
१ असोज, काठमाडौं । एक वर्षको अवधिमा १ मेगावाटभन्दा ठूला २० वटा जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेका छन् । विद्युत् विकास विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) ०७९/८० मा राष्ट्रिय प्रसारणमा जोडिएका यी आयोजनाको कुल क्षमता ४६६ मेगावाट छ । विद्युत् विकास विभाग महानिर्देशक चिरञ्जीवी चटौतका अनुसार यी कम्पनीका प्रवर्द्धकलाई यस आवमा विभागले सम्मानसमेत गरेको थियो ।
गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको सबैभन्दा ठूलो जलविद्युत् आयोजना ८६ मेगावाटको सोलुखोला (दूधकोशी) परियोजना हो । साहस ऊर्जा लिमिटेडले निर्माण गरेको यो आयोजना सोलुखुम्बु जिल्लामा छ । त्यस्तै, लमजुङ जिल्लामा रहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ परियोजना पनि गत आर्थिक वर्षमा नै सम्पन्न भएको हो । कास्की जिल्लामा अवस्थित ४४ मेगावाटको सुपर मादी तथा बझाङमा रहेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड परियोजना पनि सोही वर्ष सम्पन्न भएका हुन् । ३६ मेगावाटको माथिल्लो बलेफी र २८.१ मेगावाटको तल्लो लिखु आयोजना पनि गत आर्थिक वर्षमा नै सम्पन्न भएका हुन् ।
गत आवमै २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना र २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ पनि सकिएका थिए । त्यस्तै, १९.८ मेगावाटको माथिल्लो सोलुखोला र १८ मेगावाटको मध्यमोदी आयोजनाले पनि गत आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन सुरू गरेका थिए ।
१२ मेगावाट क्षमताको दोर्दी– १ तथा ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजनाले पनि सोही आवमा व्यावसायिक उत्पादन थालेका हुन् । यसैगरी, ४.९६ मेगावाटको पुवा २, ९.५ मेगावाटको मध्य सोलुखोलाको समेत यस आवमा उत्पादन सुरू भएको छ ।
यस आवमा १५.३३ मेगावाटको कांलगागाड, ४.५५ मेगावाटको माथिल्लो माछा खोला, ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला, १० मेगावाटको मकरीगाड, ५ मेगावाटको रुकुम गाड र १४.९ मेगावाटको मायाखोला जलविद्युत् आयोजनाले व्यवसायिक उत्पादन सुरू गरेका हुन् ।
अहिले देशभर १४१ वटा आयोजनाले व्यावसायिक रुपमा जलविद्युत् उत्पादन गरिरहेको विभागले जनाएको छ । मुलुकमा जलविद्युत् आयोनजाको मात्रै कुल क्षमता २ हजार ५५१ मेगावाट रहेको छ । सौर्य, सहउत्पादन, १ मेगावाटभन्दा कम क्षमता, वैकिल्पक ऊर्जा प्रवर्द्धन केन्द्र र डिजेल प्लान्टबाट समेत जोड्दा कुल विद्युत् उत्पादन क्षमता २ हजार ७८४ मेगावाट पुगेको छ ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा भने झण्डै ९ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।
आव २०७९/८० मा व्यावसायिक सञ्चालनमा आएका जलविद्युत् आयोजना
जलविद्युत् आयोजना | क्षमता | उत्पादन मिति |
---|---|---|
दोर्दी–१ जलविद्युत् | १२ | १४ असोज २०७९ |
दोर्दी खोला | २७ | १४ असोज २०७९ |
चेपे खोला | ८.६३ | १६ असोज २०७९ |
तल्लो लिखु | २८.१ | १९ कात्तिक २०७९ |
माथिल्लो बलेफी ‘ए’ | ३६ | ६ मंसिर २०७९ |
पुवा–२ | ४.९६ | १२ मंसिर २०७९ |
माथिल्लो दोर्दी ‘ए’ | २५ | १७ मंसिर २०७९ |
मध्य मोदी | १८ | ८ पुस २०७९ |
मध्य सोलु | ९.५ | १५ पुस २०७९ |
कालंगागाड | १५.३३ | २७ माघ २०७९ |
माथिल्लो कालंगागाड | ३८.४६ | ६ फागुन २०७९ |
सोलु खोला (दूघ कोशी) | ८६ | १७ फागुन २०७९ |
माथिल्लो माछा खोला | ४.५५ | १७ फागुन २०७९ |
माथिल्लो पिलुवा खोला | ४.७२ | २२ फागुन २०७९ |
मकरीगाड | १० | २७ फागुन २०७९ |
सुपर मादी | ४४ | २७ चैत २०७९ |
रुकुम गाड | ५ | २८ चैत २०७९ |
सुपर दोर्दी ‘ख’ | ५४ | ८ जेठ २०८० |
माथिल्लो सोलु | १९.८ | १ असार २०८० |
माया खोला | १४.९ | २२ असार २०८० |
पाइपलाइनमा कति क्षमताका आयोजना ?
विद्युत् विकास विभाग महानिर्देशक चिरन्जीवी चटौतका अनुसार आव २०७९/८० सम्म जलविद्युततर्फ ९ हजार १२ मेगावाट क्षमताको सर्वेक्षण अनुमति जारी भइसकेको छ ।
उत्पादनतर्फ ८ हजार ७४५ मेगावाट क्षमताको अनुमतिपत्र जारी भइसकेको छ । सौर्य ऊर्जामा ७०७ मेगावाट क्षमता बराबरको सर्वेक्षण अनुमति जारी भएको छ । सौर्य ऊर्जा उत्पादनतर्फ नै ९९ मेगावाट क्षमताका लागि अनुमतिपत्र जारी भएको छ ।
प्रसारणअन्तर्गत १३२ केभी, २२० केभी र ४ सय केभीमा क्रमशः ११९० किलोमिटर, ४९७ किलोमिटर र १८०४ किलोमिटर प्रसारणलाइनको सर्वेक्षण अनुमति जारी भएको छ ।
प्रसारणलाइनको अनुमतिका लागि १३२ केभी, २२० केभी र ४०० केभीमा क्रमशः २०३५, १०९४ र ७६२ किलोमिटर प्रसारणलाइनको अनुमतिपत्र जारी भइसकेको विभागले जनाएको छ ।
प्रतिक्रिया 4