
२१ साउन, काठमाडौं । नेपाल टेलिकमको ‘पोइन्ट अफ इन्टरकनेक्सन’को ठेक्कामा आर्थिक प्रतिस्पर्धा नै नहुने भएको छ । टेलिकमले ठेक्कामा भाग लिएका ४ मध्ये ३ कम्पनीलाई प्राविधिक रुपमा ‘अयोग्य’ (डिस्क्वालिफाइड) ठहर गरेपछि आर्थिक प्रतिस्पर्धामा चीनको प्रविधि प्रयोग गर्ने ‘हुवावे इन्टरनेसनल सिंगापुर’ मात्र सहभागी हुने अवस्था आएको हो । अब हुवावेले जति रकम प्रस्ताव गरेको छ, त्यही कबोल अंकमा यो ठेक्का लाग्नेछ ।
ठेक्का प्रिकया नसकिंदै देश विदेशका फरक–फरक मोबाइल अपरेटरहरुको सेवालाई टेलिकमसँग जोड्ने ‘इन्टरकनेक्सन प्रविधि’लाई अपडेट गर्न टेलिकमले हुवावेको ‘सोलुसन’ नै प्रयोग गर्ने निश्चित भएको छ । यसअघि पनि हुवावेले नै टेलिकमको इन्टरकनेक्सनको ठेक्का पाएको थियो । र, करिब ९ वर्षदेखि अहिलेसम्म हुवावेले नै यही कार्यको ठेक्कामा भेन्डरका रुपमा काम गरिरहेको छ ।
टेलिकमका अधिकारीहरुका अनुसार तेस्रो पटक ठेक्का आह्वान गर्दा ‘हुवावे सिंगापुर’मात्रै यो ठेक्कामा योग्य ठहर भएको छ । पछिल्लो पटक १६ अप्रिल २०२३ (३ वैशाख २०८०) मा यो प्रविधिका लागि ठेक्का आह्वान भएको थियो ।

आर्थिक मूल्यांकन सक्न नपाउँदै यो ठेक्का विवादमा परेको छ । टेलिकमले प्राविधिक पक्षमा एउटा मात्रै कम्पनी योग्य ठहर गरेर १४ अगस्ट २०२३ (२९ साउन २०८०) मा ठेक्काको आर्थिक प्रस्ताव खोल्ने मिति तय गरेको छ ।
हिजो अयोग्य, अहिले योग्य
तर, अधिकारीहरु यो ठेक्का प्रक्रिया विगतदेखि नै हुवावेलाई नै दिने गरी गरिएकाले आर्थिक प्रतिस्पर्धा नै नहुने अवस्था आएको दाबी गर्छन् । उनीहरुका अनुसार विगतमा २ पटक बोलपत्र रद्द हुँदा टेकिलमले गरेका निर्णयहरु शंकास्पद थिए ।
१४ जुलाई २०२१ (३० असार २०७८) मा पहिलो पटक आह्वान भएको ठेक्का मूूल्यांकनपछि सहभागी तीन वटै कम्पनीलाई अयोग्य ठहर गरिएको थियो । ठेक्कामा भाग लिएको जेन्यू टेक्नोलोजी चाइना, हुवावे सोलुसनसहितको जेनेक्स नेपाल र सिटिअस नेपाल–भीआईएस ग्लोबल अस्ट्रेलिया–न्यूआईटी भेन्चर नेपालको जाइन्ट भेन्चर कम्पनी ठेक्कामा अयोग्य ठहर भएका थिए ।
१ जुलाई २०२२ (१७ असार २०७९) मा फेरि दोस्रोपटक बोलपत्र आह्वान भएको थियो । मूल्यांकनपछि सहभागी दुबै बोलपत्रमा भाग लिने कम्पनीहरु पनि अयोग्य ठहर भएका थिए । जेन्यू टेक्नोलोजी चाइना र हुवावे सोलुसनसहितको जेनेक्स नेपालले भाग लिए पनि यो ठेक्कामा पनि दुबै अयोग्य घाषित भएका थिए ।
तेस्रोपटक भने एउटा मात्रै कम्पनी योग्य ठहर भएको छ । तेस्रोपटकको ठेक्का जेन्यू टेक्नोलोजी चाइना, ओराकल सोलुसनसहितको सिटिअस नेपाल र पोर्टेइ रसिया सोलुसन्ससहितको न्यूआईटी भेन्चर नेपाल अयोग्य घोषित भए । तर, हुवावेको सोलुसन नै यसपटक योग्य सावित भयो । हुवावेको सोलुसन ल्याएको नेपालकै कम्पनी अयोग्य हुँदा तेस्रोपटकमा हुवावे सिंगापुर कुन आधारमा छानियो भन्ने स्पष्ट छैन ।
विगतमा अयोग्य ठहर भएको ‘सोलुसन’लाई नै अहिले प्राविधिक रुपमा योग्य घोषित गरेर आर्थिक प्रस्ताव खोल्न लागिएकामा टेलिकमकै अधिकारीहरु रुष्ट छन् । ‘एउटै कम्पनीले ३–३ पटक आवेदन गर्दा कोही योग्य र कोही अग्योग्य कसरी हुन्छन् ?,’ टेलिकमका एक अधिकारी दाबी गर्छन्,‘आफ्नो स्वार्थअनुकुलको कम्पनीलाई प्रतिस्पर्धा नै नगराउने नियत राख्दा यस्तो अवस्था आएको हो ।’
पहिलो र दोस्रो पटक ठेक्का दिलाउन चाहेको कम्पनीले पेश गरेको कागजातमा नै त्रुटि भेटिएपछि सबै कम्पनीलाई अयोग्य ठहर गरिएको दाबी अधिकारीहरुको छ । ‘दोस्रो पटक त अर्को कम्पनी प्राविधिकमा पास भएर मिलेमतो गरेको कम्पनी बाहिरिने अवस्था आएपछि बीचमै मूल्यांकन समितिमा अरु नै सदस्य छिराएर आफूअनुकुलको निर्णय गराउने काम भएको थियो,’ स्रोत भन्छ ।
‘भेन्डर लक’ हुने जोखिम
टेलिकमका कतिपय अधिकारीहरू भने भेन्डरहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि ठेक्काहरू विवादमा पर्ने गरेको बताउँछन् । टेलिकमका अधिकांश प्रणाली एउटै कम्पनीको नियन्त्रणमा रहँदा ‘भेन्डर लक’ हुने अवस्था आएकाले टेलिकम नेतृत्वले स्वस्थ प्रतिस्पर्धामा जोड दिनुपर्ने अधिकारीहरूको भनाइ छ ।
‘सबैजसो सोलुसनमा एउटै कम्पनीको वाहुल्यता हुनु ठीक हैन,’ एक अधिकारी भन्छन्,’ ठेक्काको कागजात बनाउँदा नै एउटै कम्पनीलाई बढी ग्राह्यता दिने प्रचलनको अन्त्य जरूरी छ ।’
टेलिकमका प्रवक्ता शोभन अधिकारी पोइन्ट अफ इन्टरकनेक्सनको ठेक्का प्रक्रिया नीति नियमअनुसार नै अघि बढेको बताउँछन् । ‘प्रक्रियामा मै रहेको बोलपत्रबारे सबै जानकारी हामीसँग हुँदैन,’उनले भने,‘नियमभन्दा बाहिरबाट टेलिकमले कुनै काम गर्दैन ।’
प्रतिक्रिया 4