
घर केलाई भनिन्छ ? संरचनालाई भन्ने कि भावनालाई ? अनुभूतिलाई कि अपनत्वलाई ? यसको ठ्याक्कै उत्तर यही भन्ने होला त ? सायद नहोला! जेहोस्, घर बस्ने स्थान हो। घाम, पानी, हुरी, बतास, ताप र त्रासबाट जोगाउने सुरक्षित ठाउँ हो। माया, आफ्नोपन र भौतिक संरचनाको एक सम्मिश्रण हो।
खासमा घर के रै’छ भनेर विवाह भएपछि सोच्न थालें । घरको बढी अनुभूति विवाह भएपश्चात् हुन थाल्यो। दुलही भित्र्याउँदा पाथीमा भरिएको धानमा जनै-सुपारी खोज्दैथिएँ। आफन्तहरु अब घरको ताला चाबी तिम्रो भयो, ढिकुटी तिम्रो भयो भन्दै थिए। मनै चिसो भएर आयो त्यसबेला। घरै पहिलो पटक देख्दै थिएँ। ढोकामा पहिलो पटक पाइला राख्दै थिएँ। घरै जिम्मा भो भन्दा कति आतेस हुन्छ मान्छेलाई ….! आफ्नोपन त सम्बन्धको माग पो हो त ! अपनत्व भन्ने चिज जबर्जस्ती भिराएर हुने हो र ?
वरिपरि भएका सबै आफन्त पहिलो पल्ट देख्दैथिएँ। कसैसँग परिचय नै भएको थिएन। उनीहरु सबै घरपट्टिका आफन्त रे ! अनि जो मेरा वर्षौंदेखिका आफन्त थिए, उनीहरु सबै माइततिरका रे ! जन्मेर वर्षौं बिताएको घर एकाएक ‘घर’ थिएन। उता देख्दै नदेखेको घर जबर्जस्त आफ्नो ‘घर’ भइरहेको थियो।
यस प्रकारको सामाजिक, सांस्कृतिक उल्झनले छोरीबाट बुहारीसम्मको यात्रा थप सङ्कटमय बनाउनेरहेछ। क्रमिक रुपमा जिम्मेवारीबोधको स्वतन्त्रता नहुनु, छनोटको अधिकार नहुनु, साथै समयसँगै अनुकूलन हुने अवसर नहुनु ‘बुहारी’ पदको हाउगुजी हो। तर अहिले भने दुवै मेरा घर भएका छन्। दुवैतिरका मेरा आफ्ना भएका छन्।
‘घर’सँगको शीतयुद्ध भने सकिएको छैन अझै। म, दुवै घर मेरा हुन्। जिम्मेवारी पनि मेरो हो भन्छु। तर, समाजले धर दिंदैन। किनकि, म एक विवाहित महिला हुँ। विवाहपश्चात् पनि म कथित ‘माइतीघर’ (मेरो पनि घर) मै बस्छु। मेरो एउटा भाइ छ। ऊ परिवार सहित विदेशै बस्छ।
आमा एकल हुनुहुन्छ। यो मेरो पारिवारिक पृष्ठभूमि हो। म आमासँग बस्नु, मेरो रहर, रुचि, बाध्यता र कर्तव्य हो। यी सबैभन्दा बढी आमाको संरक्षण मेरो जिम्मेवारी हो। तर मलाई समाजले आमाको संरक्षक बन्न दिइरहेको छैन। सन्तानको कर्तव्य सहज रुपमा पूरा गर्न दिइरहेको छैन। जसका केही उदाहरण छन् मसँग, जुन यहाँ प्रस्तुत गर्दैछु।
विवाहपश्चात् जब १/२ वर्ष भएको थियो आमासँग बस्न थालेको, तब तब संगठित रुपमा नजिकका आफन्तहरुबाट दबाबमूलक प्रश्न आउन थाले— छोरी किन यहाँ बस्छे ? ज्वाइँ छोरीको राम्रो छैन कि क्या हो… यसरी छोरी माइत बसेको राम्रो हैन… उसको घर बिग्रन सक्छ। सम्झाउनुस् है छोरीलाई। परै बसेर पनि रेखदेख गर्न सकिहालिन्छ नि आमाको… आदि आदि भनेर।
यी सबै प्रश्नको एक-एक जवाफ छ मसँग। तर, सबै मानिससँग लड्दै हिंड्न सम्भव पनि नहुने रै’छ। मेरा हर व्यक्तिगत सम्बन्धको स्पष्टीकरण क-कसलाई मात्रै बुझाउँदै हिंड्ने ? र किन बुझाउने मैले ?
