्टी पनि मनाइन्छ । उनको नाउँमा दार्जीलिङमा त भानु चोक पनि रहेको छ ।

नेपालमा पनि उनको नाउँमा धेरै ठाउँमा विद्यालय, पुस्तकालयहरू खोलिएका छन् । दरबार हाईस्कुललाई पञ्चायतकालमा भानु माध्यमिक विद्यालय भनिन्थ्यो, सायद अहिले पनि त्यही नाम रहेको होला । यस्तोमा उनी साँच्चिकै सम्माननीय र वन्दनीय व्यक्तित्व हुन् भन्ने कुराको चर्चा धेरै कम मात्र हुने गर्छ । तर आज उनीसँग जोडिएका तर केही फरक दृष्टिकोणबाट उनी र उनको कृतिलाई केलाउने प्रयास गरिएको छ ।

बचपनको बेला मैले स्याङ्जाको वालिङमा जाडो महिनाको दुई महिने छुट्टी बिताएको थिएँ । मलाई अहिले पनि सम्झना छ, एउटा विद्यालयले एउटा नाटक देखाएको थियो । सो नाटकको मूल विषय थियो, भानुभक्तको एउटी बूढीआमाले उनलाई रातिमा बास नदिएको र त्यही झोंकमा उनले लेखेको एउटा कविता–

गजाधर सोतिका घरबुढि अलछिन् कि रहिछन्,

नरक् जानलाई सबसित बिदावारी भइछन् ।

नाटकको मूल कथा के थियो भने, भानुभक्त कुनै कामविशेषले एउटी बूढीआमाको घरमा बास माग्न पुग्छन्, ती बूढीआमा घरमा एक्लै हुन्छिन् र अशक्त पनि । त्यसैले भानुभक्तसँग राम्रो व्यवहार गर्दिनन् र बास पनि दिंदिनन् । रातिमा आउने पाहुना ईश्वरका रूप हुन्छन् भन्ने हिन्दु मान्यताको विपरित ती बूढीआमाले व्यवहार गर्दा सामन्ती संस्कारमा हुर्केका एक जना ब्राह्मण युवकले राम्रो मान्ने कुरा भएन ।

त्यो रात उनले अन्तै गएर बिताउँछन् र सो कविता लेख्छन् । त्यति बेला बूढीआमाको भूमिका एक जना अग्ला र ख्याउटे अनुहार भएका युवाले गरेका थिए, उनको अभिनय र प्रस्तुतिले त्यहाँ एकदमै दर्शकको ध्यान मात्रै आकर्षण गरेको थिएन, हाँसोको फोहोरा पनि छुटेको थियो । त्यतिबेला सो नाटक मेरा लागि एउटा नाटक मात्रै थियो, विषयवस्तु, त्यसको प्रस्तुति, परिवेशको कुनै अर्थ थिएन । तर अहिले आएर सम्झिंदा त्यसको विभिन्न अर्थ लगाउन सक्ने भएको छु ।

अहिले हामी आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक र अधिकारका हिसाबले उन्नत अवस्थामा छौं । खासगरी महिला तथा अन्य अधिकारहरूको आन्दोलन उत्कर्षमा छ । कुनै पनि समारोहहरूमा महिलालाई विभेद गर्ने वा अपमान हुने कुनै शब्द प्रयोग भयो भने सीधै विरोध मात्रै आउँदैन कतिपय अवस्थामा झगडा समेत हुने गर्दछ ।

तर भानुभक्तले आफ्नो जमानामा जुन खालको कविताहरू लेखे ती कविताहरू अहिलेको सन्दर्भमा हेर्दा त पचाउन नसकिने र लाज लाग्ने खालका छन् भन्दा फरक पर्दैन । कवि र स्रष्टा भनेका कोमल हृदयका हुन्छन् र मानव हितका कुराहरू नै सोच्छन् र व्यक्त गर्छन् भन्ने मान्यता राखिन्छ तर भानुभक्तको सन्दर्भमा त्यस्तो खासै देखिंदैन ।

उनको समयका घाँसी के जात र थरका थिए थाहा हुँदैन, तर त्यस्तो काम गर्ने त्यतिबेला जनजाति हुन्थे, उनको घाँसी कवितामा एउटा घाँसीले त्यै घाँस बेचेर कुवा बनाउने प्रसंग देख्दा उनी आरिसले भुतुक्क भएको देखिन्छ र उनी पनि कुनै कृतिको सिर्जना गर्ने सोचमा लाग्छन् भन्ने पर्छ । उनको कविताले त्यो घाँसीप्रति खासै सम्मान व्यक्त गर्दैन । मानौं, उसले कुवा बनाउन खोज्नु पनि उनका लागि उति सह्य विषय थिएन ।

उनका मैले पढेका कुनै पनि कविताहरूमा दलितको प्रसंग देखिंदैन, अर्थात् त्यसप्रति उनी निरपेक्ष छन् । उनको पालामा जातीय छुवाछूत उत्कर्षमा मात्रै थिएन, अन्तरजातीय विवाह गर्ने दलित पुरुषलाई मृत्युदण्ड दिइन्थ्यो । तर त्यस्तो अवस्थाप्रति भानुभक्तले कुनै मानवीयता प्रस्तुत गरेका छैनन् । अतः उनी हाम्रा कवि हुन् भन्ने कुनै आधार भेटिंदैन ।

