
१४ कात्तिक, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतको प्रसारणलाइन परियोजना बनाउन सातवटा कम्पनीले प्रस्ताव पेश गरेका छन् ।
एमसीसीको सहयोग अन्तर्गत नुवाकोटको रातमाटे, बुटवल र दमौलीमा ४ सय केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण हुँदै छन् ।
ती परियोजना निर्माणका लागि भारत, साउदी अरेबिया, अफगानिस्तान तथा टर्कीका कम्पनीहरुले आवेदन दिएको एमसीए नेपालले जारी गरेको सूचनामा उल्लेख छ ।
एमसीए नेपालले कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा २ कात्तिकमा प्राविधिक प्रस्ताव खोलेको थियो ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १० चैत ०७९ देखि २ कात्तिक ०८० सम्मको अवधि राखेर सबस्टेसन निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । त्यसमा सबैभन्दा बढी भारतका पाँच कम्पनीले आवेदन दिएका हुन् । त्यस्तै, साउदी अरेबियाको एउटा कम्पनीले टेन्डर हालेको छ भने अफगानिस्तान र टर्कीका कम्पनी मिलेर ज्वाइन्ट भेन्चरमा टेन्डर प्रस्ताव हालेका छन् ।
एक सबस्टेसन बनाउने परियोजनालाई एउटा लट मानेर टेन्डर आह्वान गरिएको थियो । त्यसअनुसार पहिलो लटमा नुवाकोटको रातमाटेममा सबस्टेसन बनाउनुपर्ने छ भने लप्सीफेदी र न्यू हेटौंडा सबस्टेसनमा समेत काम गर्नुपर्ने छ । यस्तै, दोस्रो लटमा न्यू बुटवल सबस्टेसन छ भने तेस्रो लटमा न्यू दमौली सबस्टेसन रहेको छ ।
भारतका टेक्नो इलेक्ट्रिक एन्ड इन्जीनियरिङ कम्पनी, लिङजन इन्डिया प्रालि, टाटा प्रोजेक्टस् लिमिटेड, साइमन्स लिमिटेड र केइसी इन्टरनेशनल लिमिटेड छन् । त्यस्तै, साउदी अरेबियाको नेसनल कन्ट्रयाक्टिङ कम्पनी लिमिटेडले समेत टेन्डर हालेको छ । टर्की र अफगानिस्तानका दुई कम्पनी बेतास र जेडएनसीसीको ज्वाइन्ट भेन्चरले पनि एमसीसीको सबस्टेशन निर्माणका लागि टेन्डर हालेका छन् ।
त्यसमध्ये भारतका कम्पनीहरु लिङजन इन्डिया, साइमन्स र केइसी इन्टरनेसनलले तीनवटै लट निर्माणका लागि प्रस्ताव पेश गरेका छन् । त्यस्तै, टेक्नो इलेक्ट्रिकले पहिलो र तेस्रो लटको काम गर्ने गरी प्रस्ताव गरेको छ भने बेतास र एडएनसीसीको ज्वाइन्ट भेन्चर र टाटा प्रोजेक्ट्सले दोस्रो लटका लागि मात्रै प्रस्ताव पेश गरेका छन् । साउदीको नेसनल कन्ट्रयाक्टिङ कम्पनीले भने दोस्रो र तेस्रो लट निर्माणको प्रस्ताव पेश गरेका छन् ।
प्राविधिक प्रस्ताव खोलेपछि ती प्रस्तावहरुको मूल्यांकनको प्रक्रिया अघि बढेको एमसीए नेपालले जनाएको छ । यी प्रस्तावको मूल्यांकन पछि प्राविधिक रुपमा योग्य कम्पनीहरु छनोट गरी तिनको वित्तीय प्रस्तावको मूल्यांकन गरिने पनि एमसीए नेपालले जनाएको छ ।
एमसीए नेपालले यसअघि नै विद्युत् प्रसारण लाइनको टेन्डर खोलेको थियो । तर, कम्पनीहरुले गरेको प्रस्तावित मूल्य एमसीएको लागत अनुमानभन्दा अत्यधिक उच्च भएपछि सो टेन्डर प्रक्रियालाई सम्पूर्ण रुपमा रद्द गरिएको थियो । अब प्रसारणलाइन परियोजनाका लागि नयाँ टेन्डर खुलाउने तयारी एमसीए नेपालको छ ।
एमसीए नेपालका टेन्डरहरुमा गुणस्तर तथा मूल्यमा आधारित छनोट प्रणाली अवलम्बन गरिएको जनाइएको छ । यस्तो ठेक्कामा सबैभन्दा कम लागत प्रस्तव गरेकै आधारमा ठेक्का प्रदान गरिँदैन, कम्पनीको गुणस्तर तथा काम गर्ने क्षमता पनि हेरिन्छ ।
प्रतिक्रिया 4