हुँदै नभएका समस्या खडा गरेर संगठित रुपमा गरिने यस्ता आक्रमणले छोरीलाई वंश नमान्ने समाजको स्पष्ट चित्र बोल्छ। छोरीको विवाह भएपछि आमा-बाबुप्रति खासै कर्तव्य हुँदैन। जति गर्न सकिन्छ, सबै श्रीमान्को घरतिर मात्र गर्नुपर्छ भन्ने जबर्जस्त भाष्यले छोरी दोस्रो दर्जाको सन्तान मात्र हो भन्ने पुष्टि गर्छ। पारिवारिक अवसरहरुबाट वञ्चित गर्छ।
असल बुहारी जो परिवार सम्हालोस्।
परिवारका सबै सदस्यप्रति माया र बफादारपूर्ण जिम्मेवारी पूरा गरोस्। सहनशील बनोस्, आदि आदि चाहने समाज ज्वाइँप्रति चाहिं राजसी सत्कार खोज्छ। बुहारीलाई सहनशीलता पढाएर नथाक्ने समाज, ज्वाइँले धन्न हाम्री छोरी पालिदिनुभएको छ ‘जसरी’ ज्वाइँप्रति मुलायम बन्छ। ज्वाइँले खाना खाएको प्लेट समेत उठाउन नदिने संस्कारी समाज, बुहारीले कसैलाई भाँडा माझ्न दिनुहुँदैन, घरको काम बुहारीले त हो नि गर्ने ! भनेर हुर्मत लिन्छ।
हामी कस्तो जगमा उभिएर समानतामा आधारित समावेशी समाजको भविष्य निर्माण गर्दैछौं ? फेरि म घरतिर फर्कें। हाम्रो घरमा कसैको विवाह, व्रतबन्ध वा कुनै निमन्त्रणा आउँदा आमा र मेरो दुवैको नाममा आउन थालेको धेरै भयो। यही घर हो, मेरो विवाहपूर्व आमाको नाममा मात्र निमन्त्रणा आउँदा हुन्थ्यो। तर आजकाल त्यसो हुँदैन।
यो देखेर म, मेरो ठाउँमा मेरो भाइलाई राखेर आफ्नो सामाजिक हैसियत तौलन्छु। निमन्त्रणा गर्न आउने मानिसहरुको अनुहार पढ्छु। मतिर हेरेर उनीहरु तिमी नि आउ नि… न आउली नि फेरि…. भन्छन्। म छक्क पर्छु ‘नआउली नि फेरि’ किन भनेका होलान्…. ?
म माइत बस्नु उनीहरुको भाषामा ‘निरीह’ हुनु हो ? ‘बिचरा’ हुनु हो? विकल्पविहीन हुनु हो ? म त्यसबेलाको उनीहरुको दरिद्रताको भारी महसुस गर्न सक्छु। आमा र म अलग-अलग घरका हौं भनेर कित्ताकाट गर्ने अधिकार कसले दियो उनीहरुलाई ? आमा-छोरा एकाघर देख्ने आँखाले आमा-छोरी एकाघर किन देख्दैन ? छोराले आमा पालेको देख्ने आँखाले छोरीले आमा पालेको हेर्नु हुँदैन ?