उनले नेपाली भाषाको श्रीवृद्धिमा पु¥याएको योगदान र रामायणलाई नेपालीमा अनुवाद गरी घरघरमा पु¥याएको कारणले गर्दा नेपालीलाई एकताबद्ध बनाउन योगदान पु¥याएको पनि भनिन्छ । तर अहिले आएर यी सबै कुराहरूलाई केलाउँदा मलाई के लाग्छ भने दलितले शिक्षा आर्जन गर्नु त परको कुरा वेद, पुराण पढेमा जिब्रो थुतिदिने र सुनेमा सिसा पगालेर हालिदिने व्यवस्थामा यो रामायणको नेपालीकरण गरिनु हाम्रा लागि हर्ष न विस्मातको कुरा थियो ।

म पञ्चायतकालमा जन्मेको मान्छे हुँ । मेरो बुवा साक्षर हुनुहुन्थ्यो, आमा निरक्षर । हाम्रो घरमा मेरा हजुरबा तथा हजुरआमाको पालामा समेत रामायण, महाभारतको कुनै चर्चा हुँदैनथ्यो । अतः भानुभक्तको रामायणले मूलतः उनकै जात समूहलाई सजिलो बनाइदिएका हुन् । किनभने बिहान बिहान पुरुषहरूले त्यसको वाचन गर्थे भने घरका अन्य सदस्यहरूले सुन्थे । अतः उनीहरूका लागि यो उत्कृष्ट साहित्य नहुने कुरा भएन ।

भानुभक्त मोतीराम भट्टको कारणले गर्दा आदिकवि भएका छन् तर कसका आदिकवि भन्ने बहस हुनुपर्छ कि पर्दैन ? अहिले नेपालमा १२५ जातजाति तथा १२४ भाषाहरू रहेको कुरा त तथ्यांक विभागले नै उल्लेख गरेको छ, यति धेरै विविधता भएको ठाउँमा केवल ३१ प्रतिशत जनसंख्या ओगट्ने समूहले प्रयोग गर्ने भाषा, धर्मशास्त्रको बखान गरेकामा उनलाई यत्रो पुरस्कार दिनुपर्ने कारण के छ ?

महिला अधिकारकर्मीहरूले भानुभक्तलाई कसरी स्वीकार गर्ने ?

भानुभक्तको एउटा कविता जुन वधू शिक्षामा उल्लेख भएको छः

हाँस्नु छैन कदापि नारीहरुले, वेश्या हुने हाँस्दछन्,

वेश्या नै नहुन् तथापि घरको काम् ती सबै नास्तछन् ।

सालहरूलाई हेर्दा भानुभक्तको मृत्यु सन् १९२५ मा भएको देखिन्छ भने चन्द्रशमशेर सन् १९२९ सम्म प्रधानमन्त्री थिए र उनकै पालामा सती प्रथाको अन्त्य गरिएको थियो । तर भानुभक्तको बधू शिक्षालाई पढ्दा कुनै महिलावादी व्यक्तिको त परको कुरा एउटी सामान्य गृहिणीले पनि स्वीकार गर्न नसक्ने कविता लेखेका छन् ।

उनले सो वधू शिक्षामा महिलाहरूलाई पुरुष वा पतिको दासीको रूपमा चित्रित गर्दै सती समेत जानू भनी लेखेका छन् । हामीले जंगबहादुर राणाको १९१० को मुलुकी ऐनलाई मानवताविरोधी कानुन भनेर विरोध गर्छौं भने महिलाहरूले वधू शिक्षालाई पनि त्यस्तै अमानवीय कविता भनी विरोध किन नगर्ने ?

उनको यो ख्यालको महिला माथि ज्यादती थोपर्ने कविताको उत्तरमा भीमनिधि तिवारीले वर शिक्षा भन्ने कविता लेखेका छन् । त्यसमा उनले केवल महिलाको मात्र पुरुषहरू प्रति कर्तव्य हुँदैन, पुरुषहरूको पनि महिला प्रति त्यत्तिकै कर्तव्य हुन्छ भनेका छन् ।

उनको वधू शिक्षाको कवितामा भनिएको छः

सौताको रिस गर्नु पाप छ बहुत् एकै दुबैका पति,

मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ।

यस्तो जानि नमानि केही मनमा मीलून् बहूतै गरी,

टाल्टुल गर्नु फुट्यो टुट्यो घर भन्या सिप्लाई जाहेर् गरी ।।

उनको कविता हेर्दा महिलाप्रति उनको कुनै मानवीय दृष्टिकोण त परको कुरा घोर उत्पीडनकारी रहेको कुरा देख्न सकिन्छ । उनकै जीवनकालमा चन्द्रशमशेर जस्तो क्रूर राणा शासकले सती प्रथाको अन्त्य गरेको देखिन्छ, तर कविहरू जो प्रायः मानवीयताका प्रतीक हुन्छन्, उनको महिलाप्रति बहुविवाह र सती प्रथालाई महिलाको परम कर्तव्य मात्र नभईकन धार्मिक मोक्षको साधन मान्नु कतिसम्म जायज हो ?

किनभने उनी भन्दा पहिले नै नेपाली समाजमा सन्त जोसमणि परम्परा सुरु भइसकेको थियो । त्यसैमा प्रशिक्षित भएर योगमायाले महिला अधिकार तथा जातीय समानताको वकालत गरेकी थिइन्, तर भानुभक्त तत्कालीन समयमा एउटा पढेलेखेको व्यक्ति भएर पनि उनमा त्यति पनि मानवीय संवेदना नआउनुलाई कसरी सामान्य कुरा मान्ने !

अतः उनको सम्झनामा उनलाई जे जति विशेषण दिएर उनको स्तुति गान गरिन्छ त्यसमा पुनर्विचार गरिनुपर्छ । उनी आफ्नो समयका एउटा राम्रो कवि तथा साहित्यकार हुन्, त्यसमा अन्यथा मान्ने कुरा भएन । तर उनलाई एकताको प्रतीक आदित्यादि भनेर उनको गुणगान गाउने कुरामा विचार गरिनुपर्छ ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?