विश्वको जनसंख्या जति तीव्र रुपमा बढिरहेको छ उति नै तीव्र ढंगले मानिसहरुको जिवनशैलीमा पनि परिवर्तन आइरहेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार आगामी केही दशकमै विश्वको ७० प्रतिशत जनसंख्या सहरबासी हुनेछ । अर्थात् सोही मुताविक आगामी दिनहरुमा विश्वका सबै देशका सुविधाहरु विकसित हुँदै जानेछन् । यद्यपि अहिले भने तस्वीर विल्कुलै फरक छ ।
विश्वका केही सहरहरु जनसंख्या विस्फोटसँग जुधिरहेका छन् र गरिबी तथा दयनीयताको नमूना पेस गरिरहेका छन् भने केही देशहरु स्मार्ट प्रविधि अबलम्बन गर्दै तीव्र रुपमा आफ्ना सहरहरुलाई स्मार्ट सहरमा बदलिरहेका छन् ।
हाम्रो देशमा पनि बेला बखतमा राजधानी लगायतका विभिन्न सहरलाई स्मार्ट सिटी बनाउने कुरा चल्छ । आखिर एउटा स्मार्ट सिटी कस्तो हुन्छ ? त्यसका मापदण्डहरु के के हुन् ? स्मार्ट सहरमा बस्ने मानिसहरुको जीवनशैली कस्तो हुन्छ ? विकाशोन्मुख तथा विकाशशील देशहरुले आफ्ना सहरहरुको जिवनशैलीलाई विश्वस्तरको बनाउनका लागि कति मेहेनत गर्नुपर्छ त ?
के ले बनाउछ सहरलाई स्मार्ट ?
वर्ल्ड अर्बन फोरमका अनुसार विश्वभरमा १० हजारभन्दा धेरै सहर भए पनि स्मार्ट भन्न मिल्ने सहर भने औंलामा गन्न सकिने मात्रै छन् । यहाँनेर प्रश्न उठ्छ कि आखिर यस्ता के खुबीहरू हुन्छन् जसले एउटा सहरलाई स्मार्ट बनाउँछ ।
वास्तवमा कुनै सहरलाई स्मार्ट बनाउनका लागि विभिन्न मानकहरु छन् । जस्तै आधारभूत संरचना अर्थात् भौतिक संरचना, डिजिटल कनेक्सन, पर्यावरण र विकासको सन्तुलन, शिक्षा-चिकित्सा र हरित ऊर्जा स्रोतहरुको पर्याप्त संसाधनको उपलब्धता, आधुनिक परिवहन इत्यादि ।
एउटा स्मार्ट सिटीमा मानिसहरुको तथ्यांकको आधारमा योजना निर्माण हुन्छ, नागरिक कल्याण तथा सरकारी सेवाहरुमा तिनै तथ्यांकको आधारमा सेवाहरुलाई उत्कृष्ट बनाउनका लागि योजना तय गरिन्छ । सबैभन्दा अहम् कुरा त मानिसहरुको डिजिटल तथ्यांक हो जसबाट केवल पहिचान बलियो मात्र हुँदैन जनकल्याणको कार्यक्रमको लाभसमेत सही तथा लक्षित मानिससम्म पुर्याउनका लागि सहयोग पुग्दछ ।
स्मार्ट सहरको आवश्यकता किन ?
संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार विश्वको जनसंख्या तथा रहनसहनमा ठूलो परिवर्तन आउनेवाला छ । सहरीकरण, औद्योगीकरण तथा ग्रामीण इलाकाबाट मानिसहरुको पलायनका कारण सन् २०५० सम्ममा ७० प्रतिशत जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्नेछन् । अर्थात् आगामी तीन दशकमा सहरी जनसंख्यामा अढाइ अर्बले वृद्धि हुनेछ । यतिधेरै जनसंख्याका लागि खाना, सुलभ घर, शिक्षा, चिकित्सा, बिजुली, खाना पकाउने इन्धन, परिवहन जस्ता अत्यावश्यक सुविधाहरु उपलब्ध गराउनुपर्नेछ । अरबौं मानिसहरुका लागि यति ठूलो परिमाणमा यतिधेरै चिजहरु जुटाउने कुरा प्रविधि विना सम्भव छैन । त्यसैले विश्वभर नै स्मार्ट सिटीको अवधारणा विकास भैरहेको छ ।
स्मार्ट सिटीको जीवनशैली कत्तिको स्मार्ट हुन्छ ?
वास्तवमा कुनै पनि सहर स्मार्ट तब बन्दछ जब उसले आफ्ना दैनन् दिनका कामहरुमा तीव्र गतिमा प्रविधिलाई अपनाएको हुन्छ । सिंगापुरको युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनले अर्थतन्त्र, प्रविधिको अबलम्बन तथा नागरिकहरुको जीवनशैलीको आधारमा संसारका सहरहरुको मूल्यांकन गर्दछ र कुन सहर कत्तिको स्मार्ट छ भन्ने वर्गीकरण गर्दछ । सिंगापुर, नर्वेको ओस्लो, फिनल्याण्डको हेलसिंकी, स्विजरल्याण्डको ज्यूरिच जस्ता सहर विश्वका सबैभन्दा उत्कृष्ट स्मार्ट सहरहरुको सूचिमा शीर्ष स्थानमा आउँछन् । आखिर त्यहाँको जीवनशैली यस्ता के परिवर्तन आएका छन् कि ती सहरहरुले आफ्ना बासिन्दालाई स्मार्ट जीवनशैली प्रदान गर्न सक्षम भए । आखिर त्यहाँ कसरी काम हुन्छ र भविष्यको कुन योजनामा उनीहरुले काम गरिरहेका छन् ? आउनुहोस् संसारका ७ स्मार्ट सहरहरुको बारेमा बुझौं :
१.स्मार्ट सुविधाले भरिपूर्ण एम्सटर्डम सहर
समुद्रबाट जमिन खोसेर आफ्नो वस्ती बसाल्नका लागि चर्चित नेदरल्याण्ड्सको राजधानी सहरको कथा निकै फरक छ । एम्सटर्डम सहरमा सन् २००९ मा स्मार्ट सिटी परियोजना सुरु भएको थियो । जसमा सहरका १७० थरीका सेवा सुविधाहरुलाई एकसाथ जोडेर स्मार्ट बनाउने पहल गरिएको थियो । प्राविधिक नवप्रवर्तनशीलतालाई हरेक काममा संलग्न गरियो ताकि मानिसहरुको जिवन सहज होस् र घरमै बसेर हरेक सुविधासम्म मानिसको पहुँच पुगोस् । त्यसका लागि फोहोर संकलन गर्ने विद्युतीय ट्रकको प्रयोग सुरु गरियो ।