एकदिन आमा ‘र्याण्डम्ली’ कोही आफन्तसँग फोनमा बोल्दै हुनुहुन्थ्यो। म चाहिं सुन्दै थिएँ। अनि छोरी आजकल कता छे ? उताबाट प्रश्न आयो। जब कि म यहीं बस्छु भन्ने थाहा हुँदाहुँदै चासोपूर्ण सोधाइ आउनु भनेको अप्रत्यक्ष रुपमा आमालाई यहीं छे भनेर ‘बोलाउन’ सोधेको अनुभूति भयो मलाई । यति मात्र नभएर ज्वाइँ चाहिं कता बस्नुहुन्छ नि ? भन्ने प्रश्न आयो फेरि। यी कुरा सुन्दा मलाई यस्ता प्रश्नकर्ताप्रति आक्रोश व्यक्त गर्न मन लाग्छ।
कुरा घर र बेघरको मात्र हैन। कुरा पहिचानको हो। कुरा समान अधिकार र हैसियतको हो र कुरा सन्तानले आफ्ना बाबुआमाप्रति गर्ने समान दायित्वबोधको हो।
मेरो एउटा छोरो छ। एक वर्ष अघिको कुरा हो। ऊ खेल्न गएको थियो। एकजना छिमेकी आमाले खै के प्रसंगमा, यो त तेरो घर हैन नि बाबु…! यो घर त… मेरा भाइका छोराछोरीको नाम लिएर उनीहरु को पो हो त ! भनिछन्। ऊ घर आएर खूब रोयो। आमाले भाइबहिनीको जस्तै तिम्रो पनि घर हो…! भनेपछि बल्ल शान्त भयो।
छोरालाई विरासत, सम्पत्ति र पितृत्वको पुञ्जमा चढाइरहँदा, छोरीलाई भने तेरो यहाँ केही छैन। जे छ अर्काकै घरमा छ भनेर एकोहोरो किन रटाइयो ? हरेक पारिवारिक, सामाजिक, धार्मिक गतिविधिमा ‘छोरी मान्छे भएर’ भन्दै मापदण्ड तोक्दै मनोवैज्ञानिक रुपमा छोरीलाई किन थिलथिलो पारियो ? प्रश्नहरुबाट किन निषेध गरियो ? उत्तरहरुमा किन बन्देज लगाइयो ?
सदियौंदेखि हामी छोरीहरुमा ‘डर’ रोपियो। त्यही ‘डर’ लाई मलजल गरियो। यसले कस्तो प्रत्युत्पादन दिन्छ ? या दिइरहेको छ ? यसका असरको बारेमा अब हामी बोल्छौं। छोरीहरु बोल्छौं। अहिलेसम्म ‘डर’ रोप्ने काम धेरै भयो। अब यस बारेमा चिन्तन गरौं। छोरीहरुमा विद्रोह र वितृष्णा उम्रनु परिवार र समाजको लागि क्षति हो।
मेरो एकजना दिदी हुनुहुन्छ। उहाँका दुई वटी छोरीहरु छन्। अब यिनीहरु पढाइ सकेर कहाँ बस्छन् ? ज्वाइँ कस्ता आउँछन् ? त्यही अनुसार नजिकै घर बनाउँछौं। नत्र एउटै घरमा एक फ्लाटमा हामी, एक फ्लाटमा छोरी ज्वाइँ बस्नुपर्ला बुढेसकालमा।
के गर्नु छोरीहरुको नजिकै बस्नुपर्यो नि भन्नुभो। उहाँले यसो भनिरहँदा हामी छोरीहरुसँगै बस्छौं किन भन्न सक्नुभएन ? वा छोरीहरु हामीसँग बस्छन् किन भन्न सक्नुभएन ? भन्ने सम्झें।
तर, यो प्रश्नले हाम्रो समाजको गहिरो यथार्थ भने बोकेको छ। छोराहरुको ग्राह्यताले हामी यतिसम्म थिचिएका छौं कि शिक्षाले पनि उठ्न सकेका छैनौं। चेतना, कानुन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुबन्ध सबै शून्य प्रभावी सरह भएका छन्।
छोरी मात्र भएका आमा-बाबुहरु, छोराहरु यहाँ नभएका आमा-बाबुहरु, छोरीसँग बस्न चाहने आमा-बाबुहरु र आमा-बाबुहरुसँग बस्न चाहने छोरीहरुको परिवार के यो समाजले नस्वीकार्ने? कि यस्ता परिवार हाम्रो सामाजिक मापदण्डभित्र पर्दैन? परे पनि कित्ता फरक हुनुपर्ने स्थिति कहिलेसम्म?
हामीले नै बनाएको हो, यो पारिवारिक मापदण्डको चेकलिष्ट र बदल्ने हक पनि हामीसँग सुरक्षित छ। त्यसैले, हाम्रो सामाजिक चेकलिष्ट अब बदल्ने कि ?
प्रतिक्रिया 4