
१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियान्ता ईःसँग भएका सम्झौता कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ ।
१० असोजमा भएको सम्झौता अनुसार अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन सुझाव दिने गरी शुक्रबार अध्ययन समिति गठन भएको छ ।
गठित समितिमा काठमाडौं महानगरको तर्फबाट एक वडाध्यक्ष, एक नगर प्रहरी अधिकारी र कानुन विभागबाट ३ जना, ट्राफिक प्रहरी कार्यालयका एक प्रतिनिधि, सडक विभागका एक प्रतिनिधि, शहरी विकास मन्त्रालयका एक प्रतिनिधि र ईःका तर्फबाट कानुन व्यवसायी सुदन मुल्मी र फुटपाथ व्यवसायी सुजन गिरी छन् ।
सम्झौता कार्यान्वयनमा चासो नदिएको भन्दै आलोचना हुन थालेपछि महानगरले शुक्रबार वार्ताका लागि ईःको टोलीलाई बोलाएको थियो ।
सम्झौता कार्यान्वयन सम्बन्धी वार्तामा महानगरले सामान जफत नगर्ने, नगर प्रहरीको हिंसात्मक शैली अन्त्य गर्ने र अध्ययन समिति गठन गर्ने विषयमा छलफल भएको ईःले अनलाइनखबरलाई जानकारी दिए ।
वार्ता हुनु सकरात्मक भएपनि देखिने गरी कार्यान्वयन भने अहिलेसम्म नभएको ईः को भनाइ छ । ‘आजको छलफल सकरात्मक भएको छ, फुटपाथ व्यवसायीबाट जफत गरेको सामान फिर्ता गर्न महानगरले प्रक्रिया सुरु गर्नेबारे कुरा भएको छ, हामीले देखेका स्थान र हुनसक्ने व्यवस्थापन बारे ८ पुसमा प्रस्तुति दिने छौं,’ ईःले भने ।
सडक व्यवसाय सम्बन्धी कानुन बनाउनेबारे तयारी गरेको जानकारी ईःपक्षलाई गराइएको वार्तामा सहभागी महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार सडकमा व्यवसाय गर्न पाउने स्थानहरुको सम्भावना के-के छन् भन्ने विषयमा पनि छलफल भएको छ । ‘उहाँहरुको माग बमोजिम सबै सम्बद्ध निकायका प्रतिनिधि सहित छलफल भयो, ८ पुसमा थप छलफल हुनेछ,’ पाण्डेले अनलाइनखबरसँग भने ।
वार्तामा महानगरका तर्फबाट सूचना अधिकारी रहेका कानुन तथा मानव अधिकार विकास प्रमुख बसन्त आचार्य, नगर प्रहरी प्रमुख पाण्डेले छलफलमा सहभागी थिए भने ईःका तर्फबाट कानुन व्यवसायी सुविन मुल्मी र सडक व्यवसायी कुमार सापकोटा सहभागी थिए ।
काठमाडौं महानगरपालिकाले सडक तथा साना व्यवसायीहरुलाई धरपकड गरेको भन्दै अभियन्ता ईः राष्ट्रिय सभा गृह अगाडि उभिएर गरेको आन्दोलनको नवौं दिन १० असोजमा महानगरपालिका र ईः बीच ४ बुँदै सम्झौता भएको थियो । त्यसको दुई महिनापछि शुक्रबार महानगरमा सम्झौता कार्यान्वयन गर्न वार्ता भएको हो ।
के थियो सहमति ?
१० असोजमा भएको सहमतीको पहिलो बुँदामा ‘फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने’ उल्लेख थियो । सहमतिको दोस्रो बुँदामा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरको स्टोरमा भएसम्म एकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने भनिएको थियो ।
सहमतिको तेस्रो बुँदा आजबाट कार्यान्वयन भएको छ । सम्झौतामा अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन सुझाव दिने गरी एउटा अध्ययन समिति गठन गर्ने भनिएको थियो ।
प्रतिक्रिया 4