+
+

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, २७ मुलुकका ५४ फिल्म देखाइने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १२:२१

काठमाडौं । मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औं संस्करण काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सव उद्घाटन गर्दै मानवअधिकार संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा फिल्म प्रभावकारी माध्यम बन्न सक्ने बताए ।

‘फिल्म शिक्षा प्रदान गर्ने प्रभावकारी माध्यम हो । फिल्मले मानव अधिकार सुरक्षित गर्न, प्रवद्र्धन गर्न र जागरुकता सिर्जना गर्न सहयोग गर्छ । समाजमा बालबालिका अपहरण, महिला हिंसा, जातीय विभेदजस्ता अपराधका शृंखला रोकिएका छैनन् । मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा फिल्म प्रभावकारी माध्यम बन्न सक्छ’, उनले भने ।

मानवअधिकार मैत्री समाज निर्माणको लागि यस्ता विषयमा फिल्म बन्नुपर्ने उनले बताए । ‘मानव अधिकारको विषयमा अझै शिक्षा प्रदान गर्नुपर्ने छ । यी विषयलाई आधार बनाएर फिल्ममेकरले फिल्म बनाउँन सक्यो भने तल्लो तहको मानिससम्म शिक्षा प्रदान गर्न सक्छ । त्यसैले फिल्ममेकरले पनि मानव अधिकार के हो भनेर बुझाउन जरुरी छ’ उनले भने ।

जनताको मानवअधिकार सुरक्षाका लागि फिल्मको भूमिका सबैभन्दा ठूलो हुने उनले बताए । मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले चलचित्र, भिडियो र कलाका विभिन्न विधा मानव अधिकार शिक्षा र अधिकारसँग सम्बन्धित सवालको उठानमा प्रभावकारी माध्यम बन्न सक्ने बताए । महोत्सवमा कथानक, वृत्तचित्र, एनिमेसन लगायत नेपालसहित २७ देशका ५४ फिल्म देखाइने महोत्सव अध्यक्ष अरुणदेव जोशीले बताए ।

महोत्सवमा नेपालसहित फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटाली, अयारल्याण्ड, किर्गिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतका मानवअधिकारका विषयमा बनेका फिल्म प्रदर्शन हुनेछन् ।

सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शनसहित महोत्सव सुरु भयो । गोर्खाली तक्मा ब्याण्डले सांगीतिक प्रस्तुति पनि दिएको थियो । मंसिर २६ सम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा महोत्सव संचालन हुनेछ ।

जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । जुरीबाट छनोट उत्कृष्ट पाँच फिल्मलाई अन्तर्राष्ट्रिय फिचर, अन्तर्राष्ट्रिय सट् फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित पुरस्कार प्रदान गरिने भएको छ । महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिने भएको छ ।

महोत्सवमा फिल्म प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानवअधिकारकर्मीबीच बहस हुनेछ । महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिका अधिकार ः अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीरुबीच दुईओटा प्यानल छलफल राखिएको छ ।

महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि राखिएको छ । महोत्सव समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘एल्लो’ प्रदर्शन हुनेछ । समामपन समारोह मंसिर २६ गते काठमाडौँको नेपाल पर्यटन बोर्डमा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?