सौर्यउर्जाबाट सञ्चालित सुविधायुक्त बस बिसौनी बनाइयो र बिलबोर्ड बत्ती जडान गरियो । जमिन अभावको समस्या समाधानका लागि तैरिने गाउँ तयार गरियो अर्थात डुंगाहरुमा घर बनाएर बस्ती बसालियो । सौर्य ऊर्जाबाटै विभिन्न व्यवसायिक कम्पनीहरुको ऊर्जाको आवश्यकता पूरा हुन थाल्यो । सडकमा स्वचालित बत्तीहरू जडान भए । साथै ऊर्जा बचतका लागि अल्ट्रा लो इनर्जीवाला एलइडी लाइट्सको प्रयोगलाई बढावा दिइयो ।
२. स्मार्ट सिटीसँगै मानिसलाई समेत स्मार्ट बनाउने सिओलको प्रयास :
दक्षिण कोरियाको राजधानी सिओल प्रविधि अबलम्बन गर्ने मामिलामा विश्वमै सबैभन्दा अगाडि रहेको सहर हो । सहरलाई स्मार्ट बनाउनका लागि सिओलले डिजिटल तथ्यांकको सबैभन्दा उत्कृष्ट तरिकाले प्रयोग गरेको छ । ट्राफिक फ्लो तथा गाडीहरुको गतिको तथ्यांक संकलन गरी स्वचालित नियन्त्रण संकेतहरु हरेक इलाकामा राखिएको छ । ट्राफिक नियम उल्लंघन रोक्नका लागि सिसिटिभीको माध्यमबाट निगरानी बढाइएको छ । यसबाट ट्राफिक व्यवस्थापनको खर्च कम हुनुका साथै सडक सुरक्षामा बढोत्तरी भएको छ ।
वायुको गुणस्तर मापनका लागि सेन्सरको प्रयोग गरिएको छ र यस्ता वायु मापन उपकरणहरुको सूचना सीधै आम मानिसहरुसम्म पुग्दछ । यसबाट मानिसहरु प्रदूषणको मात्रा बढिरहेको स्थितिमा आफैले हरित उर्जा तथा कम प्रदूषक जीवनशैली अबलम्बन गर्न र आफ्नो स्वास्थ्यको विषयमा आफैं सचेत हुन सकून् । सबै बासिन्दासँग प्रविधिको प्रयोग गर्ने सुविधा होस् भन्नका लागि आम मानिसहरुलाई मोबाइल फोन दान गर्ने अभियानमा सहभागी भएर योगदान गर्नका लागि अपिल गरियो । आवश्यकता परेको कुनै मानिसलाई आफ्नो मोबाइल फोन दान गर्ने व्यक्तिलाई नयाँ फोन खरीद गर्दा छुटको व्यवस्था समेत गरियो । यसबाट सिओलमा ह्वात्तै जनसंख्याकेा ठूलो हिस्सालाई मोबाइल फोनको सुविधा प्राप्त भयो । त्यसबाट सूचना, शिक्षा र अन्य सुविधाहरु सम्बन्धी जानकारीहरु आम मानिससम्म पूराउनमा सजिलो भयो ।
वृद्धावस्थाका मानिसहरुको सुरक्षाको सुनिश्चिता गर्नका लागि उनीहरुलाई मोबाइल एपबाट जोडियो र उनीहरुको नियमित रुपमा अनुगमन गर्न थालियो । उनीहरुलाई घरसम्मै स्वास्थ्य सुविधा पुर्याउने व्यवस्था गरियो र मोबाइल फोनबाटै विभिन्न स्वास्थ्य मापदण्डहरुकेा निगरानी गर्न थालियो । आकस्मिक अवस्थामा कुन ठाउँबाट तुरुन्तै सहयोग प्राप्त हुन्छ भन्ने कुराको व्यवस्था पनि मोबाइल एपकै माध्यमबाट उपलब्ध भयो । सिओल प्रहरीले अपराध नियन्त्रणका लागि समेत आर्टिफिसियल इन्टेलिजेन्समा आधारित प्रविधिको सहारा लिन्छ ताकि सम्भावित अपराध मोड्यूलको अनुगमन गर्न सकियोस् र यस्ता लक्षणहरुको पहिचान गरी समयमै अपराध नियन्त्रण गर्न सकियोस् । परिवहनमा फाइभ जी प्रविधिको प्रयोग गर्ने विश्वका सहरहरुको सूचीमा सिओ विश्वमै दोश्रो स्थानमा आउँछ ।
३. स्मार्ट उपायबाट जीवनशैली बदल्दै सिंगापुर
सिंगापुरले आफ्नो सहरहरुलाई स्मार्ट बनाउनका लागि सन् २०१४ मा बृहत योजना लागू गर्न सुरु गर्यो । यसका लागि सार्वजनिक तथा निजी क्षेत्रमा प्रविधिलाई अबलम्बन गर्ने कुरामा जोड दिइयो । सहरमा हरेक ठाउँमा कन्ट्याक्टलेस भुक्तानी प्रणाली अपनाइयो र सुरुमा देशमा परिवहन प्रणाली प्रयोग गर्ने ७५ लाख मानिसमा यो लागू गरियो । वृद्धावस्थामा प्रवेश गरिरहेको जनसंख्याको जीवन सजिलो बनाउनका लागि डिजिटल स्वास्थ्य प्रणालीको सुरुवात गरियो र उनीहरु घरमै बसेर डाक्टरहरुको प्रत्यक्ष भिडियो परामर्श तथा अन्य स्वास्थ्य सुविधा लिन सकून् । बिरामीहरुको स्वास्थ्यको निगरानी सहज होस् भन्नका लागि उपकरण तथा इन्टरनेटको सुविधालाई सस्तो बनाइयो । सिंगापुरले सन् २०२१ मा नयाँ इको स्मार्ट सिटीको घोषणा गरेको थियो जसको उद्देश्य सहरलाई पूर्णरुपमा निजी प्रदूषक गाडीमुक्त गराउनु थियो । परिवहनलाई पूर्णरुपमा सार्वजनिक बनाउनु र हरित ऊर्जा प्रविधिमा आधारित बनाउनु यसको लक्ष्य हो । सिंगापुरको पश्चिमी क्षेत्रस्थित फरेस्ट सिटीमा ४२ हजार मानिसको वस्ती बसाउने योजना बनाइयो जसमा आधुनिक प्रविधि र पर्यावरणको पूर्ण सन्तुलन हुन्छ । त्यहाँ पैदलयात्री तथा साइकलको प्रयोग गर्नेहरुका लागि विशेष रुपमा सुविधाहरुको विकास गरिएको छ।
४. खुसी सूचकांकमा शीर्ष स्थानमा रहेको हेलसिंकीको रहस्य
विश्व खुसी सूचकांकमा विश्वमै शीर्ष स्थानमा रहेको फिनल्याण्डको राजधानी हेलसिंकी सहरले स्मार्ट सिटी बन्नका लागि ठूलो लक्ष्य तय गर्यो । यस सहरले सन् २०३५ सम्ममा शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्ने योजना बनाएको छ । यहाँसम्म कि आगामी १२ वर्षभित्रमा ट्राफिकबाट हुने उत्सर्जनलाई ६९ प्रतिशतले घटाउने लक्ष्यमा यो सहरले काम गरिरहेको छ ।
सहरका सबै बस प्रणालीलाई विद्युतीय बसमा परिणत गरिएको छ । हरेक ठाउँमा विद्युतीय कार चार्जिङ स्टेशन निर्माण गरिएको छ भने मेट्रो प्रणाली विकास गरी तीव्र रुपमा सहरको परिवहन प्रणालीलाई बदलिएको छ । आवासीय भवनहरुमा ऊर्जाका हरित स्रोतहरुको प्रयोग बढाउनु तथा भवनहरुको निर्माण गर्दा नयाँ प्रविधिको प्रयोगमा जोड दिइएको छ ।
ज्येष्ठ नागरिकहरुको पेन्सन, घरमै आएर स्वास्थ्य जाँच तथा आधुनिक स्वास्थ्य निगरानी प्रणालीका माध्यमबाट नागरिकहरुको जिवनलाई सहज बनाउने काम भएको छ ।
हेलसिन्कीले तीव्र रुपमा आफूलाई बदलिरहेको छ । त्यसैले त्यहाँको जीवनशैलीलाई विश्वकै सबैभन्दा सन्तुलित जीवनशैली मानिन्छ र उत्कृष्ट सेवा सुविधाहरुका कारण विश्वभरका मानिसहरु स्केन्डिनेभियाको यो सहरमा आएर बस्न चाहन्छन् ।
५. सेन्सर प्रविधि र स्मार्ट भवन व्यवस्थापन प्रणालीले युक्त ज्यूरिच सहर :
स्विट्जरल्याण्डको ज्यूरिच सहर स्मार्ट सुविधाहरुका लागि एक उदाहरण नै हो । जीवनको गुणवत्ताको मामिलामा यो सहर विश्वमा चौथो स्थानमा आउँछ । फोहोरको पुनःचक्रण, हरित ऊर्जा, डिजिटल सुरक्षा, उत्कृष्ट स्वास्थ्य सुविधा, आधुनिक शिक्षा सुविधाहरुको माध्यमबाट आम सहरबासीहरुको जिवन सहज गर्ने र डिजिटल डिभाइडलाई कम गर्नमा केन्द्रित हुँदै ज्यूरिचले आफ्नो प्रणालीलाई विश्वका अन्य सहरभन्दा फरक ढंगले विकास गरेको छ ।
सहरमा सडकबत्तीलाई स्मार्ट बनाउनका लागि विशेष योजना सुरु गरिएको छ । सहरका सबै सडकहरुमा सेन्सरबाट चल्ने सडक बत्तीहरु जोडिएको छ जो ट्राफिक अनुसार स्वचालित रुपमा बल्ने र निभ्ने गर्दछन् । यसले एकातर्फ सडकमा धेरै गाडीहरु गुडिरहेको बेलामा आवश्यक पूरै प्रकाश उपलब्ध गराउने तथा कम ट्राफिकको बेलामा आवश्यकता अनुसार कम प्रकाशको व्यवस्था गर्दछ । यो प्रणालीको प्रयोग पश्चात् सडक बत्तीमा खपत हुने उर्जामा ७० प्रतिशत सम्मले कमी आएको छ ।
ट्राफिक गतिविधिलाई मापन गर्न तथा निर्देशित गर्नका लागि सेन्सर प्रविधिको उत्कृष्ट ढंगले प्रयोग गरिएको छ भने सार्वजनिक वाइफाइ एन्टेनाहरु राखिएको छ ।
आवासीय इलाकाहरुमा प्राविधिक सुविधाहरुका लागि स्मार्ट बिल्डिङ म्यानेजमेन्ट सिस्टम अबलम्बन गरिएको छ । जसमा आगमन-प्रस्थान नियन्त्रण, सुरक्षा निगरानी, विद्युत आपूर्ति, पानी, सरसफाइँ, फोहोर व्यवस्थापन आदि आधारभूत सुविधाहरुको स्मार्ट व्यवस्थापनको प्रणाली विकशित गरिएको छ ।
६. विद्युतीय सवारीको प्रविधि अपनाउँदै ओस्लो :
उसो त ६ लाख ७० हजार जनसंख्या भएको नर्वेको ओस्लो सहर विश्वका सबैभन्दा आधुनिक सहरमध्येमा त्यसै गणना भएको होइन । यहाँका सडकदेखि लिएर हरेक क्षेत्रमा स्मार्ट सुविधाहरुको झलक देख्न सकिन्छ । ओस्लोलाई विद्युतीय कारको सहरभन्दा पनि फरक पर्दैन ।
सहरका अधिकांश सवारी साधनहरू विद्युतीयमा परिणत भैसकेका छन् र आगामी २ वर्षभित्रमा सहरका सबै गाडीलाई विद्युतीय गाडीले विस्थापित गर्ने लक्ष्य तय गरिएको छ।
प्रदूषण नफैलाउने गाडीहरुका लागि सहर प्रशासनको तर्फबाट विभिन्न सुविधाहरुको घोषणा गरिएको छ । जसमा नि:शुल्क पार्किङ , ठाउँठाउँमा चार्जिङ स्टेशन, बस लेन प्रयोगको अधिकार, सडक तथा करमा न्यूनीकरण जस्ता छुटहरु दिइएको छ ।
आगामी २५ वर्षमा ओस्लोलाई कार्वन उत्सर्जन शून्य बनाउने लक्ष्य पनि राखिएको छ । साथै भवनहरुमा आधुनिक फोहोर व्यवस्थापन प्रणाली र हरित ऊर्जाको प्रयोग बढाउने उपायहरु पनि अबलम्बन गरिएको छ ।
७. सबैभन्दा धनी तथा आधुनिक सहर न्युयोर्कको कथा :
अमेरिकाको न्युयोकृ सहर केवल संसारको सबैभन्दा धनी सहर मात्र होइन सबैभन्दा आधुनिक सहर पनि हो ।
आखिर यो सहरको के त्यस्तो विशेषता छ जसका कारण त्यहाँको जीवनशैली विश्वका अन्य ठाउँका मानिसहरुका लागि सपना जस्तै बन्दछ ? न्युयोर्कमा स्मार्ट सिटी परियोजनाका काम सुरु भएसँगै सहरका तमाम सडकहरुमा सयौं सेन्सरयुक्त सुविधाहरुको व्यवस्था गरियो र प्रविधिको प्रयोग सुरु भयो ।
फोहोर संकलन तथा त्यसको पुनःचक्रणका लागि तथ्यांक संकलनका साथै त्यसको व्यवस्थानको प्रणाली निर्माण गरियो जसले सहरलाई सफा राख्न मद्दत गरेको छ ।
यसका अलावा न्युयोर्क सहर कन्ट्याक्टलेस प्रविधिका लागि समेत स्मार्ट हब बनेको छ । वाइफाइ सुविधा उपलब्ध गराउनुका साथै फोन बुथको ठाउँमा अनलाइन चार्जिंग स्टेशन खोलियो ।
कार शेयरिङ सुविधाहरु सुरु गरियो जसबाट मानिसहरुलाई सस्तो परिवहनको सुविधा मिल्नुका साथै ट्राफिक व्यवस्थापन र कार्वन उत्सर्जन घटाउनमा पनि सहयोग पुग्यो ।
मानिसहरुबाटै सहरी व्यवस्थापनका लागि सिर्जनात्मक अवधारणाहरु आए र यसका लागि एप तथा डेटाहरुका विषयमा हरेक वर्ष प्रतिस्पर्धा नै गराइन्छ जहाँ मानिसहरुले आफैले ती कामहरुमा भाग लिन्छन् ।
यसरी तीव्र रुपमा परिवर्तन भैरहेका उल्लेखित सातवटा स्मार्ट सहरहरुका साथै विश्वका अन्य कैयन् देशहरुले आ आफ्ना नवप्रवर्तनशील सहरी प्रणालीमा पनि काम गरिरहेका छन् ।
मेक्सिकोको स्मार्ट फरेस्ट सिटी, जापानको अन्डरवाटर सिटी, माल्दिभ्सको फ्लोटिङ सिटी आदि यसका उदाहरण हुन् । ती सहरहरुलाई यस्तो प्रकारले डिजाइन गरिएको छ कि त्यहाँका बासिन्दाहरुले एकसाथ प्राकृतिक जीवन र आधुनिकताको मज्जा लिन सक्दछन् ।
त्यहाँ परिवहन पनि यस्तो परिकल्पना गरिएको छ कि जुन हामीले केवल फिल्ममा देखेका हुन्छौं । यसका साथै सहरमा ऊर्जा प्रसारको अनुगमन गर्नका लागि आधुनिक सुविधा होस् ताकि स्वास्थ्य तथा ऊर्जा संरक्षणको दृष्टिकोणबाट लाभदायी बनोस् र सहरी व्यवस्थापनको काम पनि प्रविधिको सहाराबाट सजिलैसँग गर्न सकियोस् ।
प्रतिक्रिया